भारतको राजधानी नयाँ दिल्ली सोमबार दिनभर तनाव, प्रदर्शन र राजनीतिक आरोप–प्रत्यारोपले तातेको छ। संसदको मनसुन अधिवेशन सुरु भएकै दिन शिक्षा प्रणालीमाथि उठेका प्रश्न, कथित परीक्षा अनियमितता तथा विद्यार्थी आन्दोलनले सडकदेखि संसदसम्म ठूलो बहस सिर्जना गरेको हो।
दिल्लीको जन्तर–मन्तर क्षेत्रमा बिहानैदेखि हजारौं प्रदर्शनकारी भेला भएका थिए। ककरोच जनता पार्टी (CJP) का संस्थापक अभिजीत दीपके तथा सामाजिक अभियन्ता सोनम वाङचुककी पत्नी गीताञ्जली आङ्मोको नेतृत्वमा संसदतर्फ ‘चलो संसद’ मार्च निकाल्ने प्रयास गरिएको थियो। प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, शिक्षा प्रणालीमा सुधार तथा कथित परीक्षा अनियमिततामाथि निष्पक्ष अनुसन्धानको माग गरेका थिए।
प्रदर्शनकारीहरू संसद भवनतर्फ अघि बढ्ने प्रयास गरेपछि दिल्ली प्रहरीले उनीहरूलाई रोक्यो। स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने विभिन्न स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेलसमेत भएको बताइएको छ।
अत्यधिक गर्मीका कारण केही प्रदर्शनकारी बेहोस भएका थिए। आन्दोलनकारीहरूले भने आफूहरूको आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण रहेको दाबी गर्दै सरकारमाथि बल प्रयोग गरेको आरोप लगाएका छन्।
यसैबीच दिल्ली प्रहरीले कुनै पनि प्रकारको संसद मार्चका लागि अनुमति नदिइएको स्पष्ट गर्दै संसद अधिवेशनका कारण राजधानीमा कडा सुरक्षा व्यवस्था गरिएको जनाएको छ। जन्तर–मन्तरबाहेक अन्य स्थानमा पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाइएको प्रहरीले जानकारी दिएको छ।
मनसुन अधिवेशन सुरु हुनेबित्तिकै लोकसभा र राज्यसभामा विपक्षी दलहरूले तीव्र विरोध जनाएका थिए।
विपक्षले नीट (NEET) परीक्षा सम्बन्धी कथित प्रश्नपत्र चुहावट, शिक्षा प्रणालीको विश्वसनीयता तथा अयोध्या राम मन्दिरको चढावामा भएको भनिएको अनियमितताबारे संसदमा तत्काल छलफल गरिनुपर्ने माग राख्यो।
लगातारको नाराबाजीपछि दुवै सदनको कार्यवाही पटक–पटक स्थगित गर्नुपरेको थियो। बिहान केही समयका लागि स्थगित गरिएको बैठक पुनः सञ्चालन हुँदा पनि अवरोध जारी रहेपछि दुवै सदनको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
लोकसभामा प्रतिपक्षका नेता राहुल गान्धीले सरकार युवामैत्री नभएको आरोप लगाउँदै सडकमा उत्रिएका विद्यार्थीहरू अपराधी नभई आफ्नो संवैधानिक अधिकारको माग गरिरहेका नागरिक भएको बताएका छन्।
उनले शिक्षा प्रणाली निष्पक्ष, पारदर्शी र सम्मानजनक हुनुपर्नेमा जोड दिँदै आन्दोलनकारीमाथि बल प्रयोग गर्नु लोकतान्त्रिक मूल्यविपरीत भएको टिप्पणी गरेका छन्।
कांग्रेस नेतृ प्रियंका गान्धीले पनि विद्यार्थीमाथि अश्रुग्यास र लाठी प्रयोग गरिएको भन्दै सरकारको आलोचना गरेकी छन्।
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले संसदभित्र र बाहिर दुवै ठाउँमा सरकार विद्यार्थीहरूको भविष्यप्रति गम्भीर नभएको आरोप लगाउँदै परीक्षा सञ्चालनमै पटक–पटक कमजोरी देखिएको दाबी गरेका छन्।
समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले सरकार अहंकारी बनेको आरोप लगाउँदै विद्यार्थी आन्दोलन दबाउने प्रयास भइरहेको बताएका छन्।
उनको नेतृत्वमा पार्टीका सांसदहरूले संसददेखि जन्तर–मन्तरसम्म मार्च गरेका थिए। सांसद डिम्पल यादवले युवाको आवाज नसुन्ने सरकार लोकतान्त्रिक मूल्यबाट टाढा गएको टिप्पणी गरिन्।
तृणमूल कांग्रेस (TMC) ले समेत केही समय संसद परिसरका प्रवेशद्वारहरू बन्द गरिएकाले सांसदहरू आन्दोलनस्थल पुग्न नपाएको आरोप लगाएको छ।
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले भने विपक्षले अनावश्यक रूपमा आन्दोलनलाई राजनीतिक रंग दिएको आरोप लगाएको छ।
भाजपा सांसदहरूले सरकारले परीक्षा प्रणाली सुधारका लागि आवश्यक कदम चालेको दाबी गर्दै कुनै समस्या भए त्यसलाई संस्थागत प्रक्रियामार्फत समाधान गर्नुपर्ने बताएका छन्।
भाजपा सांसद तथा अभिनेत्री हेमा मालिनीले संसद र सम्बन्धित निकाय नै समस्या समाधान गर्ने उपयुक्त माध्यम भएको उल्लेख गर्दै विद्यार्थीलाई भ्रममा पार्ने गतिविधि उचित नभएको धारणा राखिन्।
प्रहरी कारबाहीपछि आन्दोलन समाप्त भएको सरकारी दाबीका बीच सीजेपीले भने आन्दोलन अझै जारी रहेको जनाएको छ।
पार्टीले सामाजिक सञ्जालमार्फत अभिजीत दीपके, सौरव दास, आशुतोष रांका तथा गीताञ्जली आङ्मो जन्तर–मन्तर क्षेत्रमा अझै धर्नामा बसिरहेको जनाएको छ।
यसअघि दीपकेलाई प्रहरीले नियन्त्रणमा लिएको चर्चा चले पनि दिल्ली प्रहरीले त्यसलाई अस्वीकार गर्दै उनी आन्दोलनस्थलमै रहेको स्पष्ट पारेको थियो।
सामाजिक अभियन्ता सोनम वाङ्चुकले शिक्षा क्षेत्रमा जवाफदेहिताको माग गर्दै लामो समयदेखि आमरण अनशन जारी राखेका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
उनकी पत्नी गीताञ्जली आङ्मोले संसदमा शिक्षा सुधारको विषय गम्भीर रूपमा उठाइने विश्वसनीय प्रतिबद्धता आए वाङ्चुकले अनशन अन्त्य गर्न सक्ने संकेत दिएकी छन्।
संसदको पहिलो दिनदेखि नै शिक्षा, परीक्षा प्रणाली, विद्यार्थी आन्दोलन र सरकारको भूमिकामाथि चर्किएको विवादले भारतको मनसुन अधिवेशन आगामी दिनमा अझै बढी तनावपूर्ण बन्ने संकेत देखिएको छ। सडकमा आन्दोलन जारी रहने र संसदभित्र पनि यही विषय प्रमुख राजनीतिक एजेन्डा बन्ने सम्भावना रहेको भारतीय राजनीतिक विश्लेषकहरूले बताएका छन्।
प्रतिक्रिया