Washington DC, US : April 1, 2025, Tuesday 12:29 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन|संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर “लुते” सरकार, संसदको चालु अधिवेशन अबरुद्ध भएपछि अन्त्य गर्ने निर्णय !|भाट भटेनीका पाउरोटी, तरकारी चोरहरु !|मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे|प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग

‘कम्युनिस्टसँग सम्बन्ध छ ?’ भन्दै अमेरिकाले सोध्यो ३६ प्रश्न, कम्युनिस्टहरु प्रति झन कडा बन्दै अमेरिका ! अमेरिकाले यमनमा हूथी विद्रोहीमाथि "निर्णायक र शक्तिशाली" हवाई आक्रमण सुरु

  NepalMother.com | २ चैत्र २०८१, आईतवार १७:४७

संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घका निकायहरूलाई “अमेरिका विरोधी” आस्था वा सम्बद्धता भए नभएको खुलाउन आग्रह गर्दै पत्र पठाएको छ। अमेरिकाको अफिस मेनेजमेन्ट एन्ड बजेट (ओएमबी)ले ३६ वटा प्रश्नसहित पठाएको पत्र बीबीसीले हेरेको छ। जसमध्ये एउटा प्रश्न राष्ट्रसङ्घीय निकायहरूको सम्बन्ध कम्युनिस्टसँग भए नभएको बारे छ।

यस्तो प्रश्न सोधिएका निकायहरूमध्ये संयुक्त राष्ट्रसङ्घको शरणार्थी एजेन्सी र रेडक्रसको अन्तर्राष्ट्रिय समिति सहितका विश्वका ठूला मानवीय सहायता निकायहरू पनि छन्।
अमेरिकामा डोनल्ड ट्रम्पको प्रशासनले अर्बपति इलोन मस्कको नेतृत्वमा खर्च कटौती अभियान सुरु गरेको छ। यो अभियानसँगै अमेरिकाले धेरैजसो विदेशी सहायता बन्द गरेको छ।
ओएमबीको यो कदम मानवीय सहायताको कामबाट अमेरिका पछि हट्ने सङ्केत भएको हुन सक्ने चिन्ता राष्ट्रसङ्घीय निकायहरूले गरिरहेका छन्।

ट्रम्पको दोस्रो कार्यकाल सुरु भएकै दिन अमेरिका विश्व स्वास्थ्य सङ्घटनबाट बाहिरिएको थियो।

गत साता मात्रै अमेरिकी विदेशमन्त्री मार्को रुबिओले यूएसएआईडी अन्तर्गतका अधिकांश परियोजनाहरू खारेज भएको घोषणा गरेका थिए।
अमेरिकी नागरिकहरूको बुझाइ
सर्वेक्षणहरूले अधिकांश अमेरिकी नागरिकहरू देशले विदेशी सहायतामा चाहिने भन्दा धेरै खर्च गरिरहेको बुझाइ राखेको देखाएका छन्।

कुल गार्हस्थ्य उत्पादनको प्रतिशतका आधारमा युरोपेली देशहरूभन्दा अमेरिकाले वैदेशिक सहायतामा गर्ने खर्च कम छ। तर ठूलो अर्थतन्त्र भएको अमेरिकाले विश्वव्यापी मानवीय सहायताको ४० हिस्सा सहयोग गर्दै आएको छ।

प्रश्नहरू पठाइएका धेरैजसो संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीहरूले युएसएआईडीबाट मात्र नभई सीधै अमेरिकी सरकारबाट पनि सहायता पाउने गरेका छन्।

प्रश्नहरू केके छन्
राष्ट्रसङ्घीय निकायहरूलाई पठाइएको एउटा प्रश्नमा सोधिएको छ, ”तपाईँको संस्था कम्युनिस्ट, समाजवादी, वा अधिनायकवादी दल सम्बद्ध निकाय वा अमेरिका विरोधी आस्थालाई समर्थन गर्ने कुनै पनि पक्षसँग काम गर्दैन भन्ने तपाईँले निश्चित गर्न सक्नु हुन्छ?”

अर्को प्रश्नमा चीन, रुस, क्युबा वा इरानबाट कुनै पनि कोष प्राप्त नगरेको पुष्टि गर्न भनिएको छ। यी देशहरू अमेरिकासँग मित्रवत् सम्बन्ध नभएका भए पनि संयुक्त राष्ट्रसङ्घका सबै १९३ देशहरू जस्तै यी देशहरूले पनि राष्ट्रसङ्घका मानवीय सहायता निकायहरूलाई सहयोग गर्ने गरेका छन्।

अर्को प्रश्न ती सहायता निकायहरूले डीईआई अर्थात् ‘विविधता, समानता र समावेशीकरण’ वा जलवायु परिवर्तनसँग सम्बन्धित कुनै पनि विषयमा परियोजना सञ्चालन गरे वा नगरेकोबारे छ।
यस्तो प्रश्न युनीसेफ जस्ता राष्ट्रसङ्घीय निकायहरूका लागि आश्चर्यजनक हुन सक्छ। किनभने यो संस्थाको उद्देश्य नै छात्राहरूका लागि शिक्षामा समान पहुँचलाई सहयोग पुर्‍याउने हो। त्यस्तै खडेरीबाट प्रभावित समुदायलाई जलवायु प्रतिरोधी बालीहरू लगाउन सहयोग गरेर अनिकाल रोक्न मद्दत गरिरहेको विश्व खाद्य कार्यक्रमका लागि पनि यो प्रश्न अचम्मको हुन सक्छ।

जिनिभा विश्वविद्यालयको मानवीय अध्ययन केन्द्रका प्राध्यापक कार्ल ब्लान्चेट अमेरिकाले प्रश्नहरूको संरचना नै राष्ट्रसङ्घीय निकायहरूलाई असफल देखाउने किसिमले तयार गरेको बताउँछन्।

“निर्णय यसअघि नै लिइसकिएको छ। अमेरिका कुनै पनि राष्ट्रसङ्घीय निकायमा संलग्न नहुने सम्भावना छ,” उनी भन्छन्।

“यो बहुपक्षीय साझेदारी र अमेरिका पहिलेबीचको प्रतिस्पर्धा हो।”
राष्ट्रसङ्घीय निकायको जबाफ
जटिल मानवीय कार्यहरूमा काम गर्ने सहायता निकायहरूले यसबारे खरो प्रतिक्रिया दिएका छन्।

“यो भनेको ‘तपाईँले आफ्नो बच्चालाई पिट्न छोड्नुभयो हो कि होइन’ भनेर सोधिए जस्तै हो” एक सहायता निकायका निराश कर्मचारीले भने।

राष्ट्रसङ्घीय सहायता निकायहरूले अमेरिकाले सोधेका प्रश्नावलीले तटस्थता र निष्पक्षताको आफूहरूको मूल सिद्धान्तलाई नै होच्याएको टिप्पणी गरेका छन्।

युद्ध वा प्राकृतिक प्रकोपबाट पीडित मानिसहरूलाई उनीहरूको राजनीतिक आस्थाको परवाह नगरी मद्दत गरिनुपर्ने र यस्तो सहायता कुनै विशेष देशलाई बलियो बनाउने साधनको रूपमा प्रयोग गर्न नहुने राष्ट्रसङ्घीय निकायहरूको मत छ।

राष्ट्रसङ्घको मानव अधिकार निकायले अमेरिकाले पठाएको प्रश्नावलीको जबाफ नदिने बताएको छ।

“हामी राष्ट्रसङ्घका हकमा लागु नहुने र व्याख्या गर्ने ठाउँ नदिई हो वा होइन भनेर सोधिएका अनलाइन प्रश्नहरूको उत्तर दिने अवस्थामा छैनौँ,” एक जना प्रवक्ताले बीबीसीसँग भने।

“यद्यपि हामी इमेल मार्फत् व्याख्या सहित हाम्रो जबाफ पठाउँछौ।”
अमेरिकाले राष्ट्रसङ्घीय निकायहरूलाई पठाएका कतिपय प्रश्नहरू राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनको आर्थिक रुचि पनि झल्काउने किसिमका छन्।

कतिपय प्रश्नमा यदि कुनै परियोजनाले “अमेरिकी आपूर्ति प्रणाली सबलीकरण गर्ने र रेअर अर्थ खनिजको जोहो गर्ने प्रयास”मा प्रभाव पार्ने नपार्नेबारे पनि सोधिएको छ।

बीबीसीले यसबारे ओएमबी, न्यूयोर्क र जिनिभास्थित राष्ट्रसङ्घीय निकायसँग यसबारे प्रतिक्रिया मागेको छ।

