लुइसभिल, केन्टकी / इन्धनले भरिएको UPS कार्गो विमान Louisville Muhammad Ali International Airport मा मंगलबार बेलुकी उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भयो। दुर्घटना भएको केही क्षणमै विमान भीषण आगोको गोलामा परिणत भयो र कालो धुवाँ टाढासम्म देखियो। नजिकको सडकबाट खिचिएको भिडियोमा रनवेमा आगोको ठूलो विस्फोट, धुवाँको मुस्लो र अवशेषहरू फैलिएको स्पष्ट देखिन्छ। वाहनभित्रका व्यक्तिहरू आत्तिँदै चिच्याएको आवाज पनि सुन्न सकिन्छ।
अमेरिकी उड्डयन प्राधिकरण (FAA) का अनुसार विमान UPS Flight 2976 हो, जसले बेलुकी ५:१४ बजे उडान भर्ने क्रममा नियन्त्रण गुमाएर नजिकको Kentucky Petroleum Recycling भवनमा ठोक्कियो। उक्त विमान होनोलुलु जाँदै थियो।
दुर्घटनामा कम्तिमा सात जनाको मृत्यु भएको छ भने ११ जना घाइते छन्। नजिकैको Grade A Auto Parts कम्पनीका दुई कर्मचारी बेपत्ता रहेको केन्टकीका गभर्नर एन्डी बेशियरले जानकारी दिए। उनले यस घटना “विनाशकारी” भएको बताए।
घना धुवाँ र सम्भावित विषाक्त रसायनको जोखिमका कारण स्थानीय बस्तीहरूमा केही समयका लागि ‘घरभित्र बस्न’ आदेश जारी गरिएको छ। घटनास्थलमा दमकल, एम्बुलेन्स र उद्धार टोलीहरू परिचालन गरिएको छ।
दुर्घटनाको कारणबारे अझै पुष्टि भइसकेको छैन। FAA र NTSB ले संयुक्त रूपमा अनुसन्धान सुरु गरेका छन्।
प्रतिक्रिया