शिकागो, अमेरिका / अमेरिकाको इलिनोइस राज्यमा रहेको एक प्रसिद्ध हिन्दू मन्दिरमा सामूहिक गोलीकाण्ड मच्चाउने कथित योजना प्रहरीले विफल पारेको छ। शिकागोको उपनगर पालाटाइन निवासी १९ वर्षीय अलेक्जान्ड्रोस पापोराकिसलाई आतंकवादी धम्की दिएको र गैरकानुनी रूपमा हतियार राखेको आरोपमा पक्राउ गरिएको हो।
प्रहरी र अभियोजन पक्षका अनुसार आरोपित युवकले भारतीय मूलका मानिसहरूलाई लक्षित गरी सामूहिक हत्या गर्ने योजना बनाएका थिए। अनुसन्धानमा उनी श्वेत सर्वोच्चतावादी तथा नव नाजी विचारधाराबाट प्रभावित रहेको र लामो समयदेखि हिंसात्मक आक्रमणको तयारी गरिरहेको विवरण फेला परेको छ।
पछिल्लो अनुसन्धानअनुसार गत अक्टोबर ११ आइतबार आरोपितको नाममा दर्ता भएको गाडी इलिनोइसको अरोरास्थित श्री वेंकटेश्वर स्वामी (बालाजी) हिन्दू मन्दिरको पार्किङ क्षेत्रमा पुगेको पुष्टि भएको छ। अभियोजन पक्षले उनी आक्रमणको तयारीसहित त्यहाँ पुगेको र बन्दुक चलाउन खोज्दा हतियारमा खराबी आएपछि सम्भावित गोलीकाण्ड टरेको दाबी गरेको छ। यद्यपि घटनाको विस्तृत परिस्थितिबारे अनुसन्धान जारी छ।
स्थानीय टाको बेल रेस्टुरेन्टमा काम गर्ने आरोपितले आफ्ना सहकर्मीहरूसँग भारतीयहरूलाई मार्ने इच्छा व्यक्त गरेको र आइतबार विशेष दिन हुने बताएका थिए। उनले बन्दुकले काम नगरेको भिडियोसमेत सहकर्मीलाई पठाएको अनुसन्धानमा खुलेको छ। सम्भावित खतराको जानकारी पाएपछि सहकर्मीहरूले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले उनको घरमा छापा मार्दा सिरियल नम्बर नभएको एआर शैलीको राइफल, सयौँ गोली, भरिएका म्यागजिन, सुरक्षात्मक सैन्य उपकरण, नाजी चिह्न भएका सामग्री र घृणाजन्य दस्ताबेज बरामद गरेको जनाएको छ।
आठ पृष्ठ लामो कथित घोषणापत्रमा भारतीय, यहुदी र अश्वेत समुदायप्रति चरम घृणा व्यक्त गरिएको छ। अभियोजन पक्षका अनुसार आरोपितले करिब दुई वर्षदेखि सामूहिक हत्याको योजना बनाउँदै आएको उल्लेख गरेका छन्।
अदालतले उनलाई मुद्दाको सुनुवाइसम्म हिरासतमै राख्न आदेश दिएको छ। आगामी सुनुवाइ अक्टोबर ३० मा तय गरिएको छ। आरोपहरू अदालतबाट प्रमाणित हुन बाँकी छन्।
यस घटनाले अमेरिकामा बसोबास गर्ने भारतीय तथा दक्षिण एसियाली समुदायको सुरक्षामाथि नयाँ चिन्ता उत्पन्न गरेको छ। अमेरिकी सांसद राजा कृष्णमूर्तिले घटनाको कडा निन्दा गर्दै यसलाई घृणाजन्य अपराधका रूपमा अनुसन्धान गर्न एफबीआईसँग माग गरेका छन्। घटनाको दिन आफू र आफ्नो परिवार पनि उक्त मन्दिरमा रहेको उनले बताएका छन्। भारतको विदेश मन्त्रालयले समेत घटनाको निन्दा गर्दै निष्पक्ष अनुसन्धानको माग गरेको छ।
यसैबीच, कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिसले सन् २०२६ मा सार्वजनिक गरेको सर्वेक्षणअनुसार भारतीय मूलका चारमध्ये एक अमेरिकीले सन् २०२५ को सुरुदेखि जातीय अपमानजनक व्यवहार भोगेका छन्। नौ प्रतिशतले शारीरिक आक्रमणको धम्की पाएको र चार प्रतिशतले वास्तविक शारीरिक आक्रमण भोगेको बताएका छन्। यद्यपि सन् २०२० यता प्रत्यक्ष व्यक्तिगत विभेदको समग्र दरमा उल्लेखनीय वृद्धि देखिएको छैन।
अध्ययनकर्ताहरूले आप्रवासन नीति, एच–१बी भिसासम्बन्धी विवाद र सामाजिक सञ्जालमा फैलिरहेको जातीय घृणाले दक्षिण एसियाली समुदायप्रति शत्रुतापूर्ण वातावरण बढाएको चेतावनी दिएका छन्।
यस घटनापछि सम्बन्धित हिन्दू मन्दिरमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। एफबीआई र स्थानीय प्रहरीले संयुक्त रूपमा अनुसन्धान अघि बढाएका छन्। अधिकारीहरूले धार्मिक स्वतन्त्रता र सर्वसाधारणको सुरक्षामा खतरा उत्पन्न गर्ने कुनै पनि गतिविधिलाई गम्भीरतापूर्वक लिइने बताएका छन्।
प्रतिक्रिया