नेपालले ऐतिहासिक प्रदर्शन गर्दै वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी–२० क्रिकेट शृंखलाको उपाधि जितेको छ। सोमबार (भदौ १३) राति संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९१ रनले पराजित गर्दै तीन खेलको शृंखला २–० ले आफ्नो पक्षमा पक्का गर्यो।
पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको प्रतिस्पर्धी योगफल बनायो। ओपनर आसिफ शेखले ४७ बलमा आठ चौका र दुई छक्कासहित ६८ रन प्रहार गरे। त्यस्तै, सन्दीप जोराले ३९ बलमा तीन चौका र पाँच छक्का हिर्दै ६३ रन बनाए। दुबैको १०० रनको साझेदारीले ४३–३ को कठिन अवस्थाबाट नेपाललाई बलियो स्कोरसम्म पुर्यायो। मोहम्मद आदिल आलमले ११ रन थपे।
जवाफमा वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भयो। नेपालका मोहम्मद आदिल आलमले २४ रन खर्चेर ४ विकेट लिए भने कुशल भुर्तेलले २.१ ओभरमा १६ रन खर्चेर ३ विकेट हात पारे। दीपेन्द्र सिंह ऐरी, करण केसी र ललित राजवंशीले समान एक–एक विकेट थपे। वेस्ट इन्डिजतर्फ जेसन होल्डरले २१, अकिम अगस्टेले १७ र आमी जांगोले १६ रन बनाए, तर अरू ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।
बलिङमा वेस्ट इन्डिजका अकिल हुसेन र काइल मेयर्सले समान २–२ विकेट लिए भने जेडिया ब्लेड्सले १ विकेट हात पारे।
यो जितसँगै नेपाली क्रिकेटले इतिहास रच्यो। आईसीसीको पूर्ण सदस्य (टेस्ट राष्ट्र) विरुद्धको शृंखलामा यो नेपालको पहिलो जित हो। नेपालले तीन खेलको शृंखलामा दोस्रो जितसँगै उपाधि सुनिश्चित गरेको छ। अब तेस्रो तथा अन्तिम खेल मंगलबार खेलिनेछ।
प्रतिक्रिया