केपी शर्मा ओलीले पछिल्लो प्रतिनिधिसभा निर्वाचनको नतिजालाई लिएर कडा असन्तुष्टि व्यक्त गर्दै त्यसलाई स्वाभाविकभन्दा बाहिरको, अनपेक्षित र रहस्यमय प्रक्रियाको परिणामका रूपमा चित्रित गरेका छन्। नवनिर्वाचित सांसदहरूको शपथपछि पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले तत्काल विस्तृत टिप्पणी गर्ने समय नभए पनि समग्र चुनावी प्रक्रिया र नतिजा गहिरो रूपमा शंकास्पद देखिएको संकेत दिए।
उनले निर्वाचनका क्रममा आफ्ना पार्टीविरुद्ध योजनाबद्ध रूपमा नकारात्मक प्रचार गरिएको आरोप लगाए। देशलाई समृद्धिको दिशामा लैजाने आफ्नो राजनीतिक लक्ष्यलाई कमजोर पार्न विपक्षीहरूले भ्रम र घृणामा आधारित अभियान चलाएको उनको भनाइ थियो। त्यस्ता गतिविधिमा विभिन्न शक्तिहरूको समर्थन समेत रहेको उनले दाबी गरे।
ओलीले सांसदहरूलाई संसद्मा व्यक्तिगत धारणा होइन, पार्टीको नीतिगत विचार मात्र प्रस्तुत गर्न निर्देशन दिए। अनुशासन, एकता र स्पष्ट राजनीतिक लाइनका साथ अघि बढ्नुपर्ने भन्दै उनले पार्टीभित्र अनावश्यक विवाद सिर्जना नगर्न चेतावनी समेत दिए। प्रतिकूल अवस्थामै संगठन झन् मजबुत बनाउनुपर्नेमा उनले जोड दिए।
चुनावी परिणामबारे समीक्षा गर्दै उनले एमाले कमजोर नभएको दाबी गरे। केही सिट घटे पनि पार्टी अझै राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिकै रूपमा कायम रहेको उल्लेख गर्दै उनले अस्थायी गिरावटलाई स्वाभाविक प्रक्रिया बताएका छन्। उनका अनुसार कुनै पनि शक्ति चरम बिन्दुमा पुगेपछि घट्ने क्रम सुरु हुन्छ, तर त्यो अन्त्यको संकेत नभई पुनरुत्थानको अवसर पनि हुन सक्छ।
ओलीले सामाजिक सञ्जालमार्फत फैलाइएको गलत सूचनालाई समयमा प्रभावकारी रूपमा प्रतिवाद गर्न नसक्नु पार्टीको कमजोरी भएको स्वीकार गरे। असत्य र अशोभनीय प्रचारका विरुद्ध स्पष्ट रूपमा उभिन नसक्दा जनतासम्म सही सन्देश पुग्न नसकेको उनले बताए। आगामी दिनमा यस्तो कमजोरी दोहोरिन नदिन सक्रिय रूपमा प्रस्तुत हुनुपर्नेमा उनले जोड दिए।
यसैबीच, उनले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति कडा आपत्ति जनाउँदै त्यसलाई तथ्यहीन र पूर्वाग्रही भएको टिप्पणी गरे। आयोगले आफूविरुद्ध फौजदारी अभियोग सिफारिस गरेको विषयमा उनले कानुनी आधार नै नभएको दाबी गरे। घटनास्थलमै उपस्थित नभएको व्यक्तिलाई आपराधिक जिम्मेवारी जोड्नु न्यायसंगत नहुने उनको तर्क थियो।
प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा कुनै हिंसात्मक आदेश नदिने भन्दै उनले राज्यको जिम्मेवारीको सीमा स्पष्ट हुनुपर्ने बताए। घटनामा ज्यान गुमाएका व्यक्तिहरूको जिम्मेवारी कसरी निर्धारण गर्ने भन्ने विषयमा पनि उनले प्रश्न उठाए। कानुनी व्याख्या र तथ्यगत आधारबिना गरिएको सिफारिसले न्याय प्रणालीमै प्रश्न उठाउने उनको भनाइ थियो।
ओलीले आयोग गठनको प्रक्रियामाथि नै प्रश्न उठाउँदै पूर्वाग्रही धारणा राखिसकेका व्यक्तिहरूलाई जिम्मेवारी दिइएकाले निष्पक्ष प्रतिवेदन आउन नसक्ने आफूहरूले पहिले नै चेतावनी दिएको स्मरण गराए। उनले अहिलेको अवस्थाबाट पार्टीले गहिरो राजनीतिक पाठ सिक्नुपर्ने र त्यसका आधारमा अझ सशक्त रूपमा अघि बढ्नुपर्ने निष्कर्ष प्रस्तुत गरे।
आज उक्त कार्यक्रम मा उपस्थित एक एमाले नेताले भने “ओलीको आजको भासण सुन्दा लाग्यो उनी न कहिलै सुध्रिन्छन, न लाज मान्छन । हुन त ज्योति मगर, रबि चुडाल, गुन्डु वालाहरुको संगत जो छ !” अर्का नेताले थपे – “कस्तो एमाले हेर्दा हेर्दै कस्तो भयो ! अझ के के हुने हो । जाउँ कहाँ ? बोलौं कहाँ ? राजनीतिमा लागेर ठुलो गल्ति गरिएछ। ओली संगै सती जान पनि सकिएन, एमाले हुँ भन्न पनि कठिन हुने भो !”
प्रतिक्रिया