काठमाडौँ । नेकपा (एमाले) को महाधिवेशन उद्घाटनदेखि हालसम्मको घटनाक्रमले पार्टीभित्र पुरानै शक्ति संरचना अझै बलियो रूपमा हाबी रहेको संकेत गरेको छ। महाधिवेशनले पार्टी रूपान्तरण, आत्मसमीक्षा र नयाँ दिशा दिने अपेक्षा गरिए पनि सहभागी धेरै नेता–कार्यकर्ता भने निराश देखिन थालेका छन्। उनीहरूको बुझाइमा महाधिवेशन “जसो जसो केपी ओली, उसै उसै एमाले” भन्ने अवस्थाबाट बाहिर निस्कन सकेको छैन।
महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन देशभरिबाट ठूलो धनराशि खर्च गरेर कार्यकर्ता र समर्थकहरू उतारिएको थियो। उपस्थिति संख्यात्मक रूपमा उल्लेख्य नै थियो, यसलाई नकार्न नसकिने अवस्था देखियो। तर उद्घाटनका केही दृश्य र तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक हुँदा कृत्रिम प्रविधि (एआई) प्रयोग गरेर भीड बढाइचढाइ देखाउने प्रयास एमाले ले गर्यो । यसले पार्टीभित्रै विश्वासको संकट थप गहिरिएको सहभागीहरूको भनाइ छ।
महाधिवेशनको औपचारिक सत्रहरूमा केपी शर्मा ओली निकट समूहको प्रभाव सबै निर्णय र गतिविधिमा स्पष्ट देखिएको छ। वरिष्ठ नेता ईश्वर पोखरेलसहित ओलीविरोधी वा आलोचनात्मक धारणा राख्ने नेताहरूलाई सौतेली व्यवहार गरिएको, उनीहरूको भूमिका सीमित गरिएको र निर्णय प्रक्रियाबाट क्रमशः पन्छाइँदै लगिएको गुनासो पार्टीभित्र खुलेरै सुनिन थालेको छ।

महेश बस्नेतको खटन–पटन महाधिवेशनभर कायमै रहेको र संगठन व्यवस्थापनदेखि भीड परिचालन, सन्देश निर्माण र आन्तरिक समन्वयसम्म ओली निकट समूहकै नियन्त्रणमा रहेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ। “हर कुरामा ओली ग्याङ नै हाबी भयो,” भन्ने टिप्पणी महाधिवेशनमा सहभागी धेरै कार्यकर्ताको साझा प्रतिक्रिया बनेको छ।
पार्टी सुध्रिने संकेत नदेखिएको भन्दै पुराना, त्यागी र वैचारिक रूपमा प्रतिबद्ध एमाले कार्यकर्ता चिन्तित देखिएका छन्। उनीहरू भन्छन्, नेतृत्व परिवर्तन, कार्यशैली सुधार र आत्मालोचना गर्ने अवसर महाधिवेशनले दिनुपर्ने थियो, तर त्यो अवसर गुमेको अनुभूति भएको छ। यसले कार्यकर्तामा निराशा सुरु भएको र पार्टीप्रतिको भरोसा कमजोर बन्दै गएको उनीहरूको भनाइ छ।
कतिपय सहभागीले ओलीकै हालीमुहाली यसरी निरन्तर चलिरहे पार्टी क्रमशः संकुचन र समापनतर्फ जान सक्ने खतरा औंल्याएका छन्। “नेता एकजना बलियो हुँदा पार्टी बलियो हुन्छ भन्ने सोचकै कारण एमाले आज यो अवस्थामा पुगेको हो,” एक प्रतिनिधिले प्रतिक्रिया दिए।
यस्तो अवस्था हुँदाहुँदै पनि ओलीको पक्षमा उभिने भीड देखिएको भन्दै वास्तविक एमाले नेता–कार्यकर्ता अझै बढी चिन्तित छन्। उनीहरूका अनुसार भीडको आकार ठूलो देखिए पनि त्यो भीडभित्र गहिरो वैचारिक बहस, असहमतिको सम्मान र पार्टी सुधारको स्पष्ट रोडम्याप भने देखिएको छैन।
महाधिवेशनको बाँकी प्रक्रियाले यी असन्तुष्टि सम्बोधन गर्छ कि उल्टै पार्टीभित्रको दरार थप गहिरिन्छ भन्ने प्रश्न अहिले एमालेभित्र मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमा समेत चासोको विषय बनेको छ।
नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्तावित संरचना तय गरिएको छ। आइतबार सुरु भएको बन्दसत्रमा प्रस्तुत प्रस्तावअनुसार केन्द्रीय कमिटीमा भौगोलिक, सामाजिक र पुस्तागत सन्तुलन कायम गर्ने उद्देश्यसहित समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको छ।
प्रस्तावित संरचनाअनुसार केन्द्रीय कमिटीमा १९ पदाधिकारी रहनेछन्। जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ सचिव रहने व्यवस्था गरिएको छ।
प्रदेशगत प्रतिनिधित्वतर्फ उपत्यकासहित आठै प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशबाट नौ जनाको प्रतिनिधित्व रहनेछ, जसमा पाँच जना खुला, तीन जना महिला र एक जना युवा रहने व्यवस्था गरिएको छ।
