धादिङ, पृथ्वी राजमार्ग / पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा भीषण दुर्घटनामा पर्दा कम्तीमा १७ जनाको ज्यान गएको छ भने दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन्। मध्यरातपछि भएको उक्त दुर्घटनाले देशलाई स्तब्ध बनाएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद निरौलाका अनुसार ग १ ख १४२१ नम्बरको बस राति करिब सवा १ बजेतिर बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडा (धुन्सेगौडा क्षेत्र) स्थित पृथ्वी राजमार्गबाट करिब ३०० मिटर तल त्रिशूली नदी किनारतर्फ खसेको हो।
प्रारम्भिक विवरणअनुसार बसमा ४० देखि ४६ जनासम्म यात्रु सवार रहेको अनुमान गरिएको छ। दुर्घटनापछि १७ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये १३ पुरुष र ४ महिला रहेको सुरक्षाकर्मीहरूले जानकारी दिएका छन्। मृतक तथा घाइतेहरूको पहिचान प्रक्रिया जारी रहेको बताइएको छ।
दुर्घटनामा २३ देखि २७ जनासम्म घाइते भएका छन्। घाइतेहरूलाई डुंगाको सहायताले नदी किनारबाट बगरसम्म ल्याएर एम्बुलेन्समार्फत् विभिन्न अस्पताल पठाइएको छ। प्रशासनका अनुसार धेरैजसो घाइतेको अवस्था गम्भीर रहेको छ।
एक जना यात्रु बसभित्र च्यापिएको अवस्थामा फेला परेका थिए, जसको उद्धार प्रयास जारी राखिएको थियो।
दुर्घटनालगत्तै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा खटिएको थियो। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली तथा कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट गोताखोरसहितको विशेष टोली परिचालन गरिएको थियो।
रातिको समय, अप्ठेरो भौगोलिक अवस्था र गहिरो खाल्डो भएका कारण उद्धार कार्यमा कठिनाइ भएको सुरक्षाकर्मीहरूले बताएका छन्।
दुर्घटनास्थलको प्रारम्भिक निरीक्षणमा सडक फराकिलो रहेको देखिए पनि बस एकाएक सडकबाट तल खसेको पाइएको छ। “बस किन र कसरी नियन्त्रण बाहिर गयो भन्ने विषयमा विस्तृत अनुसन्धान सुरु गरिएको छ,” प्रशासनले जनाएको छ। घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको टोली उपस्थित भई समन्वय गरिरहेको छ।
यो दुर्घटनाले फेरि एकपटक पृथ्वी राजमार्गको सुरक्षा अवस्थामाथि प्रश्न उठाएको छ। यात्रु सुरक्षाका विषयमा गम्भीर बहस आवश्यक रहेको स्थानीयवासी र यात्रुहरूले बताएका छन्। सरकारले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उपचारमा कुनै कमी नहुने जनाएको छ।


प्रतिक्रिया