
* म पत्रकारितामा आए देखि मात्रै होईन, राजनीतिक चेतना आउन थाले देखी नै प्रस्ट थिएँ र छु- कुनै पनि प्रधानमन्त्री असफल हुनु हुदैन, बनाउन लाग्नु पनि हुन्न किनभने देशको प्रधानमन्त्री सफल भयो भने हरेक घरको चुल्होमा मीठो कुरा पाक्छ, असफल भयो भने आगो पनि बाल्न सकिन्न- मीठो खाना त परैं जाओस्। त्यसैले प्रधानमन्त्रीहरू सफल हुनु पर्छ, बनाउनु पर्छ। मैले कुनै प्रम असफल बनाउने गरि पत्रकारिताको करिअरमा एक शब्द पनि लेखेको छैन, धेरैले आरोप लगाउँथे, तिमी सत्ताको मान्छे हो ।
खासमा यो देशका प्रधानमन्त्रीहरू असफल बनाउन खोज्दा र बनाईदा नेपालको यो दुर्गति भएको हो भन्नेमा प्रस्ट छु।
प्रस्ट भाषामा भन्नू पर्छ- जेन जी आन्दोलनमा भु-राजनीतिको नाङ्गो रूपमा देखिए पनि यो बिध्वसं मच्चिनुमा प्रमुख दोषी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली हुन् किनभने यस आन्दोलनको बेला उनी सरकार प्रमुख थिए, उनले नजर अन्दाज र सुरक्षा विश्लेषण गर्न नसक्नु उनको महाभुल थियो, यसैले आन्दोलन चलेको बेला रहेको सरकार प्रमुख निर्दोष हुन सक्दैन् । कसैले जति नै बचाउ गरे पनि यो मान्य हुन्न । र, ओलीले अहिले `मलाई थाहा छैन, घुसपेठ भयो, आन्दोलनमा अराजकता मच्चाईयो` भनेर उनी उम्कन मिल्दैन र पाउँदैनन पनि । उनले उनको हिस्सा लिनु पर्छ नै ।
खासमा यसको त उनले सजायँ पनि पाईसकेका छन्, प्रमको पद नै गुमाउनु परयो, ज्यान जोगाउन हेलिकोप्टरवाट भाग्नु परयो, उनका तीनवटै घर जलेका छन, अहिले डेरामा बस्नु परेको छ ।
यद्वपी, उनका अनिगिन्ती कमजोरी होलान तर पनि म अहिले पनि भन्छु, उनी देश बिकास हुनुपर्छ र राष्ट्रियता तथा सार्भभौमसत्ता हाम्रो अधिनमा हुनुपर्छ भन्नेमा अझै पनि अटल छन् । तुलनात्मक रूपमा पनि उनको पालामा देश बिकासले गति लिएको थियो र हो पनि।
अब कुरा गरौं, उनका प्रमुख सल्लाहकार बिष्णु रिमालका बारेमा, प्रधानमन्त्री अहिले असफल हुनुमा रिमालको प्रमुख भुमिका छ भन्नेमा म प्रस्ट छु।
प्रधानमन्त्रीहरू आफै सफल हुने होईन, उसको टिमले बनाउने हो, उनका मन्त्रि, सल्लाहकार र सहयोगीहरूले हो, ब्यक्तिगत स्वार्थ बोकेका खराबहरू जब टिममा हुन्छन्- अनि राजावादी र जेन जी आन्दोलनहरू निस्कन्छन् ।
बितेर गएको कुरा किन गर्ने भन्लान, बितेका कुरामा भएका गल्तिलाई ढाकछोप गर्ने होईन्, खुल्ला बहसमा ल्याएर अब गल्ति नगर्ने, नगराउने हो । त्यसैले मेरो ब्रम्हले देखेको लेख्ने प्रयास गरेको छु ।
पहिलो, खासमा यसपटक ओलीको सचिवालय निकै साँघुरो बनाईयो, यो टिम बृहत् बनाउन पर्थ्यो, जो सुकै प्रधानमन्त्री भए पनि पहिला आफ्नो टिम १०० जनाको बनाउनु पर्छ। बनाए, फरक पर्दैन् भन्ने म हुँ ।
