रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७, लिस्ने नजिक भित्री सडकखण्डमा शुक्रबार साँझ भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार, रा१ज ४२२ नम्बरको जिप जिल्ला सदरमुकाम खलंगाबाट आठबिसकोट नगरपालिका–२, स्यालाखदीतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो।
प्रहरीका अनुसार, जिप सडकबाट करिब ७०० मिटर तल खसेको थियो। दुर्घटनास्थलमा सात जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
मृतकहरू सबै आठबिसकोट नगरपालिका–२, स्यालाखदीका बासिन्दा हुन्।
३० वर्षीया कमला वली
१६ वर्षीय टेकजंग बुढा
१५ वर्षीया दिलमाया बूढा
१७ वर्षीया मनिका वली
१८ वर्षीया शर्मिला विक
२२ वर्षीय गोपाल वली
एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १० जनालाई स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल सल्ले ल्याइएको छ।
घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको र आवश्यक परे थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण प्रारम्भिक रूपमा सडक साँघुरो र जिपको सन्तुलन गुमिनु भएको अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया