Washington DC, US : April 2, 2025, Wednesday 02:27 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|तिनकुने घटनाका केही मन चसक्क हुने तस्विर|तिनकुने घटनाका केही मन चसक्क हुने तस्विर|नागरिकको हत्यामा सरकार पहिलो जिम्मेवार – युबराज गौतम|एलोन मस्कले टेस्ला तोडफोडको लागि डेमोक्र्याटहरूलाई ‘वास्तविक खलनायक’, “आतंकवाद” भनेर आक्रमण गरे|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन

युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन

  NepalMother.com | १८ चैत्र २०८१, मंगलवार ०७:४५

युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण सयौँ मानिसको ज्यान गएको छ। तर त्यहाँको सैन्य सरकारले देशका विभिन्न भागमा निरन्तर बम प्रहार गरिरहेको छ।

संयुक्त राष्ट्रसङ्घले ती आक्रमणहरू “अत्यन्तै क्रूर र अस्वीकार्य” भएको भन्दै आलोचना गरेको छ।

म्यान्मारमा मानवअधिकारको अवस्था अनुगमन गर्ने राष्ट्रसङ्घका विशेषदूत टम एन्ड्रूजले भूकम्पपछि “मानिसहरूको उद्धार गर्ने प्रयास भइरहँदा सेनाले बम प्रहार गर्ने काम जारी राख्नु” विश्वासै गर्न नसकिने खालको काम भएको प्रतिक्रिया दिएका छन्।
उनले करिब चार वर्षअघि निर्वाचित सरकारलाई हटाउँदै आफ्नो हातमा शासनसत्ता लिएको सेनाको नेतृत्वलाई सबै सैन्य कारबाही तत्काल रोक्न आह्वान पनि गरेका छन्।

विज्ञापन

“सेनामाथि प्रभाव पार्ने जोकोहीले पनि दबाव बढाउनुपर्छ र यो स्वीकार्य छैन भनेर स्पष्ट पार्नुपर्छ,” उनले भने। “म जुन्टा (सैन्य शासक) लाई सबै सैन्य कारबाही रोक्न आह्वान गर्छु।”

बीबीसी बर्मिजले उत्तरी शान राज्यको नाउङ्चोमा भएको हवाई हमलामा सात जनाको मृत्यु भएको पुष्टि गरेको छ।

सो आक्रमण भूकम्प गएको तीन घण्टाभन्दा कम समयपछि शुक्रवार स्थानीय समयानुसार दिउँसो ३:३० बजे भएको थियो।

विद्रोहीहरूका अनुसार भूकम्पको असर परेको सगाइङ क्षेत्रमा पनि म्यान्मारको सेनाले स्थल आक्रमण गरेको थियो।
नागरिक विद्रोही समूह चाउङ ऊ पीपल्स डिफेन्स फोर्सेजका प्रवक्ताले बीबीसीसँग बोल्दै आफूहरूविरुद्ध सघन गोलाबारी भएको बताएका छन्।

विद्रोहीहरूका अनुसार उक्त क्षेत्रमा सेनाले पाँचवटा सैन्य टोली पठाएको छ।

भूकम्पपछि उद्धारकर्मीहरूले साधनस्रोतको चरम अभाव खेपेको बेलामा सेनाले त्यहाँ हमला गरेको हो।
सेनालाई सत्ताबाट हटाउन सङ्घर्ष गरिरहेका प्रजातन्त्र समर्थक विद्रोही समूहहरूले भूकम्पको केन्द्रबिन्दु उत्तर-पश्चिमी सगाइङ क्षेत्रको चाउङ्ऊमा सैन्य विमानबाट बमबारी भएको विवरण दिएका छन्।

थाई सीमानजिक पर्ने क्षेत्रहरूमा पनि हवाई हमला भएको विवरणहरू आएका छन्।

प्रजातन्त्रवादी विद्रोहीहरूको देशव्यापी विद्रोह दबाउन देशका अन्य भागमा सोमवार पनि सेनाले हवाई हमला जारी राखेको बताए।

सत्ताच्युत नागरिक सरकारलाई प्रतिनिधित्व गर्ने न्याश्नल यूनिटी गभर्मन्ट (एनयूजी)ले एउटा विज्ञप्ति जारी गर्दै आफ्नो फौजले भूकम्पग्रस्त इलाकाहरूमा आइतवारदेखि लागु हुने गरी दुई सातासम्म आफ्ना “रक्षात्मक कार्यबाहेक सबै आक्रामक कारवाही” स्थगन गर्ने जनाएको छ।
मृतकको सङ्ख्या कति?
सगाइङ क्षेत्रमा आएको म्याग्निट्यूड ७.७ को भूकम्पको धक्का छिमेकी देशहरूमा पनि अनुभव गरिएको थियो। त्यसले म्यान्मारको दोस्रो ठूलो सहर म्यान्डलेका साथै २४१ किलोमिटर पर रहेको राजधानी नेपिडोमा ठूलो क्षति पुगेको सङ्केत गर्ने विवरणहरू आएका छन्।

म्यान्मारमा २,७०० जनाको ज्यान गएको अनि ४,००० जनाजति घाइते भएका र २७० जना अझै सम्पर्कविहीन रहेको तथ्याङ्क सैन्य सरकारले दिएको छ। हामी यो सङ्ख्यालाई स्वतन्त्र पुष्टि गर्न सक्दैनौँ।
तर म्यान्डलेमा तापक्रम ४० डिग्री सेल्सिअससम्म पुग्दा भग्नावशेषमा पुरिएका शवको सडेर दुर्गन्ध सडकमा फैलिएको जानकारी बीबीसीले पाएको छ।

