इजरायल र गाजाबीचको ऐतिहासिक शान्ति सम्झौता सम्पन्न भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने निर्णय गरिएको छ। इजरायलको इतिहासमा यो सम्मान प्राप्त गर्ने ट्रम्प पहिलो गैर–इजरायली नागरिक बनेका छन्।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्रम्पको शान्ति प्रयासको उच्च प्रशंसा गर्दै भने, “राष्ट्रपति ट्रम्पको भूमिका केवल कूटनीतिक सफलतामात्र होइन, यो क्षेत्रको इतिहासमै एउटा नयाँ अध्याय हो।”
सम्मान ग्रहण गरेपछि राष्ट्रपति ट्रम्पले इजरायली संसद् नेसेटमा सम्बोधन गरे। उनले भावनात्मक स्वरमा भने,
“अँध्यारो र कैदमा बितेका भयावह दुई वर्षपछि २० बहादुर बन्धकहरू आज आफ्ना परिवारमा फर्किएका छन्। हामीले केवल आठ महिनामा आठवटा युद्धहरू अन्त्य गरेका छौँ—जसमा यो पनि समावेश छ।”
ट्रम्पले थपे, “यदि युद्ध अपरिहार्य भयो भने, हामी त्यसलाई पहिले कहिल्यै नजितिएको तरिकाले जित्नेछौँ। गाजाको शान्ति सम्झौता पश्चिम एसियाको लागि नयाँ बिहान हो—एक ऐतिहासिक मोड।”
नेतन्याहूको प्रशंसा गर्दै उनले भने, “नेतन्याहूसँग व्यवहार गर्न सजिलो छैन, तर यही कुरा उहाँलाई असाधारण बनाउँछ। उहाँले राष्ट्रको लागि असाधारण काम गर्नुभएको छ।”
ट्रम्पले शान्ति प्रक्रियामा अरब र इस्लामिक देशहरूको सहयोगप्रति पनि आभार प्रकट गरे।
“उनीहरूले एकताबद्ध भएर हमासमाथि दबाब सिर्जना गरे, जसका कारण बन्धकहरू मुक्त हुन सके। यो केवल एउटा युद्धको अन्त्य होइन, इजरायल र यसको छिमेकीहरूसँग दीर्घकालीन मित्रताको सुरुवात हो,” उनले भने।
ट्रम्पको सम्बोधनका क्रममा नेसेटका सदस्य अयमान ओदेहले अवरोध गर्दै प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिन माग गरे। सम्बोधनपछि उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखे,
“संसद्मा भइरहेको नेतन्याहूको यस्तो महिमामण्डन असह्य छ। यसले गाजामा भएका मानवताविरुद्धका अपराध र हजारौँ जीवनको क्षतिबाट नेतन्याहू सरकारलाई मुक्त गर्न सक्दैन।”
शान्ति सम्झौता सम्पन्न भइसकेपछि पनि ट्रम्पको विदेश नीति सक्रिय रह्यो। आइतबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले युक्रेनलाई लामो दुरीका टोमाहक क्रुज मिसाइल पठाउनेबारे विचार भइरहेको बताए।
“हामी हेर्नेछौँ — म पठाउन सक्छु,” ट्रम्पले भने, “तर यस्तो कदमले युक्रेन–रुस युद्धलाई नयाँ चरणमा लैजान सक्छ।”
ट्रम्पको यो अभिव्यक्ति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको टेलिफोन वार्तापछि आएको हो, जहाँ जेलेन्स्कीले रुसी आक्रमण रोक्न बलियो सैन्य क्षमताको आवश्यकता औंल्याएका थिए।
रुसले भने अमेरिकालाई चेतावनी दिँदै यस्ता मिसाइल आपूर्तिले युद्ध बढाउने र अमेरिकी–रुसी सम्बन्धमा गम्भीर संकट निम्त्याउने बताएको छ। टोमाहक मिसाइलको दायरा करिब २,५०० किलोमिटर रहेको छ—जसले मस्को समेत लक्षित गर्न सक्छ।
ट्रम्पले सम्भावित वार्ताको संकेत गर्दै भने,
“सायद म रुससँग कुरा गर्नेछु—यदि शान्ति सम्भव भएन भने हामी पठाउन सक्छौँ, सायद नपठाउँला पनि। तर क्षमताको सन्देश दिन जरुरी छ।”
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यो विषयलाई “अत्यन्त चिन्ताजनक” भन्दै चेतावनी दिएका छन्।
“यदि टोमाहकहरू रुसतर्फ लक्षित गरिए भने, ती मिसाइलहरूमा आणविक वारहेड छन् वा छैनन् भनेर हामी भन्न सक्दैनौँ,” उनले भने।
पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभले पेस्कोभको चेतावनीलाई समर्थन गर्दै लेखे,
“यी मिसाइलहरूको आपूर्ति सबैका लागि विनाशकारी हुन सक्छ — सबैभन्दा पहिले ट्रम्पका लागि स्वयं।”
अन्त्यमा, ट्रम्प–मेदभेदेभबीचको यो कूटनीतिक रस्साकसले फेरि एकपटक वाशिङ्टन–मस्को सम्बन्धमा नयाँ तनाव ल्याएको छ।
प्रतिक्रिया