
जिल्ला प्रहरी कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४१ जनामाथि मुद्दा चलाउने पर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित ४१ जनाविरुद्ध ठगी तथा संगठित अपराध मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो । प्रतिवेदन शुक्रबार नै बुझाइएको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । हाल रवि लामिछने रुपन्देही कारागारमा छन् । सानोपाइलाबाहेक उनीविरुद्ध पोखराको सूर्यदर्शन, चितवनको सहारालगायत पाँचवटा सहकारी ठगीको मुद्दा अदालतमा विचाराधीन छ ।

उता शिक्षक महासंघको आकस्मिक बैठक सकिएको छ । शिक्षक आन्दोलनका क्रममा आइतबार झडप भएपछि महासंघले समीक्षाका निम्ति आकस्मिक बैठक डाकेको थियो । काठमाडौंको रत्नराज्य विद्यालयमा सम्पन्न बैठकमा विगत एक महिनादेखि जारी आन्दोलन र झडपका विषयमा समीक्षा भएको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् । महासंघको आकस्मिक बैठकले शिक्षकहरूमाथि भएको दमनको घोर भर्त्सना गर्ने निर्णय गरेको छ । महासंघले बैठकमा शिक्षकहरूका विभिन्न घटकहरूसँग आगामी कार्यदिशाका विषयमा रायसुझाव लिएको थियो । सो क्रममा संघीय शिक्षा ऐन नआएसम्म आन्दोलन जारी राख्न शिक्षक सम्बद्व घटकहरूले सुझाव दिएका थिए । आकस्मिक बैठकपछि कुरा गर्दै महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “बाहिरबाट ढुंगा हान्न लगाएर राज्यले जबरजस्त लखेट्ने प्रयास भयो । अब राज्य जसरी आउँछ, त्यसरी नै हामी आउछौँ ।”
प्रतिक्रिया