भारतको प्रसिद्ध र पीढी–पीढीलाई प्रभावित पारेको अमर चित्र कथा कॉमिक्स प्रकाशन गृहमा भएको ठूलो आगलागीले अनमोल मौलिक चित्रकला र पुस्तकहरूको विशाल संग्रह नष्ट भएको छ। १ अक्टोबरमा महाराष्ट्रको भिवान्दीस्थित कम्पनीको गोदाममा विद्युत् सर्टको कारण लागेको भनिएको आगो चार दिनपछि मात्र नियन्त्रणमा ल्याइयो। तर तबसम्म क्षति अपूरणीय भइसकेको थियो। प्रकाशन संस्थाका अनुसार अमर चित्र कथा र यसको सह–प्रकाशन टिङ्कलका करिब ६ लाख पुस्तक, विशेष संस्करण बक्स–सेट, र अन्य सामग्री जलेर नष्ट भएका छन्। सबैभन्दा ठूलो क्षति भने १९६० र १९७० को दशकका करिब २०० भन्दा बढी मौलिक हस्त–चित्र (original hand-drawn illustrations) जलेर हराउनु हो, जुन डिजिटल प्रतिले जति प्रतिस्थापन गरे पनि कलात्मक मूल मूल्य को क्षतिपूर्ति हुन नसक्ने संग्रहकर्ताहरू बताउँछन्।
अमर चित्र कथाका मार्केटिङ प्रमुख दामिनी बाथम ले भनिन्: “यी मौलिक चित्रहरू हामीले कहिल्यै बिक्रीमा राखेनौं। तिनीहरू अमूल्य थिए, इतिहास थिए। हामीसँग डिजिटल प्रतिलिपि छन्, तर मौलिक कागजमा बनेका तस्बिरहरूको मूल्य शब्दमा नापिँदैन।”
अमर चित्र कथा १९६७ मा भारतीय कथाहरू–पुराण, धार्मिक आख्यान, इतिहास र लोककथाहरूलाई सरल भाषा र आकर्षक चित्र मार्फत बालबालिकामा रुचि र ज्ञान जगाउनको उद्देश्यले सुरू भएको थियो।
यसका संस्थापक अनन्त पाई ले दिल्लीमा क्विज कार्यक्रम हेर्दा सहभागीहरूलाई युनानी पुराणबारे सबै थाहा तर भारतीय रामायण–महाभारतबारे असमर्थ देखेपछि “भारतीय कथाहरूलाई बालबच्चासम्म पुर्याउन” यो अभियान सुरू गरेका थिए।
१९७० मा प्रकाशित कृष्ण कथाको विशेष संस्करणबाट अमर चित्र कथा देशभर लोकप्रिय बन्न थाल्यो। यसका प्रमुख कलाकार राम वाईरकर को आकर्षक र अभिव्यक्तिपूर्ण चित्रकला शैलीले यसलाई पहिचान दियो। पछि रामायण, बौद्ध कथा, महाभारत, शिवाजी, अशोक, चाणक्य, शाकुन्तला, सावित्री आदि विषयमा सयौँ अंक प्रकाशित भए।
यसै संग्रहमा रहेको टिङ्कल बाल–पत्रिका (१९८० देखि) ले सुप्पन्दी, शिकारी शम्भु जस्ता पात्रमार्फत बालबालिकालाई रमाइलो र कल्पनाशील संसारसँग जोड्ने काम गर्यो।
कम्पनी अनुसार, अमर चित्र कथा र टिङ्कल आज पनि
इङ्ग्लिश, हिन्दी, तमिल, मलयालम, बंगालीसहित धेरै भाषामा प्रकाशित हुन्छन्,
प्रति वर्ष ४.५ मिलियन मुद्रित प्रतिहरू बिक्छन्,
र डिजिटल ऐपमार्फत ५००,000 भन्दा बढी नियमित पाठक छन्।
सम्पादक रीना पुरी ले भने: “हामी १९९४ मा पनि यस्तै आगलागीबाट उठेका थियौं। पाठकहरूको माया छ, टोलीको उत्साह छ – फेरि पनि हामी राखबाट फिनिक्सझैँ उठ्नेछौं।” तर कला–इतिहासका प्रेमीहरूको पीडा गहिरो छ।
कुनै प्रदर्शनीमा मौलिक चित्रहरूमार्फत कलाकारहरूलाई प्रत्यक्ष देखाउने सम्भावना अब छैन।
प्रसिद्ध चित्रकार आलोक निरन्तर ले दुःख व्यक्त गर्दै भने: “डिजिटल प्रतिले कहिल्यै मौलिक कागजको आत्मा पुनः सिर्जना गर्न सक्दैन। अब नयाँ पुस्ताले यी कलाकृतिहरू सीधै आँखाले देखेर अनुभव गर्ने अवसर गुमायो।”
प्रतिक्रिया