काठमाडौँ । नेपाल चलचित्र निर्माता संघको १९औँ वार्षिक साधारण सभा तथा कार्यसमिति निर्वाचन सम्पन्न भएको छ। राजधानी काठमाडौँमा सम्पन्न साधारण सभाले आगामी कार्यकालका लागि संघको नयाँ नेतृत्व चयन गरेको हो। नेपाली चलचित्र उद्योगमा दीर्घकालीन सुधार, पारदर्शिता र संस्थागत सुदृढीकरणका अपेक्षासहित सम्पन्न भएको यस निर्वाचनलाई उद्योगका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।
निर्वाचन समितिद्वारा सार्वजनिक नतिजाअनुसार संघको नेतृत्व उदय सुब्बाले गरेका छन्। सुब्बा अध्यक्षमा विजयी भएका छन्। केही पदहरू प्रतिस्पर्धामार्फत, र केही सर्वसम्मत तथा निर्विरोध रूपमा चयन हुँदा नयाँ कार्यसमितिले पूर्णता पाएको छ।
अध्यक्ष : उदय सुब्बा (निर्वाचित)
उपाध्यक्ष : ज्योतिराज राई र रौनकविक्रम कँडेल (सर्वसम्मत)
महासचिव : खगेन्द्रप्रसाद लामिछाने (निर्वाचित)
सचिव : युवराज गिरी (निर्वाचित)
कोषाध्यक्ष : रामप्रसाद रिजाल (निर्विरोध)
श्रीधर पौडेल
चुम्बनजंग शाही
टंकबहादुर बुढाथोकी
घनेन्द्र थपलिया
मनोजकुमार अधिकारी
राजकुमार पण्डित
प्रवीण कार्की
साधारण सभामा बोल्ने वक्ताहरूले चलचित्र उद्योगले सामना गरिरहेका चुनौती, राष्ट्रिय–अन्तर्राष्ट्रिय बजार विस्तार, डिजिटल अधिकार संरक्षण, पारिश्रमिक संरचना, सरकारी नीतिगत अवरोध, प्राविधिक विकास, कलाकार–निर्माता सम्बन्ध, कॉपीराइट सुरक्षा लगायतका मुद्दामा संघले आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए।
नवनिर्वाचित पदाधिकारीहरूले चलचित्र उद्योगमा पारदर्शिता, सहकार्य र सुदृढ संस्थागत व्यवस्थाका लागि प्रतिबद्धता व्यक्त गरे। उनीहरूले फिल्म उद्योगलाई प्रतिस्पर्धी र विश्वसनीय बनाउन, युवा निर्मातालाई क्षमता विकासमा सहयोग गर्न तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रको पहिचान बढाउन सक्रिय भूमिका निभाउने घोषणा गरे। उद्योगका लागि महत्वपूर्ण मानिएको यो निर्वाचनले नेपाली चलचित्र क्षेत्रलाई सकारात्मक ऊर्जा र नयाँ दिशानिर्देश प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ। नयाँ नेतृत्व अब छिट्टै कार्ययोजना सार्वजनिक गर्दै आगामी कार्यक्रमको रूपरेखा तय गर्ने तयारीमा रहेको छ।
यसैबीच, नयाँ नेतृत्व चयन भएको अवसरमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको तर्फबाट अध्यक्ष, बरिस्ठ लोक गायक तथा नेपाली कला–संस्कृतिप्रति समर्पित व्यक्तित्व रामप्रसाद खनालले विशेष शुभकामना व्यक्त गरेका छन्। “नेपाल चलचित्र निर्माता संघको १९औँ वार्षिक साधारण सभा तथा कार्यसमिति निर्वाचनबाट संघको नेतृत्वमा चयन हुनुभएका सबै निर्माता मित्रहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक शुभकामना !”
* रामप्रसाद खनाल,
अध्यक्ष, अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका समस्त परिवार
* मानार्थ सदस्य, नेपाल चलचित्र कलाकार संघ
प्रतिक्रिया