काठमाडौं । पूर्ण मनोरञ्जनात्मक कमेडी कथामा आधारित नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ। काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित विशेष समारोहबीच रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्र सार्वजनिक गरिएको हो।
घोषणा कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका कलाकार, निर्देशक, निर्माता तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, चर्चित निर्देशक मिलन चाम्स तथा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए।
चलचित्रको कथा, पटकथा तथा निर्देशन अमरदीप सापकोटाले गर्नेछन्। निर्माण पक्षका अनुसार चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुनेछ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्।

कार्यक्रममा बोल्दै निर्माता सापकोटाले रघुजी फिल्म्सले यसअघि घोषणा गरेका अन्य चलचित्र परियोजनाहरू पनि ‘तीन तीघ्रे क्या बिग्रे’को निर्माण सम्पन्न भएपछि क्रमशः अघि बढाइने जानकारी दिए।
चलचित्रका गीतका लागि चर्चित लोकगायक तथा सर्जक पशुपति शर्मालाई अनुबन्ध गरिएको छ भने छायाङ्कनको जिम्मेवारी अनुभवी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्। चलचित्रमा निरज नेपाल कार्यकारी निर्माता, शमशेर लामा मेकअप आर्टिस्ट तथा जीवन पोखरेल भेषभूषा डिजाइनरका रूपमा आबद्ध छन्।
चलचित्रमा गायक पशुपति शर्मा, गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, बेगम नेपाली, पृथ्वीराज प्रसाईं, नरेश पौडेल, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, उत्तम केसी, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, रेनु गुरुङ, विनोद केसी, सुरेश तिमल्सिना र राजु तिमल्सिनालगायतका कलाकारहरूको अभिनय रहनेछ।
निर्देशक अमरदीप सापकोटाका अनुसार ‘तीन तीघ्रे क्या बिग्रे’ पूर्ण रूपमा हास्यप्रधान पारिवारिक मनोरञ्जनमा आधारित चलचित्र हुनेछ। समाजका विभिन्न पात्र र घटनालाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्दै दर्शकलाई हँसाउने र मनोरञ्जन दिने उद्देश्यका साथ चलचित्र निर्माण गर्न लागिएको उनले बताए।
चलचित्रको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल प्रदर्शन अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको निर्माण पक्षले जनाएको छ।
निर्माण टोलीले चलचित्रलाई पारिवारिक दर्शक लक्षित मनोरञ्जनात्मक फिल्मका रूपमा तयार गर्दै निकट भविष्यमा प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी दिएको छ।




प्रतिक्रिया