काठमाडौँ । पछिल्ला दिनहरूमा देशको राजनीतिक वृत्त अत्यन्तै तरंगित बनेको छ । विभिन्न दलका शीर्ष नेताहरूका अभिव्यक्ति, चेतावनी र दाबीहरूले आगामी निर्वाचन, सरकारको वैधता, जनआन्दोलन र देशको भविष्यबारे गम्भीर बहस सिर्जना गरिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू देशका लागि जुनसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् । भैरहवाबाट सिधै चितवन पुगेका लामिछानेले शनिबार चितवनको चौबिसकोटीमा आयोजित सभामा सम्बोधन गर्दै देश बन्नु व्यक्तिभन्दा ठूलो कुरा भएको उल्लेख गरे । “मलाई केही चाहिएको छैन । पार्टीले जे निर्णय गर्छ, म तयार छु । चुनाव चिन्ह, झण्डा, पार्टी अफिस, यहाँसम्म कि पार्टीको नेतृत्व नै चाहियो भने पनि लैजानुस् । देश बन्नुपर्यो, व्यक्तिको कुरा ठूलो होइन,” उनले भने ।
लामिछानेले आफू एक चुनावका लागि मात्रै राजनीतिमा नआएको दाबी गर्दै यो लडाइँ एउटा पुस्ताका लागि भएको बताए । मिल्नुपर्ने शक्ति अन्तिम समयमा मिलेरै अघि बढ्ने पनि उनको भनाइ थियो । साथै, उनले सरकारले जसरी पनि तोकिएकै समयमा निर्वाचन गराउन साहस देखाउनुपर्ने बताए । जेनजी आन्दोलनको रगतबाट बनेको सरकारले जेनजीका सपना पूरा गर्नुपर्ने भन्दै रास्वपा सुशासन, जेनजीका माग पूरा गराउने र निर्वाचन सम्पन्न गराउने पक्षमा सरकारसँग उभिने उनले स्पष्ट पारे ।

यसैबीच, बुटवलमा आयोजित आमसभामा श्रम संस्कृति पार्टीका संयोजक तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराई राई (साम्पाङ) ले नेपालको सरकार विदेशीले बनाइदिने र ढालिदिने अवस्थामा पुगेको टिप्पणी गरे । साना–ठूला आयोजनाका लागि विदेशबाट ऋण माग्ने प्रवृत्तिले नेपाल ‘माग्नेहरूको देश’ बनेको र त्यसले विदेशी हस्तक्षेप बढाएको उनको भनाइ थियो । देश गफ र ऋणले नभई श्रम संस्कृतिबाट बन्ने भन्दै उनले हप्तामा छ दिन आफ्नो लागि र एक दिन देशका लागि श्रमदान गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेपाली कम्युनिस्ट पार्टी (माओवादी)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने कुनै पनि तर्क र बहानामा निर्वाचन सार्ने दुस्साहस नगर्न सरकारलाई कडा चेतावनी दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित सन्देश सभामा उनले निर्वाचन फेरि सारिए संविधान मिचिने र त्यसविरुद्ध आफूहरू चुप नबस्ने बताए । छ महिना वा एक वर्ष चुनाव सार्ने हल्ला फैलाइएको भन्दै त्यसो गरिए देश फेरि दुर्घटनामा पर्ने उनको चेतावनी थियो ।
उक्त सभामै नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गर्दै एकपटक देश विकासका लागि मौका दिन जनतालाई आग्रह गरे । गणतन्त्र, संविधान र लोकतान्त्रिक गणतन्त्र स्थापनामा आफ्नो पार्टीले खेलेको भूमिकाको निष्पक्ष मूल्यांकन गर्न उनले चुनौती दिए ।
यता, उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगले बोलाए देश ठप्प पार्ने चेतावनी दिएको अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाएकी छन् । चितवनमा आयोजित जिल्ला भेलामा उनले “देश कुनै कुटी होइन, जसले चाह्यो ठप्प पार्ने” भन्दै ओलीको अभिव्यक्तिले राजनीतिक चेतना र समाजप्रतिको उत्तरदायित्वमाथि प्रश्न उठाएको बताइन् । संविधानको पालना नगर्नेले संविधानको कुरा गर्नु हास्यास्पद हुने उनको टिप्पणी थियो ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पनि प्रधानमन्त्री बनेर देशको सेवा गर्ने चाहना रहेको बताएका छन् । ‘जेनजी’सँगको अन्तरक्रिया कार्यक्रममा उनले आगामी निर्वाचनमा भाग लिने तर तोकिएको मितिमा चुनाव हुनेमा भने शंका व्यक्त गरे । प्रहरी र कर्मचारीको मनोबल गिरेको, लुटिएका हतियार फिर्ता नभएको र स्रोतसाधनको अभाव देखाउँदै उनले सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने धारणा राखे ।
समग्रमा, विभिन्न दलका नेताहरूका यस्ता अभिव्यक्तिले मुलुक गम्भीर राजनीतिक मोडमा पुगेको संकेत गर्छ । निर्वाचन समयमै हुन्छ कि हुँदैन, सरकार कति सक्षम र वैध छ, र जनआन्दोलनबाट उठेका मागहरू कसरी सम्बोधन हुन्छन् भन्ने प्रश्नले देशको राजनीति अझै तातिरहेको देखिन्छ ।
प्रतिक्रिया