
काठमाडौं – संयुक्त जनआन्दोलन परिचालन समितिले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नवराज सुवेदी नेतृत्वको समितिले आगामी जेठ १५ गतेदेखि राजसंस्था पुनर्स्थापना नभएसम्म निरन्तर आन्दोलन गर्ने घोषणा गरेको हो।
समितिले अहिलेको राजनीतिक व्यवस्थाले देशलाई निकास दिन नसक्ने निष्कर्षसहित राजावादी समूहले १४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। उक्त प्रतिबद्धतामा सबै प्रकारका विचारधारा र शक्तिहरू हटाउँदै संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्ने उद्घोष गरिएको छ। साथै, हिन्दुराष्ट्रको पुनर्स्थापना र दुई तहको सरकार हुनुपर्ने मागसमेत राखिएको छ।
आफ्नो लक्ष्य प्राप्तिका लागि सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिमार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ। आन्दोलनका कार्यक्रमहरू शान्तिपूर्ण हुने र भद्र अवज्ञा तथा सत्याग्रह आन्दोलनको स्वरूपमा अघि बढ्ने स्पष्ट पारिएको छ।
समितिले भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम गर्दै देशमा सुशासन र कानुनी राज्यको प्रत्याभूति दिलाउने योजना अघि सारेको छ। विशेष गरी, २०७४ सालयता सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
आन्दोलनलाई प्रभावकारी बनाउन देशभरका प्रत्येक जिल्ला, पालिका र वडाहरूमा संयुक्त जनआन्दोलन समितिहरू गठन गरिनेछ। साथै, देशका विभिन्न स्थानमा स्वतःस्फूर्त रूपमा जुलुस, धर्ना र अन्य जनप्रदर्शनहरू सञ्चालन गरिने जनाइएको छ।

राजसंस्था पुनर्स्थापना र हिन्दुराष्ट्र कायम गर्नका लागि निर्णायक संघर्ष गर्ने अठोटसहित समितिले सबै पक्षलाई सहयोग र ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।
पत्रकार सम्मेलनमा संयोजक सुवेदीले आफ्नो आन्दोलन शान्तिपूर्ण हुने र भद्र अवज्ञा तथा सत्याग्रह आन्दोलनको स्वरूपमा अघि बढ्ने स्पष्ट पारे। सुवेदीले भने, “जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं। हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ। भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ।”
आन्दोलनको प्रमुख उद्देश्य व्यवस्था परिवर्तन रहेको बताउँदै सुवेदीले कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको प्रत्यक्ष विरोध नगर्ने घोषणा गरे। उनले राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मको संरक्षणको पक्षमा मात्र संघर्ष हुने स्पष्ट पारे।
उक्त घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा तथा पञ्चायतकालीन नेता केशरबहादुर विष्टलगायतका राजनीतिक तथा सामाजिक व्यक्तिहरूको उपस्थिति थियो।
राजसंस्था पुनर्स्थापनाका पक्षधरहरूले हालको व्यवस्थाले देशलाई निकास दिन नसक्ने निष्कर्षसहित विभिन्न चरणमा आन्दोलन सञ्चालन गर्दै आएका छन्। यसअघि पनि संवैधानिक राजसंस्थाको पुनर्स्थापना र हिन्दुराष्ट्रको पुनरावृत्तिको माग गर्दै आन्दोलनहरू भइरहेका थिए।
सुवेदी नेतृत्वको समितिले आन्दोलनलाई व्यापक बनाउन देशभरका जिल्ला, पालिका तथा वडाहरूमा जनआन्दोलन परिचालन समितिहरू गठन गर्ने योजना बनाएको छ। स्वतःस्फूर्त रूपमा जुलुस, धर्ना र अन्य जनप्रदर्शनहरू सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र फर्काउने आन्दोलन अन्त्य नभई राजावादी समूह नफुट्ने दाबी गरेका छन्। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लिङ्देनले उक्त धारणा व्यक्त गरेका हुन्।
राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिले जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेसँगै आयोजित सभामा अध्यक्ष लिङ्देनले भने, “हामीले हाम्रो आन्दोलन भनौंला, यो सिंगो देशवासीको आन्दोलन हो। यो आन्दोलन निष्कर्षमा नपुगि हामी छुट्ने छैनौं।”
उनले आन्दोलन कुनै पार्टी वा समूहको नभई सिंगो देशको भविष्य निर्माणका लागि भएको स्पष्ट पारे। लिङ्देनले भने, “यो आन्दोलन कुनै पार्टी र समूहको लागि होइन। कुनै व्यक्तिको राजनीतिक अभिष्ट पूरा गर्नका लागि होइन। यो देशको भविष्य बनाउनका लागि हो।”
लिङ्देनले गणतन्त्र समर्थक र ०६२/०६३ को परिवर्तनलाई स्वीकार्ने समूहहरूलाई पनि आन्दोलनमा सहभागी हुन अपिल गरे। उनले भने, “यो ध्रुवीकरणलाई बलियो बनाएर लैजाने जिम्मेवारी हाम्रो काँधमा आएको छ। आजको दिनसम्म औपचारिक रूपमा राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा मत राख्दै हिँड्ने दल र अन्य सबैलाई पनि यो ध्रुवीकरणमा सामेल हुन आग्रह गर्न चाहन्छु।”
उनले थपे, “यो ध्रुवीकरणमा सामेल हुन अहिलेको कठिन गणतन्त्रको पक्षमा रहेका, ०६२/०६३ को परिवर्तनलाई परिवर्तन मान्नेहरूलाई पनि आउन आग्रह गर्न चाहन्छु।”
लिङ्देनले राजावादी समूह फुट्ने सम्भावना नदेखिएको बताउँदै राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्रको मागलाई प्राथमिकता दिँदै आन्दोलन जारी राखिने बताए। उनका अनुसार, यो आन्दोलन देशको मौलिक पहिचान र संस्कृतिको संरक्षणका लागि रहेको छ।
लिङ्देनले राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र फर्काउनका लागि देशभरबाट जनसमर्थन जुटाउने प्रतिबद्धता व्यक्त गरे। उनले देशको स्वाभिमान, सांस्कृतिक पहिचान र राजनीतिक स्थायित्वका लागि आन्दोलनलाई शान्तिपूर्ण र दीर्घकालीन बनाउने प्रतिवद्धता व्यक्त गरे।
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकता नटुट्ने दाबी गरेका छन्। बिहीबार राजधानीमा आयोजित कार्यक्रमपछि उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको माग गर्दै जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेपछि आयोजित सभामा अध्यक्ष थापाले भने, “राजावादीको एकतालाई कसैले चाहेर पनि टुटाउन सक्दैन। कमजोर बनाउन सक्दैन। एकताबद्ध भएर हामी जाँदैछौं।”
उनले राजावादीहरूको एकता कायम राख्दै अघि बढ्ने प्रतिबद्धता जनाउँदै आन्दोलनलाई सशक्त बनाउन सबै पक्षको साथ र समर्थन आवश्यक रहेको उल्लेख गरे।
राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको पक्षमा रहेका विभिन्न राजावादी समूहहरू एकत्रित हुँदै आन्दोलनको तयारीमा छन्। यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र अन्य राजावादी दलहरूबीचको सहकार्यलाई सुदृढ बनाउने प्रयास भइरहेको छ।
अध्यक्ष थापाले राजावादी समूहहरूबीचको सहकार्यलाई बलियो बनाउँदै जनताको भावनालाई सम्बोधन गर्ने उद्देश्य राखिएको बताए। उनले देशको सांस्कृतिक र ऐतिहासिक पहिचानको रक्षा गर्न राजसंस्था पुनर्स्थापना अपरिहार्य भएको धारणा व्यक्त गरे।
राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन परिचालन समितिले आन्दोलनलाई सफल बनाउन विभिन्न कार्यक्रमको तयारी गरिरहेको छ। देशभरका राजावादी शक्तिहरूलाई एक ठाउँमा ल्याउँदै स्वतःस्फूर्त जनप्रदर्शन गर्ने योजना पनि अघि सारिएको छ।





प्रतिक्रिया