चीन भ्रमणको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बेइजिङमा उच्चस्तरीय वार्ताको अन्तिम चरण जारी रहेको छ। दुई देशबीचको सम्बन्ध, व्यापार, ऊर्जा र मध्यपूर्वको तनावपूर्ण अवस्थाबारे केन्द्रित छलफलसँगै ट्रम्प आफ्नो राजकीय भ्रमण समापनको तयारीमा छन्।
यसअघि अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले चीनले इरानलाई सैन्य उपकरण उपलब्ध नगराउने प्रतिबद्धता जनाएको दाबी गरेका थिए। ट्रम्पका अनुसार राष्ट्रपति सी चिनफिङले इरानसँगको सैन्य सहकार्यलाई थप विस्तार नगर्ने संकेत दिएका हुन्।
ट्रम्पले चीनले फेरि हर्मुज जलडमरूमध्य खुला होस् भन्ने चाहेको पनि बताएका छन्। विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने उक्त समुद्री क्षेत्र लामो समयदेखि तनावको केन्द्रमा रहँदै आएको छ। ट्रम्पले बेइजिङले अमेरिकाबाट तेल खरिद गर्न समेत सहमति जनाएको दाबी गरे।
यद्यपि ट्रम्पले चीनसँगको वार्ताबाट अमेरिकाले के फाइदा लियो भन्नेबारे खुलेर बोले पनि चीनले त्यसको बदलामा के चाहेको हो भन्ने प्रश्नमा भने स्पष्ट जवाफ दिन अस्वीकार गरेका छन्। यसले दुई शक्तिराष्ट्रबीचको सहमति अझै पूर्ण रूपमा पारदर्शी नभएको संकेत गरेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।
बिहीबारको भेटवार्ताका क्रममा राष्ट्रपति सी चिनफिङले अमेरिका–चीन सम्बन्धलाई “विश्वकै सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध” भनेर टिप्पणी गरेका थिए। त्यसको जवाफमा ट्रम्पले वार्ता “अत्यन्त सकारात्मक” भएको बताएका थिए।
ह्वाइट हाउसका अनुसार करिब दुई घण्टा चलेको उच्चस्तरीय बैठकमा व्यापार असन्तुलन, तेल आपूर्ति, इरानसँग सम्बन्धित सुरक्षा चासो तथा अन्तर्राष्ट्रिय रणनीतिक मुद्दामाथि गम्भीर छलफल भएको थियो।
तर सकारात्मक संकेतका बाबजुद पनि दुई देशबीच आयात शुल्क, प्रविधि निर्यात नियन्त्रण, उन्नत चिप्स तथा व्यापारिक प्रतिबन्धका विषयमा गहिरा मतभेद अझै कायम रहेका छन्। विश्लेषकहरूका अनुसार यी विवाद समाधान नभएसम्म अमेरिका–चीन सम्बन्ध पूर्ण रूपमा सहज हुने सम्भावना कम देखिन्छ।
प्रतिक्रिया