अमेरिकाले उत्तर–पश्चिमी नाइजेरियामा इस्लामिक स्टेट (आईएस) समूहसँग सम्बन्धित सशस्त्र लडाकुहरूलाई लक्षित गर्दै हवाई आक्रमण गरेको छ। नाइजेरियामा आफ्नो आधार विस्तार गर्न खोजिरहेका ती समूहका क्याम्पहरू नाइजरसँगको सीमावर्ती क्षेत्र नजिक रहेको सोकोटो राज्यमा प्रहार गरिएको अमेरिकी सेनाले जनाएको छ। मृतकको यकिन संख्या सार्वजनिक नभए पनि अमेरिकी र नाइजेरियाली दुवै अधिकारीले उक्त कारबाहीमा लडाकुहरू मारिएको पुष्टि गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमसको दिन गरिएको आक्रमणलाई “घातक” भन्दै ती समूहलाई “आतङ्कवादी फोहोर” को संज्ञा दिएका छन्। उनले निर्दोष नागरिक, विशेषगरी इसाइ समुदायलाई लक्षित गरी निर्मम हत्या भइरहेको दाबी गरेका छन्। तर नाइजेरियाका परराष्ट्रमन्त्री युसुफ मैतामा तुग्गरले यो संयुक्त सुरक्षा कारबाही भएको र यसको कुनै पनि धर्मसँग सम्बन्ध नरहेको स्पष्ट पारेका छन्।
तुग्गरका अनुसार यो आक्रमण लामो समयदेखि योजनाबद्ध रूपमा तयारी गरिएको थियो र नाइजेरियाले उपलब्ध गराएको गुप्तचर सूचनाका आधारमा सञ्चालन गरिएको हो। उनले भविष्यमा यस्ता कारबाहीहरू फेरि पनि हुन सक्ने सम्भावनालाई अस्वीकार गरेनन्। आक्रमणको समयलाई लिएर उठेका प्रश्नमा उनले बिहीबार राति गरिएको कारबाहीको क्रिसमससँग कुनै सम्बन्ध नरहेको बताए।
नाइजेरियाले लामो समयदेखि बोको हराम र इस्लामिक स्टेटसँग आबद्ध विभिन्न समूहविरुद्ध संघर्ष गर्दै आएको छ, तर ती समूहहरूको मुख्य गतिविधि प्रायः उत्तर–पूर्वी क्षेत्रमा केन्द्रित रहँदै आएको थियो। पछिल्ला वर्षहरूमा भने ‘लकुरावा’ नामले चिनिने सशस्त्र समूहले उत्तर–पश्चिमी सोकोटो राज्यमा आधार जमाउने प्रयास गरेको सुरक्षा निकायहरूले जनाएका छन्। शुक्रबार बिहान नाइजेरियाको परराष्ट्र मन्त्रालयले अमेरिका लगायत अन्तर्राष्ट्रिय साझेदारसँग सुरक्षा सहकार्य भइरहेकै कारण उत्तर–पश्चिमी क्षेत्रमा आतङ्कवादी लक्ष्यहरूमा सटीक हवाई आक्रमण सम्भव भएको जनाएको छ।
अमेरिकी सेनाले प्रारम्भिक मूल्याङ्कनमा सोकोटो राज्यमा “धेरै” हताहती भएको संकेत दिएको छ। टान्गाजा स्थानीय सरकार क्षेत्रका अध्यक्ष इसा सालिहु बशिरले बीबीसीलाई बताएअनुसार लकुरावाका केही आतङ्कवादी क्याम्पहरूमा आक्रमण भएको र धेरै लडाकुहरू मारिएका छन्, यद्यपि ठ्याक्कै संख्या पुष्टि हुन सकेको छैन। उनले नाइजरतर्फको सीमामा खटिएका सुरक्षाकर्मीहरूले आक्रमणपछि लकुरावाका लडाकुहरू भाग्दै गरेको देखेको जानकारीसमेत दिएका छन्।