शुक्रवार अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले भूकम्प गएको स्थान र त्यसको शक्तिलाई विचार गर्दा “१०,००० जनाभन्दा धेरैको ज्यान गएको हुन सक्ने सम्भावना” प्रबल रहेको बताएको थियो।
सन् २०२१ मा सैन्य कू भएपश्चात् चार वर्षदेखि गृहयुद्धमा फसेको म्यान्मारमा भूकम्पले विनाश गरेको छ। कूविरुद्ध ठूलाठूला प्रदर्शनहरू भएका थिए। नागरिक शासन पुनर्स्थापनाको माग गर्दै दिनहुँजसो हजारौँ मानिसहरू सडकमा भेला भएका थिए।

सुरुमा नागरिक अवज्ञा अभियानका रूपमा सुरु भएको आन्दोलनले प्रजातन्त्र समर्थित समूह अनि जनजातीय समूहहरूको देशव्यापी विद्रोहको स्वरूप लिएको थियो जुन अहिले गृहयुद्धमा परिणत भएको छ।
चार वर्षदेखि एकातिर सेना अनि अर्कोतिर जनजातीय विद्रोही तथा सशस्त्र प्रतिरोध समूहबीच हिंसात्मक लडाइँ चलिरहेको छ।

सेनाले निरन्तर अपमानजनक हार बेहोर्दै आएको छ र उसको नियन्त्रण ठूलो क्षेत्रबाट गुमेको छ। त्यसैले प्रतिरोध दबाउन सेना अहिले हवाई हमलामा बढी भर पर्न थालेको छ।
भूकम्पको केन्द्रबिन्दु सगाइङ क्षेत्रको ठूलो भूभाग अहिले प्रजातन्त्रवादी विद्रोही समूहहरूको नियन्त्रणमा छ।

बीबीसीले गरेको अनुसन्धानमा कूमार्फत् सत्ता हत्याएको सेनाको नियन्त्रणमा अहिले देशको केवल एक चौथाइभन्दा कम भूभाग छ।

जनजातीय फौज तथा विविध प्रतिरोधी समूहहरूले देशको ४२% भूभाग नियन्त्रण गरिरहेको र बाँकी भागको नियन्त्रण विवादित रहेको उक्त अनुसन्धानमा देखिएको छ।
सेनाको निसानामा
हवाई हमलामा सैनिक सरकारको हात माथि रहेको छ। प्रतिरोधी समूहहरूसँग हवाई प्रत्याक्रमण गर्ने क्षमताको अभाव छ।

सेनाले स्कूल, बौद्ध विहार, गिर्जाघर तथा अस्पताल पनि ध्वस्त हुने गरी जथाभावी बमबारी गर्दै आएको छ। एउटा सबभन्दा घातक घटनामा हवाई हमलामा परी कैयौँ महिला तथा बालबालिकासहित १७० जनाको ज्यान गएको थियो।

म्यान्मारमा मानव अधिकार हननको अनुसन्धान गर्दै आएको राष्ट्रसङ्घीय निकायले सैनिक शासकहरूले युद्ध अपराधका साथै आफ्नै देशका जनतामाथि मानवताविरुद्धको अपराध गरिरहेको चेतावनी दिएको छ।

रुस र चीनको निरन्तर सहायताका कारण सेनाले हवाई हमला जारी राख्न सकेको छ। कूविरुद्ध अस्त्र प्रतिबन्ध लगाउने राष्ट्रसङ्घको अपीलका माझ चीन र रुसले म्यान्मारको सेनालाई अत्याधुनिक लडाकु विमान बेच्नुका साथै तिनको प्रयोगबारे प्रशिक्षण दिइरहेका छन्।
विदेशी सहयोगको आलोचना किन?
रुस र चीनले अहिले म्यान्मारमा सहायता सामग्री पनि पठाएका छन्।

तर यूकेस्थित बर्मेली अधिकारकर्मी जुली खाइनले भनिन्: “अहिले देखाइएको समवेदना पत्याउन गाह्रो छ किनभने ती देशहरूले नै सैनिक सरकारलाई घातक हतियार दिएर हाम्रा निर्दोष नागरिक मार्न सघाइरहेका छन्।”

सेनाले सहायताको विषयलाई पनि गृहयुद्धमा अस्त्रको रूपमा प्रयोग गर्न सक्ने चिन्ता गरिएको छ।

सेनाले धेरै पहिलादेखि प्रतिरोधी समूहहरू सक्रिय भएका इलाकामा सहायता पुग्न रोक्दै आएको छ। राष्ट्रसङ्घका टम एन्ड्रूजले विगतमा सेनाले सहायता रोक्नुका साथै सहायताकर्मीहरूलाई पक्राउ गरेको बीबीसीलाई बताए।
“विगतका मानवीय विपद्का समयमा, प्राकृतिक विपद्का समयमा, सैन्य सरकारले सत्य ढाकछोप गर्थ्यो। साथै अत्यावश्यक इलाकामा मानवीय सहायता रोक्ने बानी पनि उसको छ,” उनले भने।

“तिनले सहायतालाई पनि अस्त्रकै रूपमा प्रयोग गर्छन्। आफ्नो नियन्त्रणमा भएका इलाकामा तिनले सहायता पठाउँछन् भने आफ्नो नियन्त्रण नभएका इलाकामा पठाउँदैनन्।”

“त्यस कारण एकदमै आवश्यकता परेका इलाकामा तपाईँले सहायता सामग्री पठाउन खोज्दा, ट्रकहरूले अवरोध गर्ने, मानिसहरू पक्राउ पर्नेजस्ता प्रवृत्ति विगतका प्राकृतिक विपद्का बेला देखिएका हुन्।”

“मलाई लाग्छ यस पटकको विपद्‌मा पनि त्यही हुने छ।”

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।