काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण समाधानको लागि वार्तामा आउन आग्रह गरेका छन्।
मंगलबार साँझ भिडियोमार्फत राष्ट्रलाई सम्बोधन गर्दै उनले भने,“वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोच्च हितको रक्षा गर्नु सबै नेपालीको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रम स्थगित गरी संवाद र सहमतिबाट निकास खोज्न म सबै पक्षलाई अनुरोध गर्दछु।”
सिग्देलले देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गरे। उनले शोकाकुल परिवारप्रति हार्दिक संवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि दिए।
प्रधानसेनापतिले शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सबै नेपाली एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै भने,
“नेपालको इतिहासले देखाएझैं, मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता जोगाउन नेपाली सेना सधैं प्रतिबद्ध रहनेछ।”
आन्दोलनका क्रममा राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, नागरिक जीवन र मित्रराष्ट्रका कूटनीतिक नियोगको सुरक्षामा प्रतिकूल असर नपार्न सबै पक्षलाई सचेत गराउँदै उनले मातृभूमि र देशको गौरव उच्च राख्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।
नेपाली सेनाले आन्दोलनका कार्यक्रम नरोकिए अहिले राति १० बजेदेखि नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्ने स्पष्ट पारेको छ ।
सेनाले सेनासहित अन्य सुरक्षा निकाय पनि तैनाथ हुने जनाउँदै भनेको छ– यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिवद्धता जानकारी गराउदछौँ ।”
नेपालस्थित यूएन कार्यालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ,
“संयुक्त राष्ट्रसंघ नेपालमा संवाद र आपसी विश्वास कायम गर्न सहयोग गर्न तयार छ, जसले तनाव न्यूनीकरण गर्दै शान्तिपूर्ण समाधानमार्फत समृद्ध नेपाल निर्माणमा योगदान गर्नेछ।”
यूएनले हाल आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोगप्रति चिन्ता व्यक्त गर्दै यसमा संलग्न व्यक्ति तथा संरचनाहरूको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्नुपर्ने जनाएको छ।
विज्ञप्तिमा आन्दोलनकारीलाई शान्तिपूर्ण प्रदर्शन गर्ने मौलिक अधिकारलाई प्रयोग गर्दा हिंसाबाट टाढा रहन अपिल गरिएको छ। त्यस्तै, सुरक्षाकर्मीहरूले गर्ने गतिविधि अन्तर्राष्ट्रिय मानवअधिकार मानकअनुरूप संयमित र सन्तुलित हुनुपर्नेमा यूएनले जोड दिएको छ।
यूएनले आन्दोलनरत युवाको माग र चिन्तालाई सम्बोधन गर्ने सर्वोत्तम माध्यम संवाद नै भएको उल्लेख गर्दै सबै सरोकारवालालाई संवादको बाटो समाउन आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ,
“बल प्रयोगसम्बन्धी सबै आरोपहरूको तत्काल, स्वतन्त्र, पारदर्शी र निष्पक्ष छानबिन हुनुपर्छ। नागरिकका आवाज, विशेषगरी युवाहरूको अभिव्यक्ति सुन्न संवाद नै उपयुक्त मार्ग हो।”
समस्याका मूल कारणलाई सम्बोधन गर्दै नेपाल समृद्ध भविष्यतर्फ अघि बढ्ने विश्वास आफूलाई रहेको यूएनले जनाएको छ।
प्रतिक्रिया