पाकिस्तानले भारतीय हवाई आक्रमणले २६ जनाको ज्यान गएको दाबी गर्दै प्रतिउत्तर दिने चेतावनी दिएको छ, जबकि दिल्लीले पाकिस्तानको गोलेबारुदका कारण १० जनाको मृत्यु भएको बताएको छ।
भारतले पाकिस्तान र पाकिस्तान-प्रशासित काश्मीरका नौ स्थानमा मिसाइल आक्रमण गरेको बताएको छ। पाकिस्तानले छ स्थानमा आक्रमण भएको दाबी गरेको छ र पाँच भारतीय लडाकु विमान खसालिएको बताएको छ। भारतले यसको पुष्टि गरेको छैन।
भारतको सेनाले वास्तविक नियन्त्रण रेखाको आफ्नो पक्षमा पाकिस्तानको गोलेबारुदका कारण कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको जनाएको छ। पाकिस्तानले भारतीय हवाई आक्रमण र गोलीबारीमा नियन्त्रण रेखा क्षेत्रमा २६ जनाको मृत्यु र ४६ जना घाइते भएको दाबी गरेको छ।
भारतले गरेको क्षेप्यास्त्र आक्रमणबारे प्रतिक्रिया दिँदै पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले त्यसलाई “कायरतापूर्ण”को सङ्ज्ञा दिएका छन्। एउटा विज्ञप्ति जारी गर्दै उनले पाकिस्तानले बदला लिने पनि बताएका छन्। पाकिस्तान सरकारले भारतीय हमलामा कम्तीमा आठ जनाको ज्यान गएको बताएको छ। “शत्रुले पाकिस्तानभित्रका पाँच स्थानमा कायरतापूर्ण हमला गरेको छ। यो दूष्टतापूर्ण आक्रामक कारबाहीको (जबाफ दिइने छ),” प्रधानमन्त्री शरिफले भनेका छन्। “बिनाउक्साहट गरिएको भारतीय हमलाका विरुद्ध निर्णायक प्रतिक्रिया दिने स्पष्ट अधिकार पाकिस्तानसँग छ – दृढ प्रतिक्रिया दिइँदै छ।” उनले सम्पूर्ण देश उसको सैन्य फौजका पछाडि एकताबद्ध भएको अनि देशको मनोबल र इच्छाशक्ति उच्च रहेको पनि बताएका छन्। “शत्रुलाई उसको दुर्भावनापूर्ण उद्देश्य हासिल गर्न कदापि दिइने छैन।”
पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भारतले मङ्गलवार राति थालेको क्षेप्यास्त्र हमलालाई “जघन्य अपराध” भन्दै त्यसको निन्दा गरेको छ। समितले पाकिस्तानी सार्वभौमसत्तामाथि भारतले धावा बोलेको निष्कर्ष निकालेको छ। संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ५१ उद्धृत गर्दै पाकिस्तानले आफ्नो प्रतिरक्षा गर्न पाउने अधिकार आफूसँग भएको बताएको छ। पाकिस्तानका सैन्य बलहरूलाई भारतलाई जबाफ दिने गरी कारबाही गर्न पाउने अधिकार दिइएको उसले बताएको छ। पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले समितिको बैठकको अध्यक्षता गरेका थिए। समितिको बैठकपछि प्रकाशित विज्ञप्तिमा पाकिस्तानले पाँचवटा भारतीय लडाकु विमान र ड्रोन खसालिएको दाबी गरेको छ। पाकिस्तानी भूमिमा आतङ्ककारीहरूका शिविरहरू भएको भारतीय आरोपको पाकिस्तानले फेरि खण्डन गरेको छ।
गत महिनामा पहलगाममा भारतीय पर्यटकहरू माथि भएको घातक आक्रमणपछि आणविक हतियारयुक्त यी दुई राष्ट्रबीच तनाव चुलिएको छ। भारतले आक्रमणमा पाकिस्तान-आधारित आतङ्ककारीहरूको स्पष्ट संलग्नता रहेको प्रमाण रहेको दाबी गरेको छ भने पाकिस्तानले कुनै सम्बन्ध अस्वीकार गरेको छ। दुवै पक्षलाई यसको गम्भीर परिणाम थाहा छ, र यसलाई थप चर्किन नदिन कूटनीतिक पहल आवश्यक रहेको हाम्रो अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोवेनले बताएका छन्। भारतीय-प्रशासित काश्मीरमा दशकौं लामो बिद्रोहले हजारौंको ज्यान लिएको छ। काश्मीरमाथि भारत र पाकिस्तान दुवैले पूर्ण दाबी गर्छन्।