यसै बिच अमेरिकाले यमनमा हूथी विद्रोहीमाथि “निर्णायक र शक्तिशाली” हवाई आक्रमण सुरु गरेको राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्। ‘रेड सी’मा उक्त समूहले पानीजहाजहरूमा गरेको आक्रमणलाई निस्तेज पार्न त्यसो गर्नु परेको ट्रम्पको भनाइ छ। “इरानद्वारा सहायता पाएका हूथी ठगहरूले अमेरिकी विमानमा क्षेप्यास्त्र प्रहार गरेका छन् र हाम्रो सेना एवं साझेदारहरूलाई निसानामा पारेका छन्,” ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोशलमा लेखेका छन्। उनले हूथीहरूको “डकैती, हिंसा र आतङ्कवाद”ले “अरबौँ डलर” नष्ट भएको र जीवनलाई नै खतरामा पारेको पनि उल्लेख गरेका छन्।
हूथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

गाजामा इजरेल-हमास युद्ध सुरु भएपछि त्यसको प्रतिक्रियामा समुद्री जहाजलाई लक्षित गर्दै हूथीहरूले आक्रमण गरिरहेका छन्। हूथीले अमेरिकी आक्रमणको जबाफ दिने बताएको छ।

साउदी अरबसँग सीमा जोडिएको क्षेत्रमा हूथी विद्रोहीको गढ रहेको उत्तरी प्रान्त सादा र सनामा शनिवार साँझ शृङ्खलाबद्ध विस्फोटन भएको उक्त समूहले जानकारी दिएका छन्।

इरान समर्थित विद्रोही समूह हूथीले इजरेललाई आफ्नो शत्रु मान्छ र उसले यमनको सना र उत्तर-पश्चिम क्षेत्रमा नियन्त्रण गरेको छ। उक्त समूहले चलाएको सरकार अन्तर्राष्ट्रिय मान्यता प्राप्त होइन।
केही पुष्टि हुन नसकेका तस्बिरहरूमा सना विमानस्थल क्षेत्रमा कालो धुवाँको मुस्लो उडिरहेको देखिन्छ। त्यहाँको सैन्य क्षेत्रबाट पनि त्यस्तै धुवाँको मुस्लो उडेको छ।

एउटा विज्ञप्तिमा हूथीहरूले यमनको राजधानी सनाका आवासीय क्षेत्रहरू लक्षित गरी अमेरिका र यूकेले आक्रमण गरेको आरोप लगाएका छन्।

यद्यपि यूके शनिवारको अमेरिकी हमलामा सहभागी नभएको बुझिएको छ। उसले अमेरिकीहरूलाई नियमित इन्धन भर्ने काममा भने सहयोग गरेको छ।

ट्रम्पले त्यस क्षेत्रमा हूथीहरूले गर्ने आक्रमणहरू “सह्य नहुने” बताएका छन्।

उनले भनेका छन्, “हामीले हाम्रो उद्देश्य प्राप्त नगरेसम्म अत्यधिक घातक शक्ति प्रयोग गर्नेछौँ।”
इरानका विदेशमन्त्री अब्बास अरग्चीले अमेरिकी सरकारसँग “इरानी विदेश नीतिलाई निर्देशित गर्ने अख्तियार वा अधिकार नभएको” बताएका छन्।

“इजरेली नरसंहार र आतङ्कवादका निम्ति समर्थन गर्न छाड्नुहोस् ,” उनले आइतवार एक्समा पोस्ट गरेका छन्, “यमनी जनताको हत्या रोक्नुहोस्।”

हूथीहरूले आफूहरूले गाजामा इजरेल र हमासबीचको युद्धमा प्यालेस्टिनीको समर्थनका लागि काम गरेको दाबी गरेका छन्।

उनीहरूले इजरेल, अमेरिका वा यूकेसँग जोडिएका पानीजहाजलाई मात्र लक्षित गरेर हमला गरिरहेको बताए पनि त्यो प्राय: झूटो हुने गरेको छ।

सन् २०२३ को नोभेम्बरदेखि हूथीहरूले रेड सी र गल्फ अफ एडेनमा क्षेप्यास्त्र, ड्रोन र साना डुङ्गाबाट आक्रमण गरी दर्जनौँ व्यापारिक पानीजहाजहरूलाई निसाना बनाएका छन्।

