राजीनामा राजनीति हो, महाभियोग कानुन र संविधान हो । तर, महाभियोगको राजनीति र अदालतमा राजीनामाको राजनीति बन्द गरौं !
राजीनामा राजनीति हो भने महावियोग कानुन हो, संविधान हो। अदालतभित्र राजीनामा चल्दैन। राजीनामाको माग पनि चल्दैन। राजीनामाको राजनीति पनि चल्दैन। कुनै पनि न्यायाधीशको राजीनामा माग्ने कुरा पूर्णरूपमा चल्दैन। र, राजीनामा दिनु पनि हुँदैन।
कसैले पनि राजीनामा दिन्छु भनेर भनेमा समातेर के अपराध गरेकोले सजाय हुन्छ भनेर उम्किनका लागि राजीनामा दिन लाग्यो भनेर पत्ता लगाउन अनुसन्धान गर्नुपर्छ। राजीनामा दिएपछि उसलाई हुने सजायबाट मुक्ति मिल्छ। राजनीतिमा यस्तै हुँदै आएको छ । राजीनामाबाट घर गएको प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो पेन्सन, सेवा सुविधा पूर्व न्यायाधीशको र प्रधानन्यायाधीशको हैसियतमा प्राप्त गरिरहन्छन्। हो, यसैले राजीनामाको राजनीति सधैँ दलहरूबीचमा जनताले सुन्दा लोकप्रिय जस्तो लाग्छ। तर राजीनामा गराएर अब तिम्रो पालो सकियो, तिमीलाई केही हुँदैन घर जाऊ, अब मेरो पालो हो, म खान्छु भनेको हो राजीनामा माग्नु भनेको।
अदालतको विषयमा, न्यायाधीशको विषयमा केको राजीनामा? त्यो त राजनीति हो । कानुन र संविधान बमोजिम हुने सजाय पो हुनुपर्छ वा प्रक्रियामा पो जानुपर्छ। राजीनामा माग्ने पनि होइन, दिने पनि होइन। यो गलत कुरा हो। अदालतभित्र राजीनामा माग्ने र दिने कुरालाई अन्त्य गर्नुपर्छ।
सैनिकभित्र पनि यही हो। सैनिकमा पनि राजीनामा माग्ने, दिने हुँदैन। केही केहीको हामीले देखेका छौँ। राजीनामा दिइएको कारण के रहेछ भने नागरिकतामा गडबडी रहेछ। त्यसैले नागरिकता दिएको रहेछ। केही सैनिक अधिकारीहरूको हामीले देखेका छौँ। त्यसपछि केही पनि भएन। राजीनामा दिन्छु भन्न थाले भने सजायतर्फ जानुपर्छ।
म पहिलापनि चोलेन्द्र शमशेरका पालामा राजीनामा माग गर्दा पूर्णरूपमा यो अडानमा थिएँ कि अदालतमा राजीनामा चल्दैन,। कानुन र संविधान बमोजिम कारबाही हुनुपर्छ। त्यसको पनि प्रक्रिया छ। कानुन संविधान बमोजिम महाभियोगतर्फ जानु, जाने हो भने तर राजीनामा मागेर अदालतको गेटमा उभिएर वकिलले गरेको आन्दोलन गलत थियो भन्ने कुरामा म अहिले पनि त्यही अडान राख्छु। त्यसैले यस्ता कुरामा देश बिगार्नु झुक्याउनु हुँदैन
अघि नै भनेँ कि
राजीनामा राजनीति हो भने महाभियोग संवैधानिक प्रक्रिया हो। राजीनामा राजनीतिक निकास हुन सक्छ, तर न्यायिक जवाफदेहिताको विकल्प हुन सक्दैन।
न्यायाधीशले गल्ती गरे भने त्यसको हिसाब राजनीतिक दल, सडकको आन्दोलन वा बारको दबाबबाट होइन, संविधान र कानुनले निर्धारण गरेको प्रक्रियाबाट । न्यायाधीशलाई राजीनामा दिन बाध्य पारेर संस्थागत जवाफदेहिता स्थापित हुँदैन। बरु यसले न्यायपालिकालाई राजनीतिक शक्तिको दबाबमा राख्ने खतरनाक नजिर स्थापित गर्न सक्छ।
न्यायाधीशको नियुक्ति संवैधानिक प्रक्रियाबाट हुन्छ भने पदमुक्ति पनि संवैधानिक प्रक्रियाबाटै हुनुपर्छ।
नेपालको संविधानको धारा १०१(२) ले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध गम्भीर संवैधानिक वा कानुनी उल्लङ्घन, अक्षमता, खराब आचरण, इमानदारीपूर्वक कर्तव्य निर्वाह नगरेको वा आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको अवस्थामा महाभियोग लगाउन सकिने व्यवस्था गरेको छ। प्रतिनिधिसभाका तत्काल कायम रहेका सदस्यहरूको एकचौथाइले महाभियोग प्रस्ताव पेस गर्न सक्छन् र पारित हुन दुईतिहाइ बहुमत आवश्यक हुन्छ।
अनि महाभियोगको संवैधानिक व्यवस्था हुँदाहुँदै न्यायाधीशलाई राजीनामा दिन बाध्य पार्ने राजनीतिक अभ्यास किन?
