पानीको रंग
नदी जस्तै थिए मान्छेहरु
पानी जस्तै सफेद थिए मान्छेहरु
मान्छेको मन पनि
पानीजस्तै कञ्चन थियो ।
तर मान्छेको मन मैलिएसँगै
अचेल पानीको रंग बदलिएको छ
मान्छेको विचार कलुषित भएसँगै
खोलाको पानी पनि प्रदूषित भएको छ
पानीमा अनेक रंग र रसायन मिसिएको छ
अचेल पानी पानी जस्तो छैन
खोला खोला जस्तो छैन
नदी नदीजस्तो छैन ।
पृष्ठ ७४
समकालीन नेपाली साहित्यका एक सशक्त कवि डा. ऋषि बस्ताकोटीको नवीनतम कविता संग्रह ‘पानीको रंग’भित्रको कविताको अंश हो यो । यस अघि डा. वस्ताकोटीले एउटा गजल र एउटा मुक्तक संग्रह प्रकाशित गरिसक्नुभएको छ । गजलकार र मुक्तकमा पनि आफ्नौ छुट्टै परिचय बनाउनुभएका कवि बस्ताकोटीको यो कविता संग्रहभित्र संकलित कविताले नेपालदेखि अमेरिकी भूमिसम्मका कवित्व बोकेका छन् बोलेका छन् । यी कविता पढ्दा कवि हृदयको बेजोड शक्ति र सन्तुलन देखिन्छ । उनका कविताहरु स्वैर कल्पनामा रमेका छैनन् वरु वस्तुपरक ढंगले यथार्थको धरातलमा उभिएका छन् । कतै बा बोलेका छन् कतै आमा उभिएकी छन् । कतै म्यादीमाइला उभिएको छ भने कतै आप्रवासी रामप्रसादको आलाप छ । कतै प्रकृतिप्रति मानवले गरेको दोहनको सजीव चित्रण छ भने कतै युवाको विदेश मोह र राजनीतिक व्यंग्य छ । मानव जीवनका विभिन्न आयाम र सूक्ष्म भावलाई मिहीन किसिमले केलाएर कविले कविताको माला बुनेका छन् । यसमा ५० को दशकदेखि हालसम्म लेखिएका ४० वटा थुंगा छन् ।
कवि वस्ताकोटी वातावरण विज्ञ हुनुहुन्छ । त्यसैले पनि होला उहाँका कवितामा वातावरण विनाश र यसबाट सिर्जित समस्यालाई उहाँ उजागर गर्न माहिर हुनुहुन्छ । उहाँ एक्ले बरमा लेख्नुहुन्छ
हजुरबाले चिनेको चौताराकै छेउमा
माइलो नातिले पक्की घर ठड्यायो
एक्ले बरको दायाँ हाँगाले छेक्ने भयो उसको घर
दायाँ हाँगा ढालिदियो माइलाले
….बायाँ हाँगा मुठारिदियो साहिँलाले
…..जेठाले घाम देख्नकै लागि
छोट्याइदियो एक्ले बरका बाँकी हाँगा
पृ. ८७
यो संग्रहभित्रका उहाँका प्रायशः सबै कविता पढुँ पढुँ लाग्ने खालका छन् । पढ्न थालेपछि छोड्न मनै लाग्दैन । जुनसुकै कविता पढे पनि वजनदार लाग्छन् । बाका जुत्ताले नापेको क्षितिज, गाउँको बाटो हुँदै विदेशिएको युवाको कथा होस् वा साँढेहरु हुन् सबै सबैले एउटा यथार्थ बोकेका छन् । यसभित्र सामाजिक दुःख र पीडाका मर्मष्पर्शी कविता पनि छन् । तिम्रो मायामा र तिम्रो जन्मदिनमा कविताले माया र प्रेमका कथा बोलेका छन् । आमा घर हो भन्ने कुरा हामी जहिलेसुकै पनि भनिरहेका हुन्छौँ तर कवि यसरी आमाको प्रशंसा गर्छन् ः
आमा घर हो
बाबा थर हो
जब घर हुन्छ
तब थर हुन्छ……
घरी घरी लाग्छ
घर नभएको भए म के हुन्थेँ होला
थर नभएको भए म कस्तो हुन्थेँ होला । पृ. ५३
सरल भाषा उहाँको शिल्पी हो । कतिपय कवितामा उहाँले गरेको विम्वात्मक प्रयोग प्रतीकहरुको प्रयोगले यसको उँचाइ बढेको महसुस गरेको छु । प्रवासिएका नेपालीहरुको कथा एकातिर छ भने अर्कोतिर प्रकृतिप्रेम पनि निखारिएको छ । आधुनिकताको नाममा देखिएको प्रकृतिको दोहन पनि कविले कविता मार्फत प्रस्तुत गर्नुभएको छ । आउँदा दिनमा अझ गहकिला कृतिहरु देख्न पाउँ, शुभकामना । एउटा सुललित काव्य कृतिका लागि मित्र बस्ताकोटीलाई साधुवाद ।
प्रतिक्रिया