Updated …..
अहिले भर्खर ४ बजे देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।
******
Updated …
काठमाडौं, २५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) आज बिहानदेखि बन्द भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको एक विज्ञप्ति अनुसार विमानस्थल वरपर बाक्लो धुवाँ र मौसमीय कारणले उडान–अवतरण मार्गमा गम्भीर असर परेकाले अर्को सूचना नआएसम्मका लागि विमानस्थल बन्द रहने निर्णय गरिएको हो।
विमानस्थल बन्द भएको अवस्थामा कुनै पनि उडान–अवतरण सम्भव नहुने भएकाले यात्रुलाई धैर्य गर्न अनुरोध गरिएको छ। साथै विमानस्थल पुनः सञ्चालन हुनेबित्तिकै सम्बन्धित वायुसेवा कम्पनीमार्फत सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “यात्रुबाहक जहाजका सम्पूर्ण यात्रुमा परेको असुविधाप्रति हामी क्षमा प्रार्थी छौं।”
जारी मिति र समय : २०८२/०५/२५ गते, बिहान ११:३० बजे
सूचना दिने निकाय : नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय
जिम्मेवार अधिकारी : महाप्रबन्धकको हस्ताक्षर सहित
काठमाडौं । नेपालभर कर्फ्यू आदेश जारी गर्दै नेपाली सेनाले देशको बिग्रँदो शान्ति–सुरक्षा अवस्थालाई नियन्त्रणमा लिने घोषणा गरेको छ। मंगलबार रातिदेखि सुरक्षाकमान्ड सम्हालेको सेनाले आज बिहान विज्ञप्ति जारी गर्दै साँझ ५ बजेसम्म कर्फ्यू लागू हुने र त्यसपश्चात् पुनः जारी भई भोलि बिहान ६ बजेसम्म कडाइका साथ लागू रहने जानकारी दिएको हो।
सेनाले जारी विज्ञप्तिमा आन्दोलनको नाममा अराजक समूहहरूले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, आगजनी, लुटपाट र व्यक्ति लक्षित आक्रमण गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न सबै नागरिकलाई सहकार्य गर्न आग्रह गरेको छ।
बलात्कार प्रयासजस्ता गम्भीर अपराधसम्म भएका संकेत पाएपछि सेनाले यस्ता क्रियाकलापलाई रोक्न नागरिक तहमा सचेतना र सहकार्य आवश्यक रहेको बताएको छ।
कर्फ्यू अवधिभर एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारी साधन मात्र सञ्चालन हुनेछन्। अन्य सेवाका लागि नजिकैका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न अनुरोध गरिएको छ।
त्यस्तै अफवाह र गलत प्रचारमा नलाग्न नागरिकलाई चेतावनी दिँदै सेनाले आधिकारिक स्रोतमा मात्र विश्वास गर्न अपिल गरेको छ।
मंगलबारको झडपमा आन्दोलनकारीले सुरक्षाकर्मीबाट खोसेका झण्डै दुई दर्जनभन्दा बढी हतियार क्रमशः सेनालाई बुझाइएको छ। सेनाले भक्तपुर, लोकन्थलीलगायतका स्थानमा गस्तीका क्रममा नागरिकहरूले स्वेच्छाले हतियार बुझाएको जानकारी दिएको छ।
हालसम्म २३ थान हतियार, रु. ३३ लाख ७० हजार नगद र विभिन्न सञ्चार उपकरण सेनाले फिर्ता पाएको छ। सेनाले अझै बाँकी हतियार बुझाउन आग्रह गर्दै अवज्ञा गरे कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
