निजामती सेवाको सर्वोच्च तह मुख्य सचिवका लागि हाल १४ जना सचिवबीच प्रतिस्पर्धा सुरु भएको छ। तत्कालीन मुख्य सचिव एकनारायण अर्याल ५८ वर्ष उमेरहदका कारण मंसिर ९ गते अनिवार्य अवकाशमा जाँदैछन्, र उनी अवकाशमा जाने तयारीसँगै नयाँ मुख्य सचिवका लागि दौडधुप तीव्र बनेको हो। करिब डेढ लाख कर्मचारीको नेतृत्व गर्ने मुख्य सचिव पदका आकांक्षी विभिन्न मन्त्रालयका सचिवहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटघाट गर्दै आ–आफ्नो योग्यता, अनुभव र क्षमताबारे ब्रिफिङ गरिरहेका छन्। केही सचिवले प्रत्यक्ष भेटेर आफ्नो दाबी प्रस्तुत गरेका छन् भने केहीले वर्तमान मुख्य सचिव अर्यालमार्फत सन्देश पुर्याएका छन्। अर्याललाई २०७८ भदौ १३ गते तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले मुख्य सचिवमा बढुवा गरेको थियो। जेनजी आन्दोलनका क्रममा उनीविरुद्ध आवाज उठे पनि कार्की नेतृत्वको सरकारले उनलाई हटाउन चाहेन।
नयाँ मुख्य सचिवका प्रमुख दाबेदारमा सुमनराज अर्याल, प्रमिलादेवी बज्राचार्य, मधुसुदन बुर्लाकोटी, खगेन्द्रप्रसाद नेपाल, रामप्रसाद घिमिरे, किरणराज शर्मा लगायतका सचिवको नाम अगाडि आएको छ। गृह सचिव गोकर्णमणि दुवाडी पनि प्रतिस्पर्धामा रहेका भए पनि जेनजी आन्दोलनताका परिचालनमा चुकिएकाले उनको सम्भावना न्यून देखिन्छ। मुख्य सचिव नबने दुवाडी पनि अर्यालसँगै अवकाशमा जाने छन्। सचिवहरूको वरीयतामा दोस्रो नम्बरमा रहेका सुमनराज अर्याललाई प्रबल दाबेदार मानिएको छ। उनी हाल रक्षा मन्त्रालयको सचिव हुन्। नेपाल प्रहरीमा एआइजी दानबहादुर कार्की वरीयतामा पहिलो नम्बरका भएर नै आइजी बनेको नजिर निजामतीमा पनि लागू भए अर्याल मुख्य सचिव बन्ने सम्भावना बलियो देखिन्छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार सरकार कर्मचारीको सरुवा–बढुवामा विवादमा पर्न नचाहेकाले मेरिटमै आधारित निर्णय हुने संकेत पाइएको छ। २०७७ माघ १९ मा सचिव बनेका अर्याल मुख्य सचिव भए करिब आठ महिना अर्थात् २०८३ असार २५ सम्म निजामती सेवाको नेतृत्व गर्नेछन्। २०२५ असार २६ मा काठमाडौं जोरपाटीमा जन्मिएका उनले कोसी प्रदेश सरकार, महालेखा नियन्त्रक, महिला तथा बालबालिका मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग र रक्षा मन्त्रालयमा सचिवका रुपमा काम गरिसकेका छन्। पहिलो वरीयतामा रहेका सचिव भरतमणि सुवेदीले राजीनामा दिएपछि अर्यालको सम्भावना झनै प्रबल बनेको हो।
खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्य पनि मुख्य सचिव पदकी आकांक्षी हुन्। २०७८ असार १७ मा प्राविधिकतर्फ सचिव बनेकी उनले महिला प्रधानमन्त्रीको कार्यकालमा मुख्य सचिव बन्ने चाहना राखेकी छन्। त्यस्तै, राष्ट्रिय तथ्यांक कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी पनि दाबेदारका रुपमा छन्। २०७८ असार २१ मा सचिव भएका बुर्लाकोटी मुख्य सचिव भए करिब एक वर्ष सेवा अवधि रहनेछ। २०२५ भदौ २७ मा धादिङमा जन्मिएका बुर्लाकोटी स्वभावले सीधा र स्पष्ट छन्। उनले यातायात क्षेत्र सुधार गर्न खोज्दा सरुवा भएको थियो। स्वास्थ्य तथा जनसंख्या, वाणिज्य तथा आपूर्ति, उपराष्ट्रपति कार्यालय, सार्वजनिक खरिद अनुगमन, प्राकृतिक स्रोत तथा वित्त आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सुदूरपश्चिम सरकारका प्रमुख सचिवका रुपमा समेत काम गरिसकेका छन्।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे पनि दाबेदार छन्, तर उनलाई ५८ वर्ष उमेरहदका कारण आगामी फागुन १० मा अनिवार्य अवकाश लग्ने भएकाले सम्भावना न्यून छ। किरणराज शर्मा भने २०८३ साउनमा अवकाशमा जाने भएकाले, अहिले अर्याल मुख्य सचिव बनेपछि भावी मुख्य सचिवको सम्भावना उनलाई देखिएको छ। तर उनीमाथि विदेशी पीआर लिएको आरोप लागेको छ। त्यस्तै गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, गोपाल सिग्देल, रविलाल पन्थ, कृष्णबहादुर राउत, रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौला पनि प्रतिस्पर्धामा रहेका नाम हुन्।
मुख्य सचिव निजामती प्रशासनको प्रमुख मात्र नभई सरकारकै शीर्ष कार्यकारी संयोजक हो। उनी सरकार र संसद्, सरकार र न्यायपालिका तथा सरकार र कर्मचारीबीच महत्वपूर्ण पुलको काम गर्छन्। यही कारण मुख्य सचिव नियुक्ति अत्यन्त संवेदनशील मानिन्छ। यस पदमा प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा काम गर्न सहज हुने, प्रशासनिक अनुभव र क्षमता सम्पन्न व्यक्तिलाई चुनिरहेका हुन्छन्। मन्त्रिपरिषद्का बैठक बोलाउने, अजेन्डा तयारी, निर्णय लेख्ने, प्रमाणीकरण गर्ने, मन्त्रालयहरूले पेश गरेका प्रस्ताव परिमार्जन गर्ने र मन्त्रिपरिषद्मा लैजानुअघि प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने जिम्मेवारी मुख्य सचिवकै हो। लामो प्रशासनिक अनुभव भएकाले मुख्य सचिव प्रधानमन्त्रीको घनिष्ठ नीतिगत सल्लाहकार पनि मानिन्छ।
प्रतिक्रिया