रुसको सैन्य संरचनामा अत्यन्त प्रभावशाली मानिने एक उच्चपदस्थ जनरल मस्कोमा गोली प्रहारबाट गम्भीर घाइते भएका छन्। उत्तर–पश्चिमी मस्कोस्थित एक आवासीय अपार्टमेन्ट परिसरमा भएको आक्रमणमा भ्लादिमिर आलेक्सेयेभलाई पटक–पटक गोली हानिएको हो। घटनापछि उनलाई तुरुन्तै अस्पताल लगिएको छ, तर स्वास्थ्य अवस्था सार्वजनिक गरिएको छैन। आलेक्सेयेभ रुसको सैन्य गुप्तचर निकाय जीआरयूको मुख्य निर्देशनालयमा दोस्रो नम्बरको पदमा रहेका व्यक्ति हुन्। युक्रेनमाथि रुसले पूर्णस्तरको आक्रमण सुरु गरेको करिब चार वर्षयता राजधानी मस्कोमै उच्च पदस्थ सैनिक अधिकारीमाथि भएको पछिल्लो लक्षित आक्रमणका रूपमा यो घटना आएको छ। सन् २०१८ मा बेलायतको सालिसबरीमा गरिएको स्नायु–विष आक्रमणमा जीआरयूको संलग्नता रहेको आरोपपछि उनलाई युरोपेली संघ र बेलायतले प्रतिबन्ध सूचीमा राखेका थिए।
रुसको अनुसन्धान समितिकी प्रवक्ता स्वेत्लाना पेत्रेन्कोका अनुसार पीडितलाई सहरकै एक अस्पतालमा भर्ना गरिएको छ र हत्याको प्रयाससम्बन्धी आपराधिक मुद्दा दर्ता गरिएको छ। आक्रमणकारी फरार रहेकाले अनुसन्धानकर्ताहरूले सीसीटीभी फुटेज खोतलिरहेका छन् र प्रत्यक्षदर्शीहरूसँग बयान लिइरहेका छन्। आलेक्सेयेभका एक छिमेकीले राति धेरै पटक गोली चलेको आवाजले निद्रा भङ्ग भएको र त्यसपछि सहयोगका लागि चिच्याएको सुनेको बताएका छन्। छिमेकीहरू बाहिर निस्केर एम्बुलेन्स र प्रहरी बोलाउनेबारे सोध्दा सम्बन्धित व्यक्तिले पहिल्यै खबर गरिसकेको थाहा भएको उनी बताउँछिन्।
युक्रेन युद्धका क्रममा आलेक्सेयेभले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सन् २०२२ मा मारियुपोल सहर घेराबन्दीका बेला उनले युक्रेनी पक्षसँग वार्तामा सहभागिता जनाएका थिए। सन् २०२३ को जुनमा अल्पकालीन तर रक्तपातपूर्ण विद्रोहको नेतृत्व गरेका वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनसँग वार्ता गर्न पनि उनलाई पठाइएको थियो। जीआरयूका प्रमुख इगोर कोस्त्युकभले हाल अबुधाबीमा अमेरिका र युक्रेनसँग सुरक्षा विषयक वार्तामा रुसको प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनलाई घटनाबारे जानकारी दिइँदैछ र जनरलको ज्यान जोगियोस् भन्ने कामना गरिएको छ।
शुक्रबार बिहान भोलोकोलाम्स्क राजमार्ग नजिकको आवासीय भवनमा भएको आक्रमणको जिम्मेवारी कसले लिएको भन्ने खुल्न बाँकी छ। यद्यपि रुसका विदेशमन्त्री सर्गेई लावरोभले यसको दोष युक्रेनमाथि लगाएका छन्। किभले औपचारिक प्रतिक्रिया दिएको छैन, तर विगतमा केही रूसी सैनिक अधिकारीमाथि भएका आक्रमणको जिम्मेवारी उसले स्वीकार गरिसकेको छ। गत महिनाको अन्त्यतिर सन्त पिटर्सबर्गमा एक रूसी सैनिकमाथि हुन लागेको आक्रमण विफल पारिएको दाबी पनि रूसी गुप्तचर अधिकारीहरूले गरेका थिए।
यसअघि जनवरीमा, २०२४ मा मस्कोको एक अपार्टमेन्ट बाहिर भएको विस्फोटमा मारिएका अर्का जनरल इगोर किरिलोभको हत्यामा संलग्न आरोपमा एक उजबेक नागरिकलाई जेल सजाय सुनाइएको थियो। उक्त आक्रमणको जिम्मेवारी युक्रेनको सुरक्षा निकाय एसबीयूले लिएको थियो। किरिलोभ रुसका आणविक, जैविक र रासायनिक सुरक्षा फौजका प्रमुख थिए।
त्यसैगरी, सन् २०२५ को डिसेम्बरमा जीआरयूका अर्का उच्च अधिकारी फानिल सरवारोभ मस्कोमै कारमुनि राखिएको विस्फोटक पड्किँदा मारिएका थिए। उनी सशस्त्र बलको अपरेशनल तालिम विभागको जिम्मेवारीमा रहेका थिए।
प्रतिक्रिया