मंगलबारको प्रदर्शनमा आक्रोशित समूहले प्रहरीमाथि आक्रमण गर्दा काठमाडौं महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमध्ये एक जना असई र अर्को प्रहरी रहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले बताएका छन्।
थप कति प्रहरी घाइते वा सम्पर्कविहीन छन् भन्नेबारे विस्तृत विवरण अझै प्राप्त नभएको पनि उनले बताए।
जेनजी आन्दोलनकै क्रममा देशका विभिन्न कारागारबाट कैदीबन्दी भागेका छन्। विशेषगरी सुदूरपश्चिममा बाजुराबाहेक सबै जिल्लामा रहेका कैदीबन्दी प्रदर्शनकारीहरूको सहयोगमा बाहिरिएका हुन्।
कैलाली कारागारमा मात्र करिब ७ सयभन्दा बढी कैदी भागेको प्रहरी नायब महानिरीक्षक डम्बर विश्वकर्माले बताएका छन्। कञ्चनपुरमा ४७६ मध्ये २२ मात्र ननिस्किएको, बझाङमा ८५ मध्ये ६६ भागेको विवरण प्राप्त भएको छ।
भीमफेदी कारागारबाट २६०, कपिलवस्तु कारागारबाट ४०० भन्दा बढी, तनहुँ र कास्की कारागारसमेतबाट कैदी भागेका छन्।
मंगलबार अपराह्न सर्वोच्च अदालतमा प्रदर्शनकारीले कागजात संकलन गरी सामूहिक रूपमा आगजनी गरेका छन्। परिणामस्वरूप अदालतका मुद्दा मिसिल, सर्वर, इजलासलगायतका सबै अभिलेख खरानी भएका छन्।
अदालतले जारी गरेको सूचनामा आजको र भोलिदेखिका सबै सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको उल्लेख छ। हेटौंडास्थित डाटा सेन्टर र एनेक्स भवनमा समेत आगजनी भएपछि डिजिटल अभिलेखसमेत नष्ट भएको छ।
न्यायाधीशहरूले दशकौंको मेहनतमा सुरक्षित भएका अभिलेख र फैसलाहरू खरानी भएपछि न्यायिक प्रणाली ‘कोल्याप्स’ भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको पछिल्लो हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै शान्तिपूर्ण समाधान खोज्न सम्बद्ध पक्षलाई आह्वान गरेका छन्। उनले मानवअधिकार कानुनको सम्मान गर्दै जीवन र सम्पत्तिको रक्षा गर्न आग्रह गरेका छन्।
नेपाल भ्रमणमा रहेका विदेशी नागरिकलाई विद्यमान संकटका बीच उद्धार वा सहयोग आवश्यक भए नजिकैका सुरक्षाकर्मी वा सुरक्षानिकायसँग तत्काल सम्पर्क गर्न सेनाले अनुरोध गरेको छ।
होटल, पर्यटन व्यवसायी तथा संघ–संस्थाहरुलाई समेत आवश्यक समन्वय र सहजीकरण गर्न सेनाले आग्रह गरेको छ।
जेनजी आन्दोलनको उग्र रूपका बीच देशभरका कारागारहरू धमाधम खाली भइरहेका छन्। सोमबारबाट सुरु भएको आन्दोलन मंगलबार अझ चर्किँदै जाँदा कैदीबन्दीहरू सामूहिक रूपमा निस्कन थालेका छन्। यसले मुलुकको कानून–व्यवस्था, शान्ति–सुरक्षा र न्याय प्रणालीलाई अभूतपूर्व चुनौती थपेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सहकारी ठगी मुद्दामा थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछाने नख्खु कारागारबाट बाहिरिएपछि कैदीबन्दी छुट्ने लहर सुरु भएको हो।
सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूलाई कारागार पुग्न आह्वान गरेका नेताहरूको दबाबबीच लामिछानेलाई कारागार प्रशासनले छुटाएको देखिन्छ। उनले काराबाट हात हल्लाउँदै बाहिरिएका थिए भने, तुरुन्तै सामाजिक सञ्जालमा लाइभ आएर आफू ‘प्रक्रिया पूरा गरेर’ निस्केको दाबी गरे।
तर, उनले प्रस्तुत गरेको कारागार प्रशासकको हस्ताक्षर भएको पत्रबारे कारागार विभाग स्वयं अज्ञात रहेको दाबी गर्दैछ। विभागका निर्देशक चोमेन्द्र न्यौपानेले “यो आधिकारिक छ कि होइन भन्नेबारे थाहा छैन” भन्दै अनभिज्ञता प्रकट गरेका छन्।
रवि लामिछानेपछि नख्खु कारागारबाट जन्मकैद सजाय भोगिरहेका कुख्यात अपराधी सञ्जय ‘टक्ला’ समेत निस्किए। उनले २०१२ मा जनकपुरमा भएको वम विष्फोट तथा सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या योजनामा संलग्न अभियोगमा सजाय काटिरहेका थिए।
उनलाई बाहिरिएलगत्तै कैदीहरूले कारागार नै जलाइदिएका छन्।
नख्खुमा सुरु भएको क्रम अहिले देशभर फैलिएको छ।
कैलाली कारागार : करिब ७ सय कैदी सबै भागेका छन्।
कास्की कारागार : धेरै कैदी फरार, कारागार लगभग खाली।
कपिलवस्तु कारागार : ४०० भन्दा बढी कैदी भागेर नजिकैको अदालतमा आगजनी।
भीमफेदी कारागार : मध्यरातमा २६० कैदी भागे।
म्याग्दी कारागार : ८८ मध्ये ७२ भागे, बिरामी र अशक्त १२ मात्र बाँकी।
कञ्चनपुर कारागार : ४७६ कैदीमध्ये २२ मात्र ननिस्किएको प्रहरी स्रोतले जनाएको छ।
बझाङ कारागार : ८५ मध्ये ६६ भागेका छन्।
सुदूरपश्चिममा बाजुराबाहेक सबै जिल्ला कारागार खाली भएको पुष्टि भएको छ।
फरार कैदीहरूले आफूविरुद्धका मुद्दा सम्बन्धी प्रमाण नष्ट गर्ने लक्ष्यसहित अदालतहरूमा तोडफोड र आगजनी थालेका छन्। कपिलवस्तुमा कैदीले जिल्ला अदालतमा आगो लगाएको, सरकारी वकिल कार्यालयसमेत ध्वस्त पारेको विवरण सार्वजनिक भएको छ।
सुरक्षा अधिकारीका अनुसार, “अपराधीहरूको पहिलो निशाना अदालतहरू नै भएका छन्। यो क्रम अझै जारी रहने संकेत छ।”
पूर्वनायब महान्याधिवक्ता समूहका सचिव रेवतीराज त्रिपाठी भन्छन्, “जघन्य अपराधमा सजाय भोगिरहेका कैदीहरू समाजमा फर्कँदा दण्डहीनता बढ्छ र जनता असुरक्षित महसुस गर्छन्।”
कारागार प्रशासनको तथ्यांकअनुसार, मंगलबारअघि देशभर करिब ३० हजार कैदी थिए। तर अहिले कति बाँकी छन् भन्ने यकिन विवरण छैन। विभागका निर्देशक न्यौपानेका अनुसार, “भाग्ने क्रम अझै जारी छ, कति भागे भन्ने पक्का तथ्यांक छैन।”
डिल्लीबजार कारागार : बुधबार बिहान १० बजेतिर कैदीहरूले आगजनी गर्दै प्रदर्शन गरे। प्रशासक बाबुराम अर्यालका अनुसार, कैदीहरू ‘हामीलाई पनि निस्कन दे’ भन्दै तोडफोडमा उत्रिएका छन्।
धादिङबेसी कारागार : कैदीहरू प्रदर्शनमा उत्रिएका छन्।
पर्सा कारागार : भाग्ने क्रममा झडप भएको छ।
सेनाले यस्ता कारागारहरूमा सीधा कमाण्ड लिएर सुरक्षा नियन्त्रण गरिरहेको छ।
प्रतिक्रिया