झापा जिल्लाको शिवसताक्षी नगरपालिका–१० माईधारका ३३ वर्षीय सरोज शर्माको शव हुलाकी राजमार्गअन्तर्गत बिरिङ पुल मुनि गाडिएको अवस्थामा फेला परेको छ। एक सातादेखि बेपत्ता रहेका शर्माको शव शनिबार बिहान स्थानीयले देखेपछि प्रहरीले खनेर निकालेको हो।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार शव कालो प्लास्टिकमा बेरिएको अवस्थामा भेटिएको थियो। “शव बाहिरबाट हेर्दा ठूला चोटपटक देखिँदैनन्, तर भित्री चोट वा अन्य कारण हुनसक्छन्,” उनले भने, “पोस्टमार्टम र थप अनुसन्धानपछि मात्र मृत्युको कारण खुल्नेछ।”
कात्तिक ९ गते बिहान सरोज घरबाट साथीहरूलाई भेट्ने भन्दै बा १–०३०–च ७१९४ नम्बरको कारमा निस्किएका थिए। त्यसपछि उनी घर फर्किएनन्। परिवारले कात्तिक १० गते प्रहरीमा हराएको उजुरी दर्ता गरेको थियो।
तर कात्तिक १३ गते दिउँसो चारआली–भद्रपुर सडकखण्ड नजिकैको हातेमालो सामुदायिक वनभित्र कार जलेको अवस्थामा भेटियो। दमकल र स्थानीयको सहयोगमा आगो निभाइए पनि कार पूर्ण रूपमा जलेर नष्ट भएको थियो।
प्रहरीले जलेको कार र बेपत्ता सरोजबीच सम्बन्ध छ कि छैन भन्ने आधारमा अनुसन्धान अघि बढाएको थियो। डीएसपी खड्काका अनुसार, पछि पुष्टि भयो कि त्यो कार सरोजकै हो। “कारभित्रबाट कुनै प्रमाण भेटिएन, सबै जलेका थिए,” उनले भने।
अनुसन्धानको क्रममा घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। डीएसपी खड्काले भने, “हामीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ, तर अनुसन्धानको संवेदनशीलता हेरेर अहिले उनीहरूको नाम सार्वजनिक गरिएको छैन।”
उनका अनुसार, घटनामा अन्य व्यक्तिहरू पनि संलग्न हुनसक्ने भएकाले विस्तृत अनुसन्धान भइरहेको छ। “कसरी र किन हत्या गरियो भन्ने कुरा खुल्न बाँकी छ,” उनले भने, “सबै कोणबाट अनुसन्धान भइरहेको छ।”
घटनासँग सम्बन्धित मानिएको एक आरोपी सुनील साहको घरमा स्थानीयले तोडफोड गर्न खोजेपछि प्रहरीले तत्काल सुरक्षा दिएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन थप बल पनि परिचालन गरेको बताइएको छ।
मृतक सरोज शर्मा सूचना–प्रविधि (IT) क्षेत्रमा कार्यरत थिए। उनी सामाजिक रूपमा मिलनसार र सक्रिय व्यक्ति रहेको परिवारजनको भनाइ छ। पक्राउ परेकामध्ये एक जना यसअघि मोटरसाइकल चोरी र लागुऔषध मुद्दामा पनि सम्लग्न भइसकेका थिए।
प्रहरीले घटनाको प्रकृति अत्यन्त योजनाबद्ध भएको अनुमान गरेको छ। “शव गाड्ने, कार जलाउने र प्रमाण नष्ट गर्ने प्रयास भएको देखिन्छ,” एक अनुसन्धान अधिकृतले भने, “तर अनुसन्धानको दायरा अझै बढाइँदैछ।”
पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएपछि मात्र हत्या कसरी र किन गरिएको हो भन्ने बारे स्पष्ट हुने अपेक्षा गरिएको छ। अहिले झापा प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (CIB) दुवैले यस घटनालाई गम्भीर अपराधका रूपमा लिएर अनुसन्धान अघि बढाइरहेका छन्।
प्रतिक्रिया