तर, सुन्दा मीठो लाग्ने र आदर्शवादी देखिने गरि `मितब्ययिताका नाममा` जसरी टिम साँघुरो बनाईयो, जसले गर्दा सही सुचना ओलीसमक्ष सम्म पुग्न सकेन ।
यदी टिम ठूलो बनाएको भए, देशमा भईरहेका सबै सुचनाहरू एक एक जनाले एकवटा दिदाँ पनि १०० सुचना पुग्थ्यो, समस्याका बारेमा पनि १-१ उपाय निकाल्दा पनि १०० उपाय निस्कन्थ्यो तर रिमालले टिम ठूलो बनाएनन, जसको कारण सही सुचना प्राप्त नहुदाँ यो बिध्वंस मच्चियो।
दोस्रो, टिममा क्षमतावान र घटनाका विश्लेषण गर्नेहरू राखेनन, उनले धेरै जसो `एस म्यान´ राखिदिए, `एस म्यान´ त सिपाही जस्तो हुन्छ, कमाण्डरले आदेश दिए पछि मात्रै बोल्छ, खुरूखुरू अरहाएको काम गर्छ। त्यसले न सुझाव दिन्छ, न उपाय निकाल्छ।
तेस्रो, जनताले सिधा एक्सिस पाउने र सहज हुने खालका मान्छे ओलीको टिममा राखिएन, जनतासँग सिधा सबन्ध भएका जनप्रतिनिधिहरू हुनु पर्थ्यो, जस्तो कि जनताले युवराज खतिवडासँग भन्दा मानौं प्रदिप ज्ञवाली र योगेश भट्टराई जस्ता नेतासँग आफ्ना कुरा सहज, धक नमानी र नडराई राख्न सक्छन, यस्ता मान्छेलाई टिम बनाउँदा अटाउने काम गरेनन् ।
चौथौं, सिंगो प्रधानमन्त्री कार्यालय आफूमा केन्द्रीकृत गरे, उनलाई नाघेर जनता त परै जाओस, आफ्ना पार्टीका नेताहरू पनि ओलीसमक्ष पुग्न पाएनन, भेटघाट गर्न पाएनन। आफ्नै पार्टीका नेताले आफ्नै प्रम र पार्टी अध्यक्षलाई भेटन रिमालको अनुमति लिन बाध्य हुनु परयो, मलाई लाग्छ, एमालेका कतिपय सांसद र केन्द्रीय नेताहरूले अौपचारिक कार्यक्रमबाहेक बालुवाटारमा छिर्न पनि पाएनन, गएका पनि छैनन्।
पाँचौै, सरकारको तर्फवाट हुने राजनीतिक जिम्मेवार बाडफाँड पनि गरेनन, उनैले हडपे । संबिधान संशोधन कार्यदल देखि भुमी सबन्धी बिधेयकका बारेमा तराई मधेस केन्द्रित दलसँग बार्ता गर्न उनी आफै अघि सरे, एकजनाले ठुलै मधेसी नेताले हाँसेर भन्थे, `अब बिष्णु रिमालसँग हामीले बार्ता गर्नु पर्ने दिन आयो, बार्ता गर्न खासमा प्रधानमन्त्री र मन्त्रीले पो आउनु पर्ने हो ।`
खासमा अरू नेतालाई सरकारी जिम्मेवारी दिन खोजेनन, दिएनन्। जसका कारण क्षमतावान नेताहरू जिम्मेवारबिहिन भएर चिया पसल र कफीसपमा बस्न बाध्य भएँ। कफी सपमा भएकाले जनताका गुनासो त सुने तर पनि प्रमसँग पुरयाएनन, एकजना नेताले भन्थे, `पिएनको सरूवा गराउने देखि संविधान संशोधन कार्यदलमा उनै छन् भने हामीले किन टाउको दुखाई गर्नु ? छाडि दिनुहोस् ।´
