अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा भनेका छन् कि “क्राइमिया अब रुससँगै रहनेछ,” जुन युक्रेनमाथि भइरहेको युद्ध अन्त्य गर्नका लागि राष्ट्रपति ट्रम्पले युक्रेनमाथि दबाब दिइरहेको पछिल्लो उदाहरण हो।
“जेलेन्स्कीलाई त्यो कुरा थाहा छ,” ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उल्लेख गर्दै भने, “र सबैलाई थाहा छ कि त्यो ठाउँ लामो समयदेखि उनीहरूकै साथमा छ।”
अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त टिप्पणी मङ्गलबार Time पत्रिकासँगको अन्तर्वार्तामा गरेका हुन्। उनले जेलेन्स्कीमाथि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताको प्रयास नगरेर युद्धलाई लम्ब्याएको आरोप लगाएका छन्। तर पश्चिमी युरोपेली नेताहरू भने पुटिनमाथि वार्तामा ढिलाइ गरेको र युक्रेनी भूमि कब्जा गर्न खोजेको आरोप लगाउँछन्, विशेषगरी अहिले रुसको सेनाले युद्धमैदानमा केही बढत लिएको अवस्थामा।
युद्ध एउटा निर्णायक मोडमा पुग्न लागिरहेको हुन सक्छ, किनभने ट्रम्प प्रशासनले अब आफ्ना विकल्पहरू तौल्न थालेको देखिन्छ। केही वरिष्ठ अमेरिकी अधिकारीहरूले चेतावनी दिएका छन् कि यदि युक्रेन र रुसबीच कुनै सम्झौता नभएमा अमेरिकाले युद्ध रोक्ने प्रयास छाड्न सक्छ। यसको मतलब युक्रेनका लागि अत्यन्तै महत्त्वपूर्ण अमेरिकी सैन्य सहयोग पनि बन्द हुन सक्ने सम्भावना छ।
“उनीहरूले आफ्ना पनडुब्बीहरू त्यहाँ धेरै पहिले देखि राखेका छन्, हामी अहिले कुरा गरिरहेकै समयभन्दा धेरै वर्ष अघिदेखि। क्राइमियामा अधिकांश मानिसहरू रूसी भाषी छन्,” ट्रम्पले भने। “तर यो त ओबामाले दिएको हो, ट्रम्पले होइन।”
राष्ट्रपति जेलेन्स्कीले भने युद्धको क्रममा पटक–पटक दोहोर्याउँदै आएका छन् कि युक्रेनी भूमिमा भएको रुसी कब्जालाई मान्यता दिनु युक्रेनका लागि एउटा ‘रेड लाइन’ हो – अर्थात् अति संवेदनशील र स्वीकार गर्न नसकिने विषय।
शुक्रबार ट्रम्पले पोप फ्रान्सिसको रोममा हुने अन्त्येष्टिमा जान व्हाइट हाउसबाट निस्कँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै भने, शान्तिवार्ता सम्पन्न गर्नका लागि कुनै समयसीमा तोकिएको छैन।
“म यो सकेसम्म छिटो गर्न चाहन्छु,” ट्रम्पले भने। उनका अनुसार वार्ताकारहरू “धेरै नजिक” छन् सम्झौतामा पुग्न।
ट्रम्पले विदेश भ्रमणका क्रममा अन्य नेताहरूलाई भेट्ने वाचा गरेका छन् र जेलेन्स्कीलाई भेट्ने सम्भावनाबारे पनि “संभव छ” भनेका छन्।
ट्रम्पका विशेष दूत स्टीव विटकोफ शुक्रबार मास्कोमा रुसी राष्ट्रपति पुटिनसँग भेटे – यो यो महिनामै दोस्रो र फेब्रुअरीदेखि चौथोपटकको बैठक हो।
क्रेमलिनले पुटिन र विटकोफबीचको छोटो भिडियो सार्वजनिक गरेको छ जहाँ विटकोफ पुटिनलाई “How are you, Mr. President?” भन्छन्। पुटिनले दुर्लभ रूपमा अङ्ग्रेजीमै जवाफ दिएका छन्, “Fine, just fine, thank you,” भन्दै हात मिलाएका छन्।
उक्त बैठकमा पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ र अन्तर्राष्ट्रिय सहकार्यका लागि विशेष दूत किरिल दिमित्रिएभ पनि सहभागी थिए।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले CBS को Face the Nation कार्यक्रमसँगको अन्तर्वार्तामा ट्रम्पको धारणा सँग सहमति जनाउँदै भनेका छन्, “वार्ता सही दिशामा अघि बढिरहेको छ।”
रुस, उनले भनेअनुसार, “सम्झौतामा पुग्न तयार छ, तर अझै केही विशेष मुद्दाहरू – सम्झौताका केही पाटाहरू – अझै मिलाउनु पर्ने छन्।” उनले थप विवरण भने नदिएको CBS द्वारा आइतवार प्रसारण हुने अंशमा उल्लेख गरिएको छ।
प्रतिक्रिया