बजारमुखी अर्थतन्त्रमा मन्दी र सेयर बजारको गिरावट नयाँ विषय होइन। आर्थिक उतारचढाव प्रणालीकै स्वाभाविक हिस्सा हो। तर धेरै अमेरिकी नागरिकलाई थाहा नहुन सक्छ कि उनीहरूको लगानी जोखिम केवल सेयर मूल्य घट्ने मात्र होइन, त्योभन्दा गम्भीर कानुनी संरचनासँग जोडिएको छ। विशेषगरी अर्को ठूलो आर्थिक संकट आएमा करोडौँ अमेरिकीको निवृत्तिभत्ता र व्यक्तिगत लगानी अस्थायी मात्र होइन, स्थायी रूपमा समेत संकटमा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। अझ चासोको विषय के भने, यस्तो अवस्थामा ठूला वाल स्ट्रिट बैंक तथा वित्तीय संस्था भने कानुनी रूपमा सुरक्षित रहने व्यवस्था तयार गरिएको विश्लेषणहरूमा उल्लेख छ।
१९७० को दशकदेखि अमेरिकाका विभिन्न राज्यहरूले ‘Uniform Commercial Code (UCC)’ मा महत्वपूर्ण संशोधनहरू गरे। यी संशोधनहरू शक्तिशाली वाल स्ट्रिट तथा बैंकिङ संस्थाहरूको आग्रह र प्रभावमा पारित गरिएको बताइन्छ। त्यसपछि व्यक्तिगत लगानीकर्ताले किनेका सेयर वा ऋणपत्रको प्रत्यक्ष स्वामित्व उनीहरूको नाममा दर्ता हुने परम्परागत प्रणाली क्रमशः हट्दै गयो।
यसको सट्टा सबै स्वामित्व अभिलेख एकै केन्द्रीय निकायमा राख्ने व्यवस्था लागू गरियो— Depository Trust Company (DTC)। आज DTC ले विश्वका १७० भन्दा बढी देशका करिब १४ लाखभन्दा बढी प्रतिभूति व्यवस्थापन गर्दै आएको छ, जसको कुल मूल्य १०० ट्रिलियन डलरभन्दा बढी रहेको तथ्यांकहरूमा उल्लेख छ।
पहिले जब कसैले सेयर किन्थ्यो, त्यो कम्पनीको स्वामित्व प्रत्यक्ष रूपमा उसैको नाममा दर्ता हुन्थ्यो। स्पष्ट कानुनी शीर्षक र सम्पत्ति अधिकार सुरक्षित रहन्थ्यो। तर अहिलेको प्रणालीमा धेरैजसो लगानीकर्ताले प्रत्यक्ष स्वामित्व होइन, ‘security entitlement’ भनिने संविदात्मक अधिकार मात्र पाउँछन्। अर्थात्, सेयर किने पनि त्यो तपाईंको नाममा दर्ता हुँदैन; तपाईंलाई त्यससँग सम्बन्धित आर्थिक अधिकार मात्र प्राप्त हुन्छ।
१९७० को दशकमा सेयर किनबेच कागजी प्रक्रिया आधारित थियो र कारोबार सम्पन्न हुन दिनौँ लाग्थ्यो। दक्षता बढाउने र जोखिम घटाउने भन्दै DTC जस्ता संरचना बनाइयो। यसले कारोबारको गति अत्यधिक बढायो र वाल स्ट्रिटमा खर्च घटायो। तर आलोचकहरूका अनुसार यसले शताब्दीयौँ पुरानो प्रत्यक्ष सम्पत्ति स्वामित्वको अवधारणालाई कमजोर बनायो।
Uniform Commercial Code को धारा ८ (Article 8) अन्तर्गत, यदि कुनै ब्रोकरेज कम्पनी आर्थिक संकटमा पर्यो भने, त्यसले ऋण लिँदा धितो राखेका सम्पत्तिमा सुरक्षित ऋणदाताले दाबी गर्न सक्छन्। यदि ग्राहकका सेयरहरू धितोका रूपमा प्रयोग गरिएको पाइयो भने चरम संकटमा ती सम्पत्तिहरू समेत जफत हुन सक्ने कानुनी प्रावधान रहेको उल्लेख गरिएको छ।
हालका नियमहरूले सामान्यतया ग्राहकका अधिकांश सेयर धितो राख्न प्रतिबन्ध लगाएका छन्, विशेष गरी साधारण खातामा। तर कानुनी जटिलताले ठूलो वित्तीय संकटको समयमा उपभोक्ता सुरक्षाका प्रावधानहरू कमजोर पार्न सक्ने जोखिम विश्लेषकहरूले औंल्याएका छन्।
केन्द्रिकृत स्वामित्व प्रणालीले सेयर कारोबारलाई अत्यन्त तीव्र बनायो, ठूला बैंक तथा वित्तीय संस्थालाई शुल्क आम्दानी बढायो र स्टक लेन्डिङ तथा डेरिभेटिभजस्ता जोखिमयुक्त गतिविधि विस्तार गर्न सहज बनायो। तर अर्कोतर्फ सामान्य लगानीकर्ताको प्रत्यक्ष स्वामित्व अधिकार कमजोर भएको दाबी निरन्तर उठ्दै आएको छ।
Uniform Commercial Code राज्यस्तरीय कानुन भएकाले राज्यका विधायिकाले चाहेमा लगानीकर्ताको प्राथमिक अधिकार पुनःस्थापित गर्न सक्ने सम्भावना छ। केही राज्यमा यसबारे बहस सुरु भएको जनाइएको छ, तर ठोस सुधारका लागि व्यापक सार्वजनिक दबाब आवश्यक हुने विश्लेषण गरिएको छ।
अर्को आर्थिक संकट कहिले आउँछ भन्ने कसैले ठ्याक्कै भन्न सक्दैन। तर कानुनी संरचना भने अहिले नै लागू छ। सुधार नभए धेरैले सुरक्षित ठानेको आफ्नो निवृत्ति बचत र लगानी अप्रत्याशित रूपमा जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ।
– Justin Huskins
प्रतिक्रिया