यसैगरी, खुला कोटाबाट १२५ जना केन्द्रीय सदस्य चयन हुनेछन्। यस कोटामा ७१ जना खुला, ५२ जना महिला र दुई जना युवा समावेश गरिएको छ।
समावेशी संरचनाअन्तर्गत आदिवासी–जनजातिबाट २५ जना (खुला १५, महिला ८, युवा २), मधेसी समुदायबाट १९ जना (खुला ११, महिला ६, युवा २), दलित समुदायबाट १२ जना (खुला ७, महिला ४, युवा १), थारु समुदायबाट आठ जना (खुला ५, महिला ३), मुस्लिम समुदायबाट पाँच जना (खुला ४, महिला १) रहने प्रस्ताव गरिएको छ।
त्यसैगरी प्रवासतर्फ भारतबाट एक र अन्य देशबाट एक गरी दुई जना, श्रमिकतर्फ तीन जना (खुला २, महिला १), अपाङ्गता भएका व्यक्तितर्फ एक जना, पिछडिएको क्षेत्रबाट दुई जना (खुला १, महिला १) तथा सम्पर्क समन्वय कमिटीबाट दुई जना (खुला १, महिला १) केन्द्रीय कमिटीमा समेटिनेछन्।
एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रस्तावित संरचनाले पार्टीभित्र भौगोलिक, सामाजिक र पुस्तागत सन्तुलन कायम गर्दै समावेशी नेतृत्व निर्माणको आधार तयार गर्ने लक्ष्य लिएको बताए।
बन्दसत्रमै वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दाबेदार ईश्वर पोखरेलले ११औँ महाधिवेशनले पार्टीभित्र एकताको स्पष्ट सन्देश दिनुपर्ने धारणा राखेका छन्। आफ्नो अवधारणा प्रस्तुत गर्दै उनले पाँचौँ महाधिवेशनको स्मरण गर्दै फरक मतको संरक्षण र सम्मान नै पार्टीको ऐतिहासिक शक्ति भएको उल्लेख गरे।
पोखरेलले पार्टी सञ्चालनका क्रममा बाह्य षड्यन्त्रलाई मात्र दोष दिएर आत्मसमीक्षा नगर्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै पार्टी विभाजनका कारणबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए। उनले २०७१ सालमा केपी शर्मा ओली अध्यक्ष बनेपछि पार्टी जीवनको लोकतान्त्रीकरण, जबज, उमेर हद र दुई कार्यकालजस्ता विषयमा लेखिएको पुस्तक पुनः अध्ययन गर्न आग्रह गर्दै ती विषय आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।
१०औँ महाधिवेशनपछि पार्टीभित्र उत्पन्न समस्याबारे आत्मसमीक्षा हुन नसकेको उल्लेख गर्दै पोखरेलले आन्तरिक कमजोरी नै निर्णायक कारण भएको स्वीकार गर्नुपर्ने धारणा राखे। “नीति र विधानमा समस्या छैन, तर नीति र व्यवहारबीच गम्भीर अन्तर देखियो,” उनले भने।
पोखरेलले एमाले ऐतिहासिक आन्दोलनको नेतृत्व गर्ने पार्टी भएकाले नीति र विधानअनुसार नहिँडे आजको कार्यशैलीले क्रान्तिकारी यात्रामै अवरोध सिर्जना गर्ने चेतावनी दिए। अध्यक्ष केपी शर्मा ओलीले धारणा राखिसकेपछि पोखरेलले पनि बन्दसत्रलाई सम्बोधन गरेका हुन्।
उनको सम्बोधनपछि केन्द्रीय कमिटी बैठकका निर्णय अनुमोदन तथा निर्वाचनसम्बन्धी कार्यतालिका पेस गरिने एमालेले जनाएको छ। आइतबार दिउँसो सुरु भएको बन्दसत्रमा २ हजार २६२ प्रतिनिधि सहभागी छन्। सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको र सहमति हुन नसके मंगलबार विद्युतीय मतदान मेसिनमार्फत निर्वाचन हुने पार्टीले जनाएको छ।
यसैबीच, एमालेले ४० वर्ष मुनिका युवाका लागि केन्द्रीय कमिटीमा करिब पाँच प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ। प्रस्तावित संरचनाअनुसार आठै प्रदेशबाट एक–एक जना गरी आठ युवा आउनेछन्। खुला कोटाबाट दुई, आदिवासी–जनजातितर्फ दुई, मधेसीतर्फ दुई र दलिततर्फ एक जना युवा प्रतिनिधि चयन हुनेछन्। यसरी ३०१ सदस्यीय केन्द्रीय कमिटीमा जम्मा १५ जना युवा रहनेछन्, जुन करिब ४.९८ प्रतिशत हो।
पोलिटब्यूरो सदस्य महेश बस्नेतले युवाका लागि पाँच प्रतिशत कोटा सुनिश्चित गरिएको जानकारी दिए। यद्यपि केन्द्रीय कमिटीमा १० देखि १५ प्रतिशतसम्म युवाको सहभागिता हुनुपर्ने माग पार्टीभित्र उठ्दै आएको छ। गत शुक्रबार बसेको सचिवालय बैठकमा सचिव योगेश भट्टराईले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवा कोटा छुट्याउनुपर्ने प्रस्तावसमेत राखेका थिए।



प्रतिक्रिया