छैटौं, रिमालको खास नेचर चाहिँ `पोलिटकल´ कम `टेक्नोक्रयाट´ बढी हो तर यो पटक अलि बढी `पोलिटिक्स´ गर्न खोजे, जुन उनको क्षमता भन्दा बाहिरको कुरा हो। अरूलाई कुनै जिम्मेवारी नदिएर सबै राजनीतिक गतिबिधिमा सक्रिय भए, जो उनको यो `अस्वभाविक गतिबिधी´ पार्टीका नेताहरूलाई मन परेको थिएन्। त्यसैले त ओलीको रक्षाका लागि कसैले बोलेनन् ।
सातौं, खासमा उनी यसपटक निकै नै बदलाका भावनाले ग्रसित भएको देखियो, जस्तो कि राजवादी आन्दोलन माथी काउन्टर सभा, झोले अभियान जस्ता अलोकप्रिय कार्यक्रम सञ्चालन गराउन मुख्य भुमिका खेले, जो जरूरी नै थिएन्। प्रबिधिको दुरूपयोग गरेर ईमान भएका कार्यकर्तालाई `झोले´ मा झारिदिए ।
आठौं, मन्त्री छनौंटमा ब्लन्डर, एमालेले जो-जो मन्त्री पठायो, एमाले नेताहरूले भने अनुसार पार्टीमा कुनै छफफल नै नगरी यसमा अधिकांस रिमालले भने अनुसार चल्ने मात्र छानियो, बिवेकपुर्ण निर्णय गर्नेहरूलाई मन्त्री बनाईएन, रोकियो ।
सुन्दा मीठो लागे पनि `नयाँलाई अवसर´’दिईएको त भनियो तर देखिने र सुनिने गरि तिनले कुनै पनि काम गरेनन्, कतिसम्म भने जस्तो ओली सरकारमा रक्षा मन्त्री को थियो ? भन्ने धेरैलाई थाहा नै छैन्। म त अहिले पनि रक्षा मन्त्री को थियो ? नाम भन्न सक्दिन् ।
नवौ, मिडिया नीति र सामाजिक सञ्जालबारेमा प्रम कार्यालयवाट कुनै नीति बनाईएन, मात्र देऊवा कन्भिन्स भए पुग्छ, अरू राजनीतिक दल देखि समाजका विभिन्न पाटोहरू कन्भिन्स गर्न जरूरी ठानेनन्।
तर, मिडिया र सामाजिक सञ्जाल भनेका खासमा `ओपनियन क्रेटर´ हुन्, उनीहरूले के कस्तो `ओपनियन` बनाई राखेका छन्, नजरअन्दाज गर्दै कुनै मतलव पनि गरिएन, कतिसम्म भने पुरै नै ईग्नोर गर्ने काम भयो ।
दशौैं, आफ्ना नेता तथा कार्यकर्ता किन टाढा हुँदै गएका छन, त्यो ख्याल गरिएन, जस्तो कि उदाहरणका लागि एकजना प्रदिप भट्टराई छन, जो ओलीले गलत नै गरे पनि ओलीको पक्षमा सिपाही झै खडा हुने उनी अहिले ओलीका आलोचक भएर निस्किए। यीनी त खासमा प्रतिनिधिमुलक पात्र हुन् । जबकी हजारौै समर्थक टाढा भएको कुरा अलिकति पनि ख्याल गरेनन्, भोलि खाँचो पर्छ भनेर सोचेनन् ।
कसैले ओली र रिमालको आलोचना गरयो भन्यो भने माग्न आएको थियो, नदिए पछि अनि बिरोधी भयो र बिरोधमामा लेख्न सुरू गरयो भनेर झारा टार्ने काम गरियो। यस्ता समर्थकलाई सामान्यीकरण गरेर अपमान गर्ने काम उनै रिमालले गरिरहे ।
खासमा सबैले माग्ने नै दिन सक्ने क्षमता भएका र ठाउँँमा रहेका सँग हो, सरकारसँग हो, सरकारका प्रतिनिधिसँग हो। जसले प्रदिप जस्ता हजारौं कार्यकर्ता टाढिन बाध्य भएको कुरा ख्याल गर्नु पर्दथ्यो, पुरै नजरअन्दाज गरियो, उनीहरूलाई हेपियो।
