सुनसरीको कोशी गाउँपालिका–१ मा बुधबार मध्यराति भएको एक घटनाले सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थापन, तस्करी, सुरक्षाकर्मीको भूमिका र नागरिकको जीवन सुरक्षाबारे गम्भीर प्रश्न खडा गरेको छ। भारतीय सीमासँगै घर भएका ४५ वर्षीय विजय साहको सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएपछि उनका परिवार मात्र होइन, समग्र क्षेत्र नै शोक र आक्रोशमा डुबेको छ।
पेसाले सिटी तथा अटो रिक्सा चालक रहेका साह दैनिक जीविकोपार्जनका लागि भारत–नेपाल सीमा आवतजावत गर्दै आएका थिए। स्थानीयका अनुसार बुधबार राति उनी भारततर्फ गएका थिए र फर्कँदै गर्दा चिनी, सुर्ती, चलकेटलगायत दैनिक उपभोग्य सामग्री बोकेका तीनवटा रिक्सा (दुई अटो, एक ई–रिक्सा) को समूह लौकही हुँदै कोशी गाउँपालिका–१ तर्फ अघि बढ्दै थियो।
त्यही समयमा लौकही क्षेत्रमा सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दारको कमाण्डमा पाँच जना सुरक्षाकर्मी ड्युटीमा थिए। सशस्त्र प्रहरीका अनुसार ती रिक्साहरूमा भन्सार छलेर भारतबाट अवैध सामग्री ल्याइएको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो। मध्यराति सडकमा सुरक्षाकर्मीको उपस्थिती देखेपछि रिक्सा चालकहरू भाग्न खोजे र त्यसपछि प्रहरीले पछ्याएको दाबी गरिएको छ।
सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेका अनुसार सो क्रममा तस्करको समूहबाट पहिलो गोली चलेपछि सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि जवाफी फायर गरेका थिए। “उताबाट पहिले फायर भयो, त्यसपछि आत्मरक्षाका लागि जवाफी कारबाही गर्दा दुर्घटना हुन पुग्यो,” न्यौपानेले दाबी गरे।
तर प्रहरीको यो दाबीलाई स्थानीय बासिन्दा, मृतकका आफन्त तथा केही सुरक्षा विश्लेषकहरूले गम्भीर रूपमा प्रश्न गरेका छन्। घटनास्थलबाट कुनै पनि हतियार बरामद नभएको स्वीकार गर्दै डीआईजी न्यौपानेले ‘फायर गर्ने व्यक्ति भागेको’ बताएपछि दोहोरो फायरिङको दाबी झनै विवादास्पद बनेको छ।
स्थानीयका अनुसार विजय साह लेनदेनकै विवादमा मारिएका हुन्। उनीहरूले सशस्त्र प्रहरीले नियमित रूपमा सीमा क्षेत्रमा सामान ओसारपसार गर्न रकम माग्ने गरेको र मागअनुसार नदिँदा गोली प्रहार गरिएको आरोप लगाएका छन्। “यो मुठभेड होइन, लेनदेन नमिल्दा गरिएको हत्या हो,” आक्रोशित स्थानीयको आरोप छ।
गोली लागेर मृत्यु भएका साह अटो रिक्सा चालक मात्रै भएको र सामान ओसार्नका लागि भाडामा लगिएको हुन सक्ने प्रहरी स्रोतकै अनुमान छ। उनको छातीमा दुईवटा घाउ देखिएको र घटनास्थलबाट दुईवटा खोका बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। ती घाउ एउटै वा फरक–फरक गोलीका हुन् भन्ने विषय पोस्टमार्टम प्रतिवेदनपछि मात्रै स्पष्ट हुने बताइएको छ।
घटनापछि सुनसरी तनावग्रस्त बन्यो। स्थानीयले सडकमै शव राखेर प्रदर्शन गरे, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरियो र सशस्त्र प्रहरीको बिट तथा बोर्डर आउट पोस्ट (बीओपी) मा तोडफोडसमेत भयो। स्थिति नियन्त्रणमा लिन केही स्थानमा अश्रुग्याससमेत प्रयोग गर्नुपरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
बिहीबार दिउँसो स्थानीय प्रतिनिधि र प्रशासनबीच पाँच बुँदे सहमति भएपछि अवस्था सामान्यतर्फ फर्किएको छ। सहमतिअनुसार घटनाको छानबिनका लागि समिति गठन गरिएको छ भने छानबिन प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही र मृतक परिवारलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।
कोशी गाउँपालिका–१ का वडाध्यक्ष सोभितनारायण यादवका अनुसार विजय साह अत्यन्तै विपन्न परिवारका सदस्य थिए। “सिटी र रिक्सा चलाएरै परिवार पालिरहेका थिए,” उनले भने, “उनको मृत्युसँगै परिवारको मियो ढलेको छ।” साहका दुई छोरा, एक छोरी, श्रीमती र वृद्ध आमा छन्।
सीमा मामलाबारे जानकार लेखक तथा विश्लेषक चन्द्रकिशोरका अनुसार तराई क्षेत्रमा तस्करी केवल अपराध मात्रै नभई अर्थ–राजनीतिसँग गहिरो रूपमा जोडिएको विषय हो। “साना नाकाहरू हुँदै ‘लाइन मिलाएर’ तस्करी हुने प्रचलन छ। सुरक्षा निकायले रेफ्रीको भूमिका खेल्ने आरोप पनि लाग्दै आएको छ,” उनी भन्छन्। लाइन नमिल्दा वा दरमा विवाद हुँदा यस्ता झडप र मुठभेडको अवस्था सिर्जना हुने गरेको उनको विश्लेषण छ।
यता सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा डीआईजी मनिष थापाले भने घटनाबारे निष्कर्षमा पुग्न छानबिन प्रतिवेदन कुर्नुपर्ने बताएका छन्। “सशस्त्रको गोली लागेर नागरिकको मृत्यु भएको घटना गम्भीर छ। कसरी र किन यस्तो अवस्था आयो भन्ने कुरा छानबिनपछि मात्र स्पष्ट हुन्छ,” उनले भने।
सुरक्षा गोष्ठी र नागरिक सुरक्षाबारे ठूला प्रतिबद्धता सार्वजनिक भइरहेका बेला सुरक्षाकर्मीकै गोलीबाट एक नागरिकको मृत्यु हुनु गम्भीर चिन्ताको विषय बनेको छ। सुनसरीको यो घटनाले सीमा व्यवस्थापन, तस्करी नियन्त्रण र सुरक्षाकर्मीको जवाफदेहिता पुनः बहसको केन्द्रमा ल्याएको छ।
प्रतिक्रिया