नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले केपी शर्मा ओली र बालेन्द्र साह प्रधानमन्त्रीका लागि उपयुक्त पात्र नभएको बताएका छन्। उनले देशको नेतृत्व गर्न सक्ने व्यक्ति न धेरै बोल्ने न बिल्कुलै मौन बस्ने, सन्तुलित रूपमा बोल्न सक्ने हुनुपर्ने बताए।
सोमबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै शर्माले अहिलेको बहस वडा तहको नभई देशको प्रधानमन्त्री को बन्ने भन्ने गम्भीर विषयसँग जोडिएको बताए। उनले एक जना नेता बोलेको बोलेै गर्ने खालको र अर्को नेता बोल्दै नबोल्ने प्रवृत्तिको रहेको बताए। धेरै बोल्ने र बिल्कुलै नबोल्ने दुवैबाट देश नचल्ने उनले बताए।
शर्माले प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्न सक्नुपर्ने बताए। भावनामा बगेर “झोक चल्यो भने घर जलाइदिन्छु” जस्ता अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्रीका लागि उपयुक्त नहुने उनले टिप्पणी गरे। उनले नेपाली कांग्रेसका नेता गगन थापालाई तौलेर बोल्ने नेताको रूपमा प्रस्तुत गरे।
उनले भने, प्रधानमन्त्री भनेको संयुक्त राष्ट्रसंघजस्तो अन्तर्राष्ट्रिय मञ्चमा बसेर नेपालको पक्ष राख्न सक्ने व्यक्ति हुनुपर्छ। फ्रान्सजस्ता देशका नागरिकले नेपालको प्रधानमन्त्री को हो भनेर सोध्दा देशको परिचय र सम्बन्ध बुझाउन सक्ने क्षमता चाहिन्छ।
शर्माले जेन–जी आन्दोलनका बेला सरकारमा रहँदा पार्टीबाट भएका कमजोरीहरूको जिम्मेवारी लिन कांग्रेस तयार रहेको बताए। उनले पार्टीका नेता तथा कार्यकर्तालाई कसैलाई गाली नगरी एकताबद्ध भएर निर्वाचनमा लाग्न आग्रह गरे।
कांग्रेस चितवनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्ना एजेन्डा र विचार स्पष्ट रूपमा जनतामाझ राख्नुपर्ने बताए। अरूलाई लाञ्छित नगर्न निर्देशन दिँदै उनले भने, हामीले कसैलाई गाली गर्ने होइन, आफ्ना कुरा जनतालाई बुझाउने हो।
उनले पार्टीभित्र सम्पन्न विशेष महाधिवेशनले विगतका असमझदारीहरू हटाएको बताए। अब गुटरहित सोचसहित देश बदल्ने सङ्कल्प लिएर चुनावमा होमिनुपर्ने उनले बताए।
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले २१ दिने विशेष अभियान सञ्चालन गर्न लागेको जानकारी दिँदै शर्माले नेता–कार्यकर्तालाई आफ्नै वडामा सक्रिय भएर काम गर्न निर्देशन दिए। जिल्ला, प्रदेश र केन्द्रबाट खटाइएकाबाहेक सबैले आफ्नै वडामा २१ दिन सक्रिय भएर काम गर्नुपर्ने उनले बताए।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठले यसपटक पार्टीले देशभर करिब ७५ प्रतिशत युवा तथा नयाँ उम्मेदवारलाई चुनावी मैदानमा उतारेको बताए। सबै उम्मेदवारलाई जित सुनिश्चित गर्न एकताबद्ध भएर लाग्न उनले आग्रह गरे।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बुर्लाकोटी, क्षेत्र नम्बर २ की उम्मेदवार मीनाकुमारी खरेल र क्षेत्र नम्बर ३ का उम्मेदवार टेकप्रसाद गुरुङले कांग्रेसका उम्मेदवारलाई जिताउन सबै नेता तथा कार्यकर्ता एक भएर लाग्नुपर्ने बताए।
उनीहरूले कांग्रेसले गरेका काम र आगामी योजनाबारे जनतालाई जानकारी दिँदै मतदाता जोड्ने अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
प्रतिक्रिया