आफैमा म केही होइन बुवा ।
आफैमा म केही होइन आमा ।
म जे छु, जहाँ छु, जस्तो छु, राम्रो, नराम्रो,
त्यसको मूलमा म होइन, तपाईंहरु हुनुहुन्छ,
मेरा भगवान रुपी तपाईं आमा बुवा हुनुहुन्छ।
म ढोल पिटेर भन्न सक्छु दुनियाँलाई
म नाथे, म बबुरो, म बिचरा,
अहँ, मलाई म प्रति कुनै भ्रम छँदै छैन,
अहँ, मलाई म प्रति कुनै अहम छँदै छैन,
होस पनि कसरी ?
मेरो जन्म उहाँहरूको कृपा,
मेरो जीवन उहाँहरूको तपस्या,
मेरो शिक्षा उहाँहरूको सपना,
मेरो संस्कार उहाँहरूको साधना,
मेरो अनुशासन उहाँहरूको कामना,
मेरो कर्तव्यबोध उहाँहरूको मार्गदर्शन,
मेरो धर्म उहाँहरूले सिकाएको सदाचार,
र मेरो कर्म उहाँहरूले देखाइदिएको बाटो र यात्रा
मैले संसार देख्नुअघि आमाको काख देखेँ,
बोल्नुअघि उहाँको माया बुझेँ, सिंकें
हिँड्नुअघि बुवाको औँला समातेँ
म लड्दा उठाउने हात उहाँहरूकै थिए,
म रुँदा आँसु पुछ्ने औंला उहाँहरूकै थिए,
म डराउँदा ढाडस दिने स्वर उहाँहरूकै थिए
छनत म संग के नै छ र उल्लेखनीय कुरा,
तर आज मसँग जे छ, जसो छ, जस्तो छ,
नाम, परिचय, पहिचान, अनुभव, उपलब्धि,
सम्मान, आत्मविश्वास, सबै सबै कुरा भित्र,
मेरा आमा बुवाको पसिना मिसिएको छ,
उहाँहरूको त्याग मिसिएको छ,
उहाँहरूको मौन प्रार्थना मिसिएको छ
सबै भन्दा ठुलो कुरा उहाँहरूको आशिर्बाद मिसिएको छ।
मन्दिर गएर भगवान पनि खोज्नुपर्छ
मन भित्र कै भगवान पनि रोज्नु पर्छ
तर आमा बुवा भन्दा ठुला भगवान त्यहाँ हुन्नन
किनकि मैले भगवानलाई घरमै देखेको छु
घरमै भेटेको छु,
आमाको अनुहारमा,
बुवाको श्रममा,
आमाको ममतामा,
बुवाको मेहनत र योगदानमा,
उहाँहरूको आशीर्वादमा,
जान्ने भए देखि
मान्ने भए देखि
आज सम्म पनि !
बुवा मेरा लागि आकाश हुनुहुन्थ्यो
विशाल, दृढ, छायादार हुनुहुन्थ्यो।
आज उहाँ दृश्यमा हुनुहुन्न,
स्वर्गबाट तल टुलु टुलु हेरिरहने मेरा बुवा
जीवित र साक्षात् देबी मेरी आमा,
वहाँहरुको आशीर्वाद मेरो शिरमाथि,
आकाश बनेर फैलिएको छ।
मेरा प्रत्येक कदममा,
मैले लिने र फेर्ने हरेक स्वास प्रस्वासका कण कणमा
सफलतामा उहाँहरुको मुस्कान खोज्छु,
प्रत्येक कठिन घडीमा उहाँहरुको बाणी सम्झन्छु,
र मनमनै भन्छु,
बुवा, तपाईं टाढा हुदै हुनुहुन्न, मभित्रै हुनुहुन्छ।
आमा तपाईं त झन टाढा जानै सक्नुहुन्न
किनकि आमाहरु धर्ति हुन्छन,
सन्तानका अभिन्न हुन्छन मैले बुझेको छु !
अझै मेरा अगाडि हुनुहुन्छ मेरी आमा ।
सानो बच्चा ठान्छु उहाँका चरण छुँदा म आफूलाई ।
उहाँको हात मेरो शिरमा पर्दा
संसारका सबै पुरस्कारभन्दा ठूलो सम्मान पाएजस्तो गर्ब गर्दा
भाग्यमानी ठान्छु म आफुले आफैलाई
त्यो हातमा माया छ, प्रार्थना छ, क्षमा छ,
जीवनभर जोगाइराख्ने अदृश्य कवच छ।
आहा मेरी आमा, साक्षात् देबी हुन् मेरी आमा !
मेरो जीवनको पुस्तकमा,
पहिलो अक्षर उहाँहरूले लेख्नुभयो,
पहिलो पाठ उहाँहरूले पढाउनुभयो,
पहिलो मूल्य उहाँहरूले सिकाउनुभयो,
र जीवनको अन्तिम दिनसम्म
म उहाँहरूले दिएको संस्कारकै अक्षर बोकेर हिँडिरहनेछु।
म आफैमा केही होइन।
म जे छु, जहाँ छु, जस्तो छु
सबै उहाँहरूको आशीर्वाद हो,
सबै उहाँहरूको उपहार हो।
मेरो लागि,
आमाबुवा केवल जन्मदाता होइन,
उहाँहरू मेरो आधार हुनुहुन्छ,
मेरो आस्था हुनुहुन्छ,
मेरो शक्ति हुनुहुन्छ,
मेरो संसार हुनुहुन्छ।
मेरो बिश्वास हुनुहुन्छ,
घरको मुली हुनुहुन्छ
घरको धुरी हुनुहुन्छ
आमाबुवा नै मेरा सबैभन्दा ठूला भगवान।
आमाबुवा नै मेरा सबै थोक।
हो, वहाँहरुनै मेरा सबै थोक !
– रामप्रसाद खनाल
* जन्मदिनका दिन स्वर्गीय बुवा र जीवित देबी आमाका चरणमा अर्पण गर्दै मैले आजै लेखेको कविता।
प्रतिक्रिया