अघि पनि उल्लेख गरेको थिएँ कि
नेपालको संविधानको धारा १३०(३) अनुसार ले महाभियोगबाट पदमुक्त भएका वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय पाएका प्रधानन्यायाधीश वा न्यायाधीशलाई उपदान वा पेन्सन पाउँदैनन् ।
अर्थात् भन्न खोजेको राजीनामा र महाभियोगको परिणाम एउटै होइन। राजीनामा दिएर पदबाट बाहिरिँदा र महाभियोगबाट पदमुक्त हुँदाका वीचमा राजीनामा गराएर विवाद टुङ्ग्याउने राजनीतिक सहमति न्यायिक जवाफदेहिताको पूर्ण विकल्प हुन सक्दैन।
अर्कोतर्फ, राजीनामा दिँदैमा अपराध मेटिँदैन। पद छाड्नु र कानुनी दायित्वबाट उन्मुक्ति पाउनु फरक कुरा हुन्। अपराधको अनुसन्धान र अभियोजन हुनैपर्छ। महाभियोगबाट पदमुक्त व्यक्तिले पदमा रहँदा गरेको कसुरमा समेत संघीय कानुनबमोजिम कारबाही गर्न सकिने कुरा संविधानको धारा १०१(८) ले स्पष्ट गरेको छ।
विश्वका घटनाबाट पनि हामी पाठ सिक्न सक्छौं
अमेरिकामा सन् २००९ मा संघीय जिल्ला अदालतका न्यायाधीश Samuel B. Kent माथि यौन दुर्व्यवहार, न्यायिक प्रक्रियामा अवरोध र झुटो बयानसम्बन्धी महाभियोगका आरोप लागे। प्रतिनिधिसभाले महाभियोग लगाएपछि उनले राजीनामा दिए। त्यसपछि महाभियोगको सुनुवाइ अघि बढेन। यो घटनाले राजीनामाले पदमुक्तिको राजनीतिक प्रक्रिया टुङ्ग्याउन सक्छ, तर त्यसले न्यायिक अनुशासन र जवाफदेहिताको प्रश्नलाई स्वतः समाधान गर्दैन भन्ने बहस जन्मायो,लनेपालमा भने यता न उता।
अमेरिकी न्यायाधीश G. Thomas Porteous Jr माथि भ्रष्टाचार र झुटो बयानका आरोपमा महाभियोग लगाइयो र सन् २०१० मा सिनेटले दोषी ठहर गरी पदबाट हटायो।
न्यायाधीशलाई राजनीतिक निर्णय मन नपरेको कारण हटाउन खोज्नु हुँदैन; तर गम्भीर नैतिक वा फौजदारी दुराचारलाई पदको आडमा संरक्षण पनि दिनु हुँदैन भन्ने अमेरिकाका यी घटनाहरूको अध्ययन गर्दा एउटा आधारभूत मान्यता स्पष्ट हुन्छ।
नेपालमै पनि यस्ता घटनाहरू छन्।
सन् २०१८ मा तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको उमेर र पदावधिबारे विवाद भयो। न्यायपरिषद्का सचिव हालका सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाले उनको अवकाश उमेर पूरा भइसकेको भन्दै पदमा नरहेको पत्र दिए। त्यसको भोलिपल्ट उहाँले राजीनामा दिनुभयो। यो घटना केवल राजीनामाको मागबाट पद छाडिएको घटना थिएन; त्यसैले यसलाई राजीनामाको राजनीति र संवैधानिक प्रक्रियाबीचको भिन्नता बुझाउने घटनाका रूपमा हेर्नुपर्छ।
त्यसैगरी सन् २०२१ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका न्यायाधीशहरू र नेपाल बार एसोसिएसनले आन्दोलन गरे। पूर्वप्रधानन्यायाधीशहरूले समेत राजीनामा मागे। तर उनले राजीनामा नदिई संवैधानिक प्रक्रियाको सामना गर्ने अडान लिए। अन्ततः २०७८ फागुन १ गते प्रतिनिधिसभाका ९८ जना सदस्यले महाभियोग प्रस्ताव दर्ता गरे। यस घटनाले न्यायपालिकाको आन्तरिक संकट, बारको भूमिका, राजनीतिक दलहरूको भूमिका र महाभियोगको संवैधानिक प्रक्रियाबारे गम्भीर प्रश्न उठायो।