यसैबीच, सोकोटो राज्यकै दक्षिणतर्फ पर्ने जाबो सहर नजिकै बिहीबार अर्को आक्रमण भएको थियो, तर त्यहाँ हताहतीको कुनै विवरण नआएको स्थानीय बासिन्दाहरूले बताएका छन्। प्रत्यक्षदर्शी उमर जाबोका अनुसार आकाशमा विमानजस्तो वस्तु चम्किएर खेततर्फ खसेको देखिएको थियो। उनले उक्त क्षेत्रमा इस्लामिक स्टेटको गतिविधि नभएको र इसाइ–मुस्लिम समुदायबीच शान्तिपूर्ण सहअस्तित्व रहेको बताए।
डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले यसअघि पनि नाइजेरियाली सरकारले इसाइ समुदायलाई पर्याप्त सुरक्षा दिन नसकेको आरोप लगाउँदै आएको छ र धार्मिक स्वतन्त्रताको गम्भीर उल्लङ्घन गर्ने देशको सूचीमा नाइजेरियालाई राखेको छ। यही आधारमा अमेरिकाले नाइजेरियालाई “विशेष चिन्ताको देश” को रूपमा वर्गीकृत गरेको छ। नोभेम्बर महिनामा अमेरिकी सेनालाई नाइजेरियामा हस्तक्षेपको तयारी गर्न आदेशसमेत दिइएको थियो। त्यसबेला नाइजेरियाका राष्ट्रपति बोला टिनुबुका सल्लाहकारले आतङ्ककारी आक्रमणहरू सबै धर्मका नागरिकलाई लक्षित भएको र कुनै पनि अमेरिकी सैन्य कारबाही संयुक्त रूपमा हुनुपर्ने बताएका थिए।
नाइजेरिया करिब २२ करोड जनसंख्या भएको अफ्रिकाकै सबैभन्दा धेरै जनसंख्या भएको देश हो, जहाँ इसाइ र मुस्लिम जनसंख्या लगभग बराबर छ। क्रिसमसको दिन सामाजिक सञ्जालमार्फत आक्रमणको पुष्टि गर्दै डोनाल्ड ट्रम्पले “कट्टर इस्लामी आतङ्कवादलाई फस्टाउन नदिने” चेतावनी दिएका छन्। अमेरिकी रक्षा सचिव पिट हेगसेथले नाइजेरियाली सरकारको सहयोग र सहकार्यप्रति आभार व्यक्त गरेका छन्।
विश्लेषकहरूका अनुसार बोको हराम र इस्लामिक स्टेटसँग आबद्ध समूहहरूले उत्तर–पूर्वी नाइजेरियामा एक दशकभन्दा बढी समयदेखि हिंसा मच्चाउँदै आएका छन् र हजारौँ मानिसको ज्यान लिएको छ। राजनीतिक हिंसा विश्लेषण गर्ने संस्था एक्लेडका अनुसार ती हिंसाका अधिकांश पीडित मुस्लिम समुदायका रहेका छन्। मानवअधिकार वकिल तथा द्वन्द्व विश्लेषक बुलामा बुकाटीका अनुसार लकुरावा समूह सन् २०१८ तिर नाइजेरियामा प्रवेश गरेको र पछिल्ला डेढ–दुई वर्षमा सोकोटो तथा केब्बी राज्यमा क्याम्प स्थापना गरी स्थानीय बासिन्दामाथि सामाजिक नियम जबर्जस्ती लागू गर्दै आक्रमण बढाइरहेको छ।
नाइजेरियामा गरिएको यो आक्रमण पछिल्ला हप्ताहरूमा इस्लामिक स्टेटविरुद्ध गरिएको दोस्रो ठूलो अमेरिकी सैन्य कारबाही हो। यसअघि अमेरिकाले सिरियामा इस्लामिक स्टेटका ७० भन्दा बढी लक्ष्यमा व्यापक आक्रमण गरेको थियो, जसमा लडाकु विमान, आक्रमण हेलिकप्टर र तोपखाना प्रयोग गरिएको थियो। उक्त कारबाही तीन अमेरिकी नागरिक—दुई सैनिक र एक नागरिक अनुवादक—को हत्या भएको घटनापछि प्रतिशोधस्वरूप गरिएको अमेरिकी सेनाले जनाएको थियो।
प्रतिक्रिया