गुण्डुबाट सरकारसँग प्रत्यक्ष टकरावको घोषणा :
काठमाडौं / भक्तपुरको गुण्डुबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिएको भाषणले नेपाली राजनीतिक वृतमा ठूलो हलचल ल्याएको छ। जेन–जी आन्दोलनको एक महिनापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका ओलीले अन्तरिम सरकार, संसद् विघटन, र छानबिन आयोग तीनैविरुद्ध कडा आवाज उठाउँदै “अब हामी सडकमा पनि, संसद् बाहिर पनि प्रतिवादमा उत्रिनेछौं” भनेर चेतावनी दिएका छन् ।
नेपाली सेनाको सुरक्षा घेरामा करिब १० दिन बिताएर सार्वजनिक मञ्चमा फर्किएका ओलीले आफ्नो राजनीतिक शैलीमा व्यंग्य, चेतावनी र चुनौती मिसिएको भाषण गरे। उनले वर्तमान सरकारले बनाएको जाँचबुझ आयोगलाई “पूर्वाग्रही, पक्षपाती र अस्वीकार्य” भन्दै त्यसको प्रतिवेदनलाई पूर्ण रूपमा अस्वीकार गर्ने घोषणा गरे। उक्त आयोगमा ओलीविरुद्ध जेन–जी आन्दोलनका मृतक परिवारले मानवताविरुद्धको अपराधको मुद्दा दायर गरेका छन्।
ओलीले प्रतिनिधि सभा विघटनलाई “असंवैधानिक, गैरकानूनी र अलोकतान्त्रिक” ठहर गर्दै संसद् पुनर्स्थापनाको मागलाई अब ढिलो नगर्ने चेतावनी दिए। “पर्खनु फागुन २१ सम्म होइन, अहिले नै संसद् पुनर्स्थापनाको एजेन्डा अघि बढ्नुपर्छ,” उनले भने। उनका अनुसार वर्तमान अन्तरिम सरकार संविधानको मर्मविपरीत बनेको हो र त्यसको लक्ष्य चुनाव होइन, सत्ता कब्जा हो।
ओलीले प्रधानमन्त्री सुशीला कार्कीप्रति पनि प्रहार गर्दै भने, “संसद् भंग गर्ने पूर्वशर्त राखेर प्रधानमन्त्री बन्नु संविधानको आत्माको हत्या हो। पूर्व न्यायाधीशले शासनको जिम्मेवारी लिनु संविधानमाथिको ठट्टा हो।” उनले कार्कीले ‘संविधानको व्याख्या गरेर आएका व्यक्ति’ भए पनि अहिले त्यसै संविधानलाई लत्याएको आरोप लगाए।
त्यसैगरी, उनले आफ्नो पासपोर्ट रोकिएको, राजधानी बाहिर जानमा प्रतिबन्ध लगाइएको र आफूलाई पक्राउ गर्ने तयारी भइरहेको खबरमाथि टिप्पणी गर्दै भने, “सुशीला कार्की डराएर म भाग्दिनँ। मलाई जसले पनि रोक्न खोज्छ, त्यो इतिहासकै गल्ती हुनेछ।” उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई “अत्यधिक उत्तेजित नहुन” चेतावनी दिँदै भने, “राजनीति र शासन कुनै ठट्टा होइन, देश चलाउन विवेक चाहिन्छ।”
एमालेले शनिबार काठमाडौंमा मोटरसाइकल र्याली र शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ। पोलिटब्युरो सदस्य महेश बस्नेतले युवा संघको नेतृत्वमा हुने उक्त र्यालीलाई “सत्ताको अन्यायविरुद्धको जनसङ्गठन” भनेर परिभाषित गरेका छन्।
गुण्डु सभामा महासचिव शंकर पोखरेलले पनि ओलीकै स्वरमा सरकारप्रति तीखो आलोचना गरे। उनले अहिलेको वातावरणमा चुनावको तयारी “राजा ज्ञानेन्द्रको २०६९ असोज १८ को जबर्जस्ती चुनावजस्तै नाटक” हुने दाबी गरे। “शान्ति–सुरक्षा बिना चुनाव हुन सक्दैन। जब प्रहरी र सुरक्षा संयन्त्रको मनोबल उठाइँदैन, त्यो लोकतान्त्रिक अभ्यास होइन,” पोखरेलले भने।
पोखरेलले पश्चिमी अवधारणामा आधारित “जेन–जी पुस्ता” लाई पनि आलोचना गर्दै भने, “जेन–जी हाम्रो परिचय होइन, हामीमाथि थोपरिएको परिभाषा हो। समाज कुनै एक पुस्ताको लहडले होइन, चार पुस्ताको समायोजनले चल्छ भन्ने हाम्रो सभ्यता हो।” उनले आरोप लगाए — “पश्चिमले नेपाली समाजलाई विभाजन गर्ने रणनीतिका रूपमा यो पुस्ता सिद्धान्त ल्याएको हो।”
गुण्डुको मञ्चबाट एमालेले दिएको यो सन्देश केवल सरकारप्रति असन्तोष होइन, सशक्त राजनीतिक टकरावको औपचारिक सुरुवात हो। ओलीले स्पष्ट भने, “हामी जनताको शासन स्थापनाका लागि लड्यौं, जेल–नेल भोग्यौं। अहिले पनि जरुर पर्यो भने बलिदान दिन तयार छौं। तर संविधान, संसद् र स्वाभिमानमाथि आँच आउँदा हामी चुप बस्दैनौं।”
राजनीतिक विश्लेषकहरूले ओलीको यो भाषणलाई “संसदीय पुनरागमनको पूर्वसङ्केत” भन्दै व्याख्या गरेका छन्। जेन–जी आन्दोलनपछि कमजोर बनेको एमाले अब पुनः सडक र संगठनमार्फत जनमत निर्माणमा फर्किन खोजिरहेको छ। पार्टीभित्र पनि यो कदमले आन्तरिक ऊर्जा भरेको देखिन्छ।
ओलीले अन्त्यमा भने “देशलाई बलमिच्याइँले होइन, सहमति र संविधानले चल्नुपर्छ। सरकार शक्ति प्रदर्शनमा होइन, जिम्मेवारीमा फर्किनुपर्छ।” गुण्डुबाट गुञ्जिएको यो सन्देशले स्पष्ट बनाएको छ एमाले अब प्रतिपक्षको भूमिकामा सीमित रहँदैन, सत्तासँग प्रत्यक्ष भिड्ने तयारीमा छ।
प्रतिक्रिया