भर्जिनिया/ पूर्व डेमोक्र्याट सांसद तथा सीआईए अफिसर एबिगेल स्पानबर्गर भर्जिनियाको नयाँ गभर्नर चुनिएकी छन्। यससँगै उनी भर्जिनियाको पहिलो महिला गभर्नर बन्नेछिन्। स्पानबर्गरले रिपब्लिकन उप–गभर्नर विन्सोम अर्ल–सियर्सलाई पराजित गरिन्। चुनावी अभियानमा उनले जीवनयापन महँगो हुँदै गएको, सरकारी रोजगार कटौती र लामो समयदेखि जारी संघीय सरकार ‘शटडाउन’ ले भर्जिनियाका ३ लाखभन्दा बढी सरकारी कर्मचारीमा परेको असर जस्ता स्थानीय मुद्दालाई प्रमुख बनाइन्।
यद्यपि अर्ल–सियर्सलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले खुला समर्थन नदिए पनि स्पानबर्गरले उनलाई “ट्रम्प नजिककी नेतृ” भनेर प्रचार गर्दै मतदातालाई आकर्षित गरिन्। यस विजयसँगै भर्जिनियामा अहिलेको रिपब्लिकन गभर्नर ग्लेन यङ्किनको कार्यकाल समाप्त हुँदैछ, र यसले ट्रम्प प्रशासनको दोस्रो चरणमा डेमोक्र्याटहरूलाई नयाँ राजनीतिक हौसला प्रदान गरेको छ। यससँगै डेमोक्र्याटिक पार्टीको मध्यमार्गी धारा थप मजबुत भएको छ। स्पानबर्गर र न्यू जर्सीमा जित हासिल गरेकी मिक्की शेरिल दुवैलाई डेमोक्र्याटिक नेतृत्वले ‘स्विङ’ राज्यहरूमा जित्ने फॉर्मुला मानिरहेको छ — राष्ट्रिय सुरक्षा, व्यावसायिक पृष्ठभूमि र व्यावहारिक राजनीति।
डेमोक्र्याटहरूको ‘क्लिन स्वीप’
यस वर्ष भर्जिनियाका सबै तीन प्रमुख संवैधानिक पदमा डेमोक्र्याटहरूले विजय हासिल गरे।
– गजाला हस्मी उप–गभर्नर बन्नेछिन् उनी अमेरिकाको कुनै पनि राज्यमा निर्वाचित हुने पहिलो मुस्लिम महिला उप गभर्नर हुन लागेकी छिन्।
– एटर्नी जेनरलमा जय जोन्स विजयी भए।
४६ वर्षीया स्पानबर्गर तीन सन्तानकी आमासमेत हुन्। राजनीति प्रवेश गर्नु अघि उनी कानून कार्यान्वयन र सिआइएमा सेवा गरिसकेकी हुन्। उनले २०१८ मा भर्जिनियाको ७औं निर्वाचन क्षेत्रमा चुनाव जितेर प्रतिनिधि सभा पुगेकी थिइन्।
विजय भाषण
रिचमन्डमा समर्थकहरूको जयघोषबीच उनले भनिन् “आज २०२५ मा भर्जिनियाले दलगत द्वन्द्व होइन, व्यावहारिकता रोजेको सन्देश दिएको छ।”
उनले आफ्ना छोरीतर्फ संकेत गर्दै थपिन् “‘तिमीहरूकी आमा अब भर्जिनियाको गभर्नर बन्नेछिन्’ भन्ने वाक्य भर्जिनियामा आजभन्दा अघि कहिल्यै उच्चारण भएको थिएन। अब हरेक छोरी र युवतीले जानेकी उनीहरूले पनि जे चाहे त्यो हासिल गर्न सक्छन्।”
अभियान रणनीति
स्पानबर्गरले आर्थिक मुद्दालाई मुख्य अजेण्डा बनाइन् भने अर्ल सियर्सलाई कडा, कठोर र कट्टरवादी भनेर प्रस्तुत गरिने विज्ञापन प्रशस्त चले। अर्ल सियर्सले गर्भपतन, समलिङ्गी विवाह, ट्रान्सजेन्डर विद्यार्थीहरूको अधिकार जस्ता सामाजिक मुद्दालाई चुनावको केन्द्रमा राखेकी थिइन्। तर ती मुद्दाले मतदातामा पर्याप्त समर्थन जुटाउन सकेन। अन्ततः भर्जिनियाले मध्यमार्गी, ‘सम्झौता गर्न सक्ने’ नेतृत्व रोज्यो।
प्रतिक्रिया