Updated
काठमाडौं उपत्यकामा भइरहेको जेन–जी आन्दोलनको क्रममा ट्रमा सेन्टरमा थप एक प्रदर्शनकारीको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको कुल संख्या १५ पुगेको छ। स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालसँगको समन्वयमा तयार पारेको तथ्यांकअनुसार, घाइते हुनेको संख्या १९४ जनाभन्दा बढी रहेको छ ।
ट्रमा सेन्टर : ७
सिभिल अस्पताल : ३
एभरेष्ट अस्पताल : ३
केएमसी अस्पताल : १
त्रिवि शिक्षण अस्पताल : १
कर्फ्यू जारी हुँदाहुँदै पनि नयाँ बानेश्वर र आसपासका क्षेत्रमा प्रदर्शन जारी छ। आक्रोशित युवाहरूले सडकमा नारा लगाउँदै प्रहरीमाथि समेत ढुंगामुढा गरेका छन्। प्रहरीले जवाफमा अश्रुग्यास र रबरको गोली प्रयोग गरिरहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, काठमाडौंका विभिन्न अस्पतालमा सयौं घाइते छन्। तीमध्ये करिब ५० जना गम्भीर अवस्थामा रहेको पुष्टि भएको छ। काठमाडौं महानगरपालिकाले मात्र ५० भन्दा बढी घाइतेलाई एम्बुलेन्समार्फत अस्पताल पुर्याएको जनाएको छ।
घाइतेहरूको अवस्था
मन्त्रालयले संकलन गरेको पछिल्लो विवरण अनुसार, सबैभन्दा बढी घाइतेहरू सिभिल अस्पतालमा उपचाररत छन्।
ट्रमा सेन्टरमा २४
केएमसी अस्पतालमा २०
त्रिवि शिक्षण अस्पतालमा १५
एभरेष्ट अस्पतालमा ३४
पाटन अस्पतालमा पनि केही घाइते पुर्याइएको छ।
समेत