अमेरिकाका राष्ट्रपति Donald Trump को दोस्रो कार्यकालमा हस्ताक्षर भएको पहिलो कानुन लेकन राइली ऐन कार्यान्वयनपछि सन् २०२५ भित्र मात्रै १७ हजार ५ सयभन्दा बढी अवैध आप्रवासीहरू पक्राउ परेका छन्। ती व्यक्तिहरू चोरी, मादक पदार्थ सेवन गरी सवारी चलाएको (DUI/DWI) तथा हत्या, बलात्कार, यौन दुर्व्यवहार, प्रहरीमाथि आक्रमण र अवैध हतियारसम्बन्धी गम्भीर अपराधमा संलग्न रहेको आरोपमा अनिवार्य हिरासतमा राख्नुपर्ने श्रेणीमा परेका हुन्।
यो ऐन जर्जियाकी कलेज विद्यार्थी लेकन राइलीको नाममा राखिएको हो। राइलीको हत्या भेनेजुएलाका एक अवैध आप्रवासीबाट भएको थियो, जो यसअघि पक्राउ परेर पनि रिहा गरिएको थियो। उक्त घटनापछि बनेको ऐनले दोषी ठहर भइसकेको नहुँदै पनि निश्चित प्रकारका अपराधमा पक्राउ परेका अवैध आप्रवासीलाई आप्रवासन निकायको नियन्त्रणमा राख्नुपर्ने व्यवस्था गरेको छ।
अमेरिकी गृह सुरक्षा मन्त्रालयकी सचिव Kristi Noem ले लेकन राइलीको सम्झनामा सुरु गरिएको दुई साता लामो विशेष अभियान “अपरेसन एन्जल्स अनर” सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएकी छन्। उनका अनुसार उक्त अभियानअन्तर्गत दैनिक दर्जनौँको संख्यामा आपराधिक पृष्ठभूमि भएका अवैध आप्रवासीहरू पक्राउ परे, र दुई सातामै एक हजारभन्दा बढी व्यक्ति नियन्त्रणमा लिइए।
नोएमले यस सफलताका लागि राष्ट्रपति ट्रम्पलाई श्रेय दिँदै, विगतका प्रशासनले भित्री भूभागसम्म छोडिएका आपराधिक अवैध आप्रवासीमाथि कारबाही गर्न आफ्नो निकायलाई पूर्ण अधिकार र स्रोत उपलब्ध गराइएको बताइन्। “हामी लेकनलाई फर्काउन सक्दैनौँ, तर यस्ता घृणित अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन सक्दो प्रयास गर्न सक्छौँ,” उनको भनाइ थियो।
अभियानका क्रममा पक्राउ परेकामध्ये क्युबाका सर्जियो लुइस हर्नान्डेज गोन्जालेज चोरीका १७ मुद्दा, कोकिन बिक्रीका दुई मुद्दा, सवारी चोरीलगायत अपराधमा दोषी ठहर भइसकेका थिए। कोलम्बियाका जेर्सन आन्द्रे पोभेदा डेल्गाडो प्रहरीमाथि आक्रमणको मुद्दामा दोषी थिए। डोमिनिकन गणतन्त्रका यासेर गार्सिया रामिरेज लागुऔषध (हेरोइन) उत्पादन तथा वितरण षड्यन्त्र, घरेलु हिंसा र कानुन कार्यान्वयनमा अवरोधका आरोपमा दोषी ठहर भएका थिए।
ग्वाटेमालाका सान्तोस चिम–डिएगो प्रहरीमाथि आक्रमण, DUI र बाल क्रूरता अभियोगमा दोषी थिए भने इराकी नागरिक हमिद अब्दुलइमाम अल नास्सार नाबालिकासँग सम्बन्धित वेश्यावृत्ति, लागुऔषध, ठगी, वित्तीय अनियमितता र गम्भीर आक्रमणका मुद्दामा दोषी ठहर भएका थिए। यसैगरी जमैकाका नाथानियल स्टर्लिङ यौन दुर्व्यवहार, हतियार राखेको र अव्यवस्थित आचरणका कारण पक्राउ परे। मेक्सिकाका ओमार बारोजास–एरेनास अपहरणमा दोषी थिए भने भेनेजुएलाका जोरबी जोएल एस्कुराइना–सुआरेज हतियारसहितको गम्भीर आक्रमणमा दोषी ठहर भएका थिए।
गृह सुरक्षा मन्त्रालय र Department of Homeland Security अन्तर्गतको Immigration and Customs Enforcement ले ऐनको कडाइपूर्वक कार्यान्वयनलाई सुरक्षा दृष्टिले ठूलो उपलब्धि भनेका छन्। तर मानवअधिकार र आप्रवासन क्षेत्रका केही संस्थाले भने यस ऐनको आलोचना गरेका छन्। उनीहरूको तर्क छ—दोषी ठहर नभइसकेकै अवस्थामा पनि पक्राउकै आधारमा लामो समय हिरासत र निर्वासन प्रक्रिया अघि बढाइनु कानुनी प्रक्रिया र मौलिक अधिकारविरुद्ध हो।
अमेरिकन इमिग्रेसन काउन्सिलकी नीतिगत निर्देशक नायना गुप्ताले यो कानुनले न त सुरक्षा सुधार्ने न त आप्रवासन प्रणालीको वास्तविक समस्या समाधान गर्ने बताएकी छन्। उनका अनुसार सार्वजनिक सुरक्षालाई बहाना बनाउँदै जोखिम नहुने गैर–नागरिकलाई पनि अनिश्चितकालीन हिरासत र निर्वासनतर्फ धकेलिएको छ, जसले कानुनी प्रक्रियामा गम्भीर क्षति पुर्याएको छ।
Yaser Garcia Ramirez, left inset, and Santos Chim-Diego, right inset, are seen against a backdrop of a Department of Homeland Security operation. (Carlin Stiehl/Getty Images; DHS; DHS)
प्रतिक्रिया