काठमाडौं / प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई कडा सन्देश दिइन् । उनले उठाएका प्रश्नहरूलाई राजनीतिशास्त्रीहरूले दलहरूका लागि “सुध्रन चेतावनी”का रूपमा व्याख्या गरेका छन् । प्रधानमन्त्री कार्कीले लोकतन्त्र सैद्धान्तिक रूपमा स्थापित भए पनि व्यवहारमा विभेद र असमानता कायम रहेको बताइन् । “किन २००७ सालको उपलब्धि २०१७ मा खोसियो? किन २०३६, २०४६, २०६२/६३ र फेरि २०८२ मा पनि जनता सडकमा उत्रिनुपर्यो?” भन्दै उनले प्रश्न गरिन् । उनले यसपटक जेन–जी पुस्ताका युवाहरूले गोलीको पर्वाह नगरी आवाज उठाउनुपरेको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरिन् ।
“एउटै वर्ग सत्तामा स्थायी रूपमा हालीमुहाली गरिरहने, स्रोतसाधनमा एकाधिकार जमाइरहने र राज्य संरचनामा पकड कायम राखिरहने प्रवृत्तिको अन्त्य हुन सकेन,” उनले भनिन् । यस्तो अपसंस्कृतिले राज्यप्रति जनविश्वास कमजोर बनाउने र विद्रोह जन्माउने चेतावनी उनले दिइन् । प्रधानमन्त्री कार्कीले युवामा ऊर्जा, नैतिक आक्रोश र परिवर्तनको आकांक्षा रहेको बताइन् । “युवालाई अपमान र तिरस्कार गरिरहे फेरि पनि विद्रोह हुने छ,” उनले भनिन् । नातावाद, कृपावाद र भ्रष्टाचारलाई दबाएर होइन, समाधान गरेर मात्रै राष्ट्र अघि बढ्न सक्ने उनले बताइन् ।
विधिको शासन आवश्यक भए पनि प्रक्रियाका नाममा नागरिकलाई हैरान पार्नु लोकतन्त्रको अभ्यास नभएको उनले स्पष्ट पारिन् । “ढिलासुस्ती, अल्झाउने र प्रताडना दिने प्रवृत्ति लोकतन्त्र होइन, बेथिति हो,” उनले भनिन् । उनले बजेट वितरणमा हुने मनोमानी, समानुपातिक प्रणालीबाट सीमित वर्गको लाभ, छात्रवृत्ति र रोजगारीमा हुने काखापाखा जस्ता विषय उठाउँदै “यहाँ विद्रोह नभएर के हुन्छ?” भनी प्रश्न गरिन् ।
प्रधानमन्त्रीले लोकतन्त्रलाई केवल प्राविधिक शासकीय परिवर्तनका रूपमा नभई जनजीविकासँग जोडेर हेर्नुपर्ने बताइन् । “दुई छाक टार्न सन्तान छोडेर खाडीमा पसिना बगाउने अभिभावकलाई प्रजातन्त्रका आदर्शले छुन सक्दैन,” उनले भनिन् । राजनीतिशास्त्री सुचेता प्याकुरेलले प्रधानमन्त्रीको अभिव्यक्तिलाई दलहरू नसुध्रिए खतरा कायम रहने चेतावनीका रूपमा टिप्पणी गरिन् । उनले यसलाई हालै आएको पूर्वराजाको सन्देशसँग जोडेर पनि विश्लेषण गरिन् ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक पीताम्बर भण्डारीले भने प्रधानमन्त्रीले जेन–जी आन्दोलनलाई विगतका आन्दोलनको निरन्तरता देखाउन खोजेको बताए । उनले प्रधानमन्त्रीको अभिव्यक्ति केही हदसम्म नयाँ समूहहरूलाई प्रश्रय दिने ढंगले आएको टिप्पणी गरे । प्रधानमन्त्री कार्कीले लोकतन्त्रको मुख्य चुनौती भ्रष्टाचार, स्रोतमा सीमित वर्गको पहुँच र दण्डहीनता रहेको बताइन् । जेन–जी आन्दोलनलाई उनले संरचनात्मक असफलताको परिणामका रूपमा व्याख्या गरिन् । “हाम्रा युवा अभाव सहन तयार छन्, तर अन्याय र अपमान सहन तयार छैनन्,” उनले भनिन् ।
प्रतिक्रिया