काठमाडौं । नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजित भएको छ । पार्टीभित्र लामो समयदेखि चल्दै आएको नेतृत्व र दिशाको संघर्ष विशेष महाधिवेशनमार्फत् निर्णायक मोडमा पुगेको छ । गगन थापा–विश्वप्रकाश शर्मा समूहको अगुवाइमा बोलाइएको विशेष महाधिवेशनले गगन थापालाई नेपाली कांग्रेसको नयाँ सभापतिमा चयन गरेको छ । पार्टी विधानअनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा आह्वान गरिएको चारदिने विशेष महाधिवेशनले थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको हो । नेतृत्व चयन हुनुअघि नै बुधबार दिउँसो शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गर्ने निर्णय गरेको थियो । तर भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले सो निर्णयलाई अस्वीकार गर्दै खारेज गरिदियो ।
जेन–जी आन्दोलनपछि पार्टीभित्र चर्किएको नेतृत्व रूपान्तरणको मागकै कारण गगन–विश्व समूहले समयमै महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका थिए । तर निर्वाचनअघि महाधिवेशन सम्भव नरहेको भन्दै देउवा समूह पछि नहटेपछि कांग्रेस गम्भीर विभाजनतर्फ धकेलियो । अन्ततः विद्रोही धारको नेतृत्व गर्दै आएका गगन थापा पार्टी सभापतिमा चयन भए ।
विशेष महाधिवेशनबाट सभापति चयन भएपछि मध्यराति भृकुटीमण्डपमा सम्बोधन गर्दै गगन थापाले पार्टीको गरिमा जोगाउने प्रतिबद्धता जनाए ।
“नेपाली कांग्रेसको सभापति भन्ने नाम आफैंमा गर्वको विषय हो । यो सानो जिम्मेवारी होइन । जुन विश्वासका साथ यो दायित्व सुम्पनुभएको छ, म कसैको पनि शिर झुक्न दिने छैन । कांग्रेसको शान जोगाउँछु,” उनले भने ।
उनले पार्टी र देश दुवै संकटमा रहेका बेला विशेष महाधिवेशन गर्नुपर्ने अवस्था बाध्यताबाट आएको बताए ।
“यो कसैको रहर थिएन । यो बाध्यता थियो । जोखिम उठाउनै पर्ने थियो । त्यो जोखिम सबैभन्दा धेरै तल्लो तहका साथीहरूले उठाउनुभएको छ,” थापाको भनाइ थियो ।
पार्टी एकता जोगाउन अन्तिम समयसम्म वार्ता चलिरहे पनि सहमति नजुटेपछि विभाजन औपचारिक भएको हो । कार्यवाहक सभापति **पूर्णबहादुर खड्का**ले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय सुनाएपछि विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बाटो खुलेको थियो ।
वार्ताको आशामा नेतृत्व चयन प्रक्रिया केही समय स्थगित गरिएको भए पनि एकता जोगाउने प्रयास विफल भएपछि विशेष महाधिवेशन निर्णायक रूपमा अघि बढ्यो ।
विभाजनपछि पार्टीको आधिकारिकता कसले पाउने भन्ने विषय अब निर्वाचन आयोगमा पुगेको छ । देउवा पक्षले विशेष महाधिवेशन अवैध भएको दाबी गर्दै आयोगमा निवेदन दिएको छ । उता विशेष महाधिवेशन पक्षधरहरूले बहुमत प्रतिनिधिको हस्ताक्षरसहित आफूहरू वैधानिक रहेको दाबी गर्दै कांग्रेसको नाम, रुख चुनाव चिह्न र चारतारे झण्डामा अधिकार माग गरेका छन् । कुन पक्षलाई आधिकारिकता दिने भन्ने निर्णय अब आयोगको हातमा पुगेको छ ।
पार्टी फुट्नुको जिम्मेवारी दुवै पक्षले एक–अर्कामाथि थोपरेका छन् । खड्काले महामन्त्रीहरूलाई सल्लाह नगरी धोका दिएको आरोप लगाएका छन् । उनले वार्ताका क्रममा “स्वीकार गर्नै नसकिने माग” राखिएको दाबी गरेका छन् ।
उता गगन–विश्व समूहले भने देउवा र उनलाई साथ दिने नेताहरूले रूपान्तरणको प्रस्ताव अस्वीकार गरी कारबाहीको बाटो रोजेकै कारण विभाजन अपरिहार्य बनेको तर्क गरेका छन् । उनीहरूका अनुसार यदि देउवाले समयमै नेतृत्व हस्तान्तरणको संकेत दिएको भए कांग्रेस आज यो अवस्थामा पुग्ने थिएन ।
विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले गगन थापालाई कांग्रेस परिवर्तनको ‘कमान्डर’को रूपमा प्रस्तुत गरे ।
“कांग्रेसलाई बदल्न हामीले गगन थापालाई कमान्डर बनाएका छौँ । कुनै पनि युद्ध जित्न कमान्डर मात्र होइन, पूरै सेना एउटै मनोविज्ञानमा उभिनुपर्छ,” उनले भने ।
उनले फरक मत र असहमतिका बीच पनि विधि र विधानको बाटो अपनाएर नयाँ नेतृत्व चयन गरिएको बताए ।
“देश संविधानले चल्छ, पार्टी विधानले चल्छ । यी नचल्दा देश र पार्टी दुवैमा बेथिति हुन्छ,” शर्माको भनाइ थियो ।
यसरी, दशकौँदेखि नेपाली लोकतन्त्रको मेरुदण्ड मानिएको नेपाली कांग्रेस आज ऐतिहासिक विभाजनको चरणमा पुगेको छ । अब पार्टीको भविष्य, वैधानिकता र जनविश्वास कुन धारले सुरक्षित गर्न सक्छ भन्ने प्रश्न खुला रहँदै गएको छ ।
प्रतिक्रिया