यी घटनाको पाठ के हो भने राजीनामा मागेर संस्थागत समस्या समाधान भएको मान्न सकिँदैन। दोषी भए कानुनी कारबाही हुनुपर्छ, निर्दोष भए संस्थागत प्रतिष्ठा जोगिनुपर्छ। दुवै अवस्थामा निष्पक्ष प्रक्रिया अनिवार्य छ।
Oxford University Press द्वारा प्रकाशित Frank B. Cross को Judicial Independence सम्बन्धी अध्ययनले न्यायिक स्वतन्त्रता र न्यायिक जवाफदेहिताबीच सन्तुलन आवश्यक हुने निष्कर्ष निकालेको छ।
त्यस्तै OSCE/ODIHR को सन् २०२३ को Warsaw Recommendations on Judicial Independence and Accountability ले न्यायाधीशमाथिको अनुशासनात्मक कारबाही राजनीतिक नियन्त्रणबाट मुक्त, स्वतन्त्र र प्रक्रियागत सुरक्षासहित हुनुपर्ने मापदण्डबारे स्पष्ट पार्छ। त्यसमा न्यायिक कामको वैधानिक संरक्षणको अर्थ फौजदारी कसुरमा उन्मुक्ति होइन भन्ने कुरा पनि स्पष्ट छ।
Sarah Cravens को सन् २०२४ को अनुसन्धानपत्र Retaining Authority in Misconduct Matters After Judicial Resignations ले न्यायाधीशले अनुशासनात्मक कारबाहीबाट बच्न राजीनामा दिने प्रवृत्तिको अध्ययन गर्दै राजीनामापछि पनि अनुशासनात्मक जवाफदेहितामा जोड दिएको छ। हनमलै यसमा बुझ्नु पर्ने कुरा के हो भने न्यायिक स्वतन्त्रता भनेको न्यायाधीशलाई निरङ्कुश बनाउने व्यवस्था होइन। स्वतन्त्रता र जवाफदेहिता दुवै लोकतान्त्रिक न्याय व्यवस्थाका आधार हुन्।
मेरो स्पष्ट अडान
१. न्यायाधीशको राजीनामालाई राजनीतिक लेनदेनको विषय बनाउनु हुँदैन।भने संवैधानिक व्यवस्था महाभियोगलाई पनि राजनीतिक रुपमा प्रयोग गरिनु हुन्न।
२. राजीनामा मागेर महाभियोग वा कानुनी अनुसन्धानको संवैधानिक प्रक्रियालाई विस्थापित गर्नु हुँदैन। नागरिक, बार वा अन्य पक्षले सार्वजनिक रूपमा असहमति व्यक्त गर्न पाउने अधिकार भने रहन्छ; तर दबाबलाई संवैधानिक कारबाहीको विकल्प बनाउन मिल्दैन।
३. न्यायाधीशले अपराध गरेको भए राजीनामा दिएर उन्मुक्ति पाउनु हुँदैन। अनुसन्धान, अभियोजन र सजायको प्रक्रिया चल्नुपर्छ।
४. महाभियोग लाग्ने आधार छ भने संविधानअनुसार महाभियोग लगाउनुपर्छ। आधार छैन भने राजनीतिक दबाबमा राजीनामा गराउनु हुँदैन।
५. न्यायपालिकाको स्वतन्त्रता जोगाउने नाममा भ्रष्टाचार, दुराचार र अनियमिततालाई संरक्षण गर्नु पनि हुँदैन।
यो सिद्धान्त अदालतमा मात्र सीमित हुनु हुँदैन। संवैधानिक र कानुनी हैसियत भएका अन्य सार्वजनिक पदमा पनि पदत्यागलाई जवाफदेहिताबाट उम्कने बाटो बनाउनु हुँदैन।
कसैले राजीनामा माग्दैमा राजीनामा दिनुपर्ने होइन। कसैले राजीनामा दिँदैमा उसले गरेको सम्भावित कसुरको हिसाब समाप्त हुने पनि होइन।
अदालतमा राजनीति होइन, न्याय हुनुपर्छ। न्यायाधीशमाथि कृपा होइन, कानुन लागू हुनुपर्छ। पद जोगाउने वा पद खोस्ने राजनीतिक खेल होइन, संविधानको शासन चल्नुपर्छ।
राजीनामा गरेर एउटा व्यक्ति घर जान सक्छ, तर त्यसले संस्थामाथि उठेको प्रश्नको जवाफ दिँदैन।
राजीनामाले पद खाली गर्छ; कानुनी प्रक्रियाले जवाफदेहिता स्थापित गर्छ।
अदालतको गेटमा राजीनामा माग्ने राजनीति होइन, अदालत र संविधानको गरिमा जोगाउने कानुनी संस्कार स्थापित गरौँ।
प्रतिक्रिया