अमेरिकामा हाल चलेको सरकार बन्द (Government Shutdown) निरन्तर रहँदा आगामी दिनहरूमा ४० ठूला विमानस्थलहरूमा हवाई उडानमा १० प्रतिशतसम्म कटौती गर्नुपर्ने भएको छ। यसका कारण धेरै हजार उडान रद्द हुनुका साथै यात्रुहरूले ठूलो असर भोग्नुपर्ने अमेरिकी यातायात सचिव सन डफीले चेतावनी दिएका छन्।
फेडरल बजेटमा सहमति नजुटेका कारण १.४ मिलियनभन्दा बढी संघीय कर्मचारीहरू तलब बिना काम गर्न वा घरमै बस्न बाध्य छन्। त्यसमा एयर ट्राफिक कन्ट्रोलर देखि राष्ट्रिय पार्ककर्मी सम्म परेका छन्। तलब रोकिनु र लामो समयसम्म अतिरिक्त कामको दबाबका कारण एयर ट्राफिक कन्ट्रोलरहरू थकित र मानसिक तनावग्रस्त बनेका छन्, जसले उडान सुरक्षामा खतरा बढाएको फेडरल एभियसन प्रशासन (FAA) ले बताएको छ।
FAA प्रमुख ब्रायन बेडफोर्डका अनुसार उडान कटौती क्रमशः लागू हुनेछ— शुक्रबारदेखि ४% कटौती, शनिबार ५%, आइतबार ६%, र अर्को हप्तादेखि १०% कटौती।
यसको सूची बिहीबार औपचारिक रूपमा सार्वजनिक हुनेछ, तर अमेरिकी सञ्चारमाध्यमले प्रभाव पर्ने प्रमुख विमानस्थलहरूमा अटलान्टा हर्ट्सफिल्ड–ज्याक्सन, न्युयोर्क JFK, शिकागो ओ’हेयर, वाशिङ्टन नेशनल, लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थल लगायतका भीडभाडयुक्त केन्द्रहरू रहेको जनाएको छ।
उडान रद्द तथा ढिलाइको संख्याले दैनिक ३,५०० देखि ४,००० उडान प्रभावित पार्न सक्छ। यसले मुख्यतः घरेलु उडानलाई असर गर्नेछ भने अन्तर्राष्ट्रिय उडानहरू फिलहाल सामान्य रहने बताइएको छ।
कति कर्मचारीहरू तनावका कारण बिरामी परेका छन् भने कति जीवन धान्न दोस्रो काम गर्न बाध्य छन्। एक कन्ट्रोलरले भने—“मसँग काममा जान कारमा पेट्रोल हाल्ने पैसा पनि छैन।”
कति कन्ट्रोलरहरूले दिनभरी उडान नियन्त्रणको काम गरी रातमा DoorDash जस्ता डेलिभरी काम गर्दै दुई-दुई घण्टा मात्र सुतिरहेको बताएको छ।
डकफीले केही दिन अघि चेतावनी दिएका थिए कि स्टाफ कमी का कारण धेरै विमानस्थलमा उडान रोकावट देखिन सक्ने अवस्था झनै गम्भीर हुँदै गएको छ। विमान कम्पनीहरूले भने यात्रुलाई आफू बस्ने उडानबारे अद्यावधिक विवरण चाँडै उपलब्ध गराइने बताउँदै सम्भव भएसम्म यात्रा परिवर्तन वा फिर्ता बिना शुल्क गर्न मिल्ने व्यवस्था गर्ने बताएका छन्।
सरकार बन्द जारी रहे हवाई सेवा थप अस्तव्यस्त हुने र आर्थिक क्षति बढ्ने निश्चित देखिएको छ। समाधान भने कांग्रेसमा बजेट सम्झौतामा निर्भर छ — जुन हालसम्म टाढैको विषय जस्तै देखिएको छ।
प्रतिक्रिया