हास्य कलाकार तथा कवि शैलेन्द्र सिम्खडा ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’बाट सम्मानित
काठमाडौँ । हास्य कलाकार तथा कवि शैलेन्द्र सिम्खडा ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’बाट सम्मानित भएका छन् । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ हास्य कलाकार वसुन्धरा भुसाल लगायतले सिम्खडालाई खादा, प्रमाण पत्र र ट्रफी प्रदान गरेका थिए ।
यो पुरस्कार हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्वारा वार्षिक रूपमा साम्दे शेर्पा स्मृति कोष मार्फत प्रदान गरिन्छ । वरिष्ठ कलाकार सिम्खडालाई यो पुरस्कार कला क्षेत्रमा हास्यव्यङ्ग्य मार्फत नेपाली मौलिकता, क्षेत्रीय कलाहरूको प्रवर्द्धन, सृजनशीलता र प्रभावकारिताका लागि दिइएको हो ।
कलाकार सिम्खडाले लामो समयदेखि स्टेज तथा डिजिटल सञ्चार माध्यममा हास्य व्यङ्ग्य प्रस्तुति दिँदै आएका छन् ।
प्रतिक्रिया