अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उच्च तहमा पुगेको छ। सेप्टेम्बर १६ मा ब्रेन्ट कच्चा तेल करिब १०८.१६ अमेरिकी डलर प्रतिब्यारेल र अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट करिब १०४.६३ डलरमा कारोबार भएको रोयटर्सले जनाएको छ। इरान युद्ध, साउदी तेल संरचनामाथिका आक्रमण, होर्मुज क्षेत्रको अस्थिरता र मध्यपूर्वबाट हुने आपूर्तिमा जोखिमका कारण विशेष गरी डिजेलको मूल्यमा ठूलो दबाब परेको छ।
सिरियामा सरकारले डिजेलको मूल्य एकैपटक करिब ४० प्रतिशत र पेट्रोलको मूल्य २५ प्रतिशतभन्दा बढी बढाएपछि विभिन्न शहरमा प्रदर्शन फैलिएको छ। प्रदर्शनकारीले सडक अवरुद्ध गरेका छन्, टायर जलाएका छन् र केही स्थानमा तेल बोकेका ट्यांकरसमेत रोकेका छन्। यो बशर अल–असद शासन पतनपछि सिरियामा देखिएको सबैभन्दा व्यापक आर्थिक विरोधमध्ये एक भएको रोयटर्सले जनाएको छ।
ग्वाटेमालामा ट्रक चालक तथा अन्य समूहले सडक बन्द गर्दै सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने माग गरेका छन्। त्यहाँ इन्धन मूल्य नियन्त्रण गर्न अनुदानसहितको मूल्य सीमा लगाउने कानुनबारे छलफल भइरहेको छ। पोर्चुगलमा व्यवसायी र कामदारले महँगीविरुद्ध प्रधानमन्त्रीको निवाससम्म प्रदर्शन गरेका छन् भने सरकारले यातायात, ट्याक्सी, दमकल तथा सामाजिक क्षेत्रमा राहतका उपाय घोषणा गरेको छ।
फ्रान्समा माछा व्यवसायीहरूले इन्धनको बढ्दो मूल्यविरुद्ध तेल भण्डारण केन्द्र अवरुद्ध गरे भने फिलिपिन्समा यातायात मजदुरले हडताल गर्दै इन्धनमा लगाइएका कर घटाउन र सरकारी अनुदान दिन माग गरेका छन्।
अमेरिकामा समेत उच्च तेल मूल्यको असर पेट्रोल, डिजेल, ढुवानी र महँगीमा देखिएको छ। अमेरिकी उपभोक्ताले इरान युद्ध सुरु भएयता पेट्रोल र डिजेलमा सामान्य अवस्थाको तुलनामा करिब १०७ अर्ब डलर बढी खर्च गरिसकेको एक विश्लेषणले देखाएको छ।
विश्लेषकहरूका अनुसार समस्या अब तेलको मूल्यमा मात्र सीमित छैन। ऊर्जा महँगिँदा यातायात, खाद्यान्न, उद्योग, कृषि, हवाई यात्रा र घरपरिवारको दैनिक खर्च सबै प्रभावित हुन्छन्। युद्ध अझै लम्बिए वा होर्मुज तथा बाब अल–मन्देबजस्ता प्रमुख समुद्री मार्गमा आपूर्ति थप अवरुद्ध भए विश्वव्यापी महँगी र सामाजिक असन्तोष अझ चर्किन सक्ने जोखिम कायम छ।
प्रतिक्रिया