भारतले आफ्नो भूमिबाट बग्ने पानी अन्तर्राष्ट्रिय सीमापारि जान नदिने घोषणा गरेको छ। “अब भारतको पानी भारतको फाइदाका लागि बग्ने छ, भारतको फाइदाका लागि संरक्षण गरिने छ र त्यसको उपयोग भारतको प्रगतिका लागि गरिने छ,” प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार भने। तर त्यस क्रममा उनले पाकिस्तानको नाम किटान गरेनन्। उनको यो टिप्पणी भारतले ६५ वर्ष पुरानो पानी बाँडफाँट सन्धि निलम्बन गरेको करिब दुई साता पछि आएको छ। गत महिना भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि भारत र पाकिस्तानबीचको सम्बन्ध निकै बिग्रिएको छ।
भारतबाट पाकिस्तानतर्फ केही नदीहरू बग्छन्। ती नदीबाट पाकिस्तानपट्टि ८० प्रतिशतजति भूमिमा आवश्यक सिँचाइ गरिन्छ। पाकिस्तानी नेताहरूले यस अघि पानी रोक्ने कुनै पनि प्रयत्नलाई “युद्धको कारबाही मानिने” बताएका थिए। सन् १९६० मा भारत र पाकिस्तानबिच सिन्धु जल सन्धि (आईडब्ल्यूटी) भएको थियो। त्यसले सिन्धु बेसिनमा भएका छवटा नदीको जल बाँडफाँटलाई निर्देशित गर्दै आएको थियो। यसअघि लडाइँ र सैन्य द्वन्द्व चर्किँदा उक्त सन्धि अप्रभावित रहने गर्थ्यो। उक्त सन्धिलाई दुई देशको सीमावारपार जल व्यवस्थापनको एउटा उदाहरणका रूपमा हेर्ने गरिएको थियो। तर पहलगाम घटनामा २६ जनाको मृत्यु भएपछि मोदीले सिन्धु जल सन्धि निलम्बन गरिदिएका थिए।
प्रधानमन्त्रीले बढी भएको पानी भारतले कसरी प्रयोग गर्ने योजना बनाएको छ भन्ने विस्तृतमा बताएनन्। तर विज्ञहरू भारतले आफू भूमिबाट बाहिर जाने पानी सङ्ग्रह गर्न थप बाँध, जलाशय र तालहरू बनाउनुपर्ने र आवश्यकत्यसका लागि समय लाग्ने औँल्याएका छन्। परमाणुशक्तिसम्पन्न दुई देशबीचको तनाव अहिले उत्कर्षमा पुग्दा संयुक्त राज्य अमेरिकाले दुवैलाई शान्ति कायम गर्न फेरि आह्वान गरेको छ। “हामी दुवै देशलाई जिम्मेवारीपूर्वक समाधान खोज्न र दीर्घकालीन शान्ति तथा क्षेत्रीय स्थिरता कायम गर्न पाकिस्तान र भारतलाई निरन्तर आग्रह गर्छौँ,” अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले मङ्गलवार अपराह्ण सञ्चारकर्मीहरूसँग भने।
भारत सरकारले जारी गरेको विज्ञप्तिमा उसले पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही सुरु गरेको उल्लेख छ। उसले एप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा “आतङ्कवादीहरूले पर्यटकमाथि हमला गरेर २६ जनाको ज्यान लिएको घटनाको बदलामा” यो कारबाही गरिएको भनेको छ। भारतले नौ विभिन्न स्थानहरूलाई निसाना बनाई हमला गरिएको भनेको छ।
दिल्लीले आफूले “आतङ्ककारी संरचना”लाई निसाना बनाएको बताएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले कैयौँ भारतीय जेट तथा एक ड्रोनलाई खसालिएको दाबी गरेका छन्। यसबारे भारतले कुनै टिप्पणी गरेको छैन। पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले बीबीसी उर्दूसँग कुरा गर्दै भारतले आतङ्ककारीहरूको स्थलमा प्रहार गरेको दाबीलाई अस्वीकार गरेका छन्। “म अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग भन्न चाहन्छु कि उनीहरू स्वयं यहाँ आएर हेरून् – ती आतङ्ककारीका थलो हुन् वा गैरसैनिक नागरिकहरू बस्ने (इलाका) हुन्,” उनले भने। ध्वस्त भएका संरचनामा दुइटा मस्जिद समेत रहेको उनले बताए। साथै मारिएकामध्ये एक बच्चा र एक महिला भएको उनले बताए। उनले भारतले ७ ठाउँमा आक्रमण गरेको जसमध्ये “२ वटा कश्मीरमा र ५ वटा पाकिस्तानमा रहेको बताए।” पाकिस्तानको राजनीतिक दल पिपल्स पार्टीका अध्यक्ष बिलावल भुट्टोले भारतीय आक्रमणको निन्दा गर्दै त्यसको जवाफ दिइने प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया