
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानले व्यवस्थापन र प्रविधि प्रयोगबारे व्यापक बहस जन्माएको छ । भृकुटीमण्डपमा बुधबार बिहान साढे ९ बजेदेखि सुरु भएको मतदानमा एक मतदाता भोट हाल्न न्यूनतम ९ मिनेटदेखि अधिकतम २ घण्टा ४ मिनेटसम्म लागेको तथ्य सार्वजनिक भएपछि सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा तीव्र प्रतिक्रिया आएको छ ।
मतदान प्रक्रियाको ढिलाइलाई लिएर पार्टी नेतृत्व र व्यवस्थापनमाथि व्यंग्य र आलोचना देखिएको छ । ‘AI को युगमा पनि एक मत हाल्न घण्टौँ लाग्नु एमालेको भविष्य कहाँ पुग्ला ?’ भन्ने किसिमका टिप्पणीहरू सार्वजनिक रूपमा आएका छन् । केही प्रतिक्रियामा नेतृत्वप्रति कटाक्ष गर्दै “अध्यक्ष त पहिल्यै जितिसक्नुभयो, ढुक्क हुनुस्” भन्ने भावसमेत व्यक्त गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार साँझ ५ बजेर २ मिनेटसम्म ८०२ मत खसिसकेको थियो । पार्टीका कुल २ हजार २ सय ६३ जना प्रतिनिधिमध्ये बाँकीले मतदान गर्न लाइनमा टोकन लिएर पर्खिनुपर्ने अवस्था रहेको छ । आयोगका अनुसार मतदान रातभर चल्नेछ र साँझ ८ बजेसम्म टोकन लिएर मतदानस्थल प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
पोखरेलका अनुसार मतदानका लागि प्रयोगमा ल्याइएका ८० वटा ई–भोटिङ मेसिनमा कुनै प्राविधिक खराबी देखिएको छैन । तर मतदातालाई उम्मेदवार चिन्न, सूची हेर्न र छनोट गर्न समय बढी लाग्दा प्रक्रिया अपेक्षाकृत ढिलो भएको उनको भनाइ छ । औसतमा एक मतदाताले ३५ मिनेटभित्र मतदान सक्ने अनुमान गरिएको भए पनि सबै प्रतिनिधिमा समान प्राविधिक दक्षता नहुँदा समय लम्बिएको उनले बताए ।
मतदानस्थलमा लामो समय उभिनुपर्दा केही प्रतिनिधि असिनपसिन भएका र बेहोससमेत भएका घटनाको जानकारी निर्वाचन आयोगले दिएको छ । यद्यपि कति जना र को–को बेहोस भए भन्ने विवरण सार्वजनिक गरिएको छैन । बिरामी वा अशक्त प्रतिनिधिलाई स्वयंसेवक र मेडिकल टिममार्फत सहयोग गरी मतदान गराउने व्यवस्था मिलाइएको आयोगको भनाइ छ ।
शीर्ष नेताहरुलाई समेत मतदान गर्न करिब ४० मिनेट लागेको प्राविधिकहरूले बताएका छन् । अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल, साथै महासचिवका उम्मेदवार शंकर पोखरेल र सुरेन्द्र पाण्डेले पनि लगभग उस्तै समय खर्चेर मतदान गरेका थिए । मतदानको सुरुवात ओली र पोखरेलसहितका शीर्ष नेताहरूले संयुक्त रूपमा गरेका थिए ।
महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । मतदान स्थलमा प्रतिनिधिहरू लामबद्ध भएर पालो कुरिरहेका छन् भने त्यही लाइनमै उम्मेदवारहरू मत माग्दै देखिन्छन् । लामो र थकाइपूर्ण मतदान प्रक्रियाका बीच पनि निर्वाचन आयोगले मतदान निरन्तर जारी रहेको र प्रक्रिया रोकिने अवस्था नरहेको स्पष्ट पारेको छ ।



-1765943458.jpeg)

-1765897178.jpg)
प्रतिक्रिया