त्यसयता उनीहरूले दुईवटा जहाजहरू डुबाइदिएका छन् भने अर्को एउटा जहाज कब्जामा लिएका छन्। उनीहरूले चार जना चालक दलका सदस्यको हत्या समेत गरेका छन्।
व्यापारिक पानीजहाजहरूको सुरक्षाका लागि पश्चिमी युद्धपोतहरू तैनाथ गरिएको छ। विद्रोही समूहका सेना रहेका क्षेत्रमा अमेरिका र यूकेले धेरै पटक हवाई हमला गर्दा पनि उक्त समूह निरुत्साहित भएको छैन।

इजरेलले पनि गत वर्षको जुलाईदेखि हूथीविरुद्ध हवाई आक्रमण जारी राखेको छ।

रेड सीमा बढ्दो खतरा
ठूला ढुवानी कम्पनीहरू रेड सी प्रयोग बन्द गर्न बाध्य भएका छन्।

उक्त मार्गबाट विश्वव्यापी समुद्री व्यापारको लगभग १५ प्रतिशत हिस्सा वारपार हुने गर्छ।

हूथीहरूको आक्रमणका कारण धेरैले अहिले त्यसको साटोमा दक्षिण अफ्रिका वरिपरी घुमेर लामो यात्रा गर्नु परेको छ।

ट्रम्पले अमेरिकी ध्वजवाहक पानीजहाज स्वेज नहरबाट सुरक्षित रूपमा यात्रा नगरेको एक वर्षभन्दा बढी भएको बताए। रेडी सी हुँदै स्वेज नहर जानु पर्ने हुन्छ।

उनले अमेरिकी युद्धपोत पूर्वी अफ्रिका र अरेबिअन प्रायद्वीपबीच बाट सुरक्षित यात्रा नगरेको पनि चार महिना भन्दा बढी भएको बताए।

स्वेज नहर एशिया र युरोप बीचको द्रुत समुद्री मार्ग हो र तेल तथा प्राकृतिक ग्यासको ढुवानीमा यो मार्गको विशेष महत्त्व छ।
हूथीहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै ट्रम्पले लेखेका थिए, “यदि तिमीहरू रोकिएनौ भने तिमीहरूले पहिले कहिल्यै नदेखेको जस्तो नरक देख्नेछौ।”

तर हूथीहरू आफ्नो प्रतिक्रियामा अडिग रहेका छन् र उनीहरूले प्यालेस्टिनीहरूको समर्थनमा आक्रामण जारी राख्ने जनाएका छन्।

“यो आक्रामकको प्रतिउत्तर दिइने छ र हाम्रो यमनी सशस्त्र सेना थप जोसकासाथ जबाफ दिन तयार छ,” हूथीहरूले भनेका छन्।

यसैबीच अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले हूथीको आक्रमणबारे इरानलाई थाहा भएको र उसैको सहायतामा यो चलिरहेको बताएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले शनिवार रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभसँग कुरा गर्दा पनि हूथीविरुद्ध सैन्य प्रतिबन्धबारे छलफल गरेका थिए।

ती दुई नेताहरूले यमन र रेड सीको पछिल्लो अवस्थाबारे चर्चा गरेको बताइएको छ।

उनले रेड सीमा “अमेरिकी सेना र व्यावसायिक पानीजहाजमा निरन्तर भइरहेको हूथीहरूको आक्रमण सह्य नहुने” बताएको अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ताले टमी ब्रूसले बताएकी छन्।

त्यसबारे रुसी प्रतिक्रिया भने हालसम्म आएको छैन।

अमेरिकी कङ्ग्रेसका अनुसार सन् २०२३ को नोभेम्बरदेखि २०२४ को अक्टोबर बीचमा रेड सीमा हुथीहरूले १९० वटा हमलाहरू गरेका छन्।

यसअघि यूके र अमेरिकाले उक्त समूहविरुद्ध संयुक्त नौसैनिक तथा हवाई हमला गरेका थिए। इजरेलले छुट्टाछुट्टै हमलामा हूथीहरूसँग जोडिएका क्षेत्रहरूलाई पनि आफ्नो निसाना बनाएको छ।

तेहरानलाई “पूर्ण रूपमा जबाफदेही बनाउने र त्यसमा ऊ निकै खराब बन्न सक्ने” चेतावनी दिँदै ट्रम्पले हूथीलाई गरिरहेको सहयोग बन्द गर्न इरानसँग आग्रह गरेका छन्।

उनले हूथीलाई नियन्त्रण गर्न नसकेको भन्दै आफ्ना पूर्ववर्ती जो बाइडन र उनको प्रशासनको आलोचना पनि गरेका छन्।

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।