एघारौै, बिबादित मन्त्रीहरूलाई प्रमलाई भनेर राजिनामा दिन लगाउनु पर्थ्यो, प्रश्न उठे पछि बेलैमा रमेश लेखकलाई राजिनामा गराउन भुमिका खेलेको भएँ, यदी यो गरेको थियो भने आज यो अवस्था आउने थिएन, त्यसले पनि जनतालाई थप `ईरिटेटट´ बनाउने काम गरयो, `लेखक सरकारवाट निस्किए, देउवा टाढिन सक्छन्´ भन्ने भय बोकेर जसरी जोगाउन भुमिका खेल्ने काममा संलग्न रहने गर्दा अहिले सबै सबै ध्वस्त भयो ।
बारहौैं, जब २३ गते १९ जना जेन जीको ज्यान गईसकेको छ, भोलि सडकको अवस्था भयाबह हुने पक्का छ भन्ने सामान्य मान्छेले पनि बुझ्न सक्छ, त्यो बेला हरेक मिनेटको महत्व थियो तर सर्बदलीय बैठक २४ गते साँझ बोलाउने काम गरियो, खासमा त्यही राति वा भोलीपल्ट बिहानै बोलाउनु पर्छ भन्ने कुरा अलिकति पनि ख्याल गरिएन् ।
तेरहौे, यही जेन जीहरू हुन्, जो सदैब `केपी बा आई लभ यु´ भन्ने नि-सन्तान ओलीको यो पुस्तासँग निकै भावनात्मक प्रेम थियो तर त्यही पुस्ता आक्रोशित भयो र सत्ता ढाल्ने मात्रै होईन, अोलीलाई यही बिष्णु रिमालले घर न घाटको बनाई दियो, भलै घुसपेठ भयो।
त्यही भएर मैले सुरूमा नै लेखेको हो, प्रम होस वा मन्त्री वा कुनै पनि सरकारी वा गैर सरकारी नेतृत्वको सचिवालय भनेको बिबेकपुर्ण र घटनाको बिश्लेषण गर्ने क्षमतावान ब्यक्तिहरू चाहिन्छ, न कि `यसम्यान´ हरूको भिड।
मेरो ब्यक्तिगत रूपमा बिष्णु रिमालसँग केही लेनादेना र रिसराग पनि छैन, मेरो तुष त परै जाओस, उससँग प्रेम पनि छैन । यो ब्यक्तिगत कुरा पनि होईन् । मेरो त राम्रै सबन्ध छ, ब्यक्तिगत रूपमा ।
तर, एऊटा प्रमको सल्लाहकारले गर्ने क्रियाकलापल त मकै पोलेर बेच्ने देखि खर्वपति बिनोद चौधरीको ब्यापारमा अप्रत्यक्ष नै सही असर पार्छ। यो जिम्मेवारीमा बसेको मान्छेले हरेक नेपालीको भविश्य र भाग्यको जिम्मेवारी बोकेर बसेको हुन्छ किनकी हामी प्रधानमन्त्री सिस्टम भित्र छौ।
मेरो कुरा यति मात्र हो, हरेक प्रम सफल हुनुपर्छ तर प्रम आफै सफल हुने होईन, त्यो उसको टिमले बनाउने हो, यो ओलीको हकमा मात्रै होईन, प्रचण्ड, देउवा वा अरू अरूको सबालमा पनि हो ।
यसपटक प्रमको सचिवालयको टिमको नेतृत्व बिष्णु रिमालले गरेकाले ओलीको असफलतामा उनको ठूलो हात छ, यसको प्रमुख दोषी मध्य उनी पनि एक हुन् ।
जे जे ब्रम्हले देखे र अनुभुत गरे, त्यो यो लेखेको हुँ, त्यसमाथी त हाम्रो काम नै लेख्ने हो, लेखिरहने हो । भुलचुक भए माफी पाउँ।
प्रम निवास बालुवाटार नजिक पार्बत गुरूङको एक रेष्टुरेन्टमा बिष्णु रिमाल र उनका दलालहरूलस के के गर्थे, के के हुन्थ्यो, त्यो कुनै दिन लेखुला । प्रतिक्षामा बस्नुहोस्।

लेखक – प्रकाश तिमल्सिना
प्रस्तुत लेख लेखकको निजी विचार हो ।
प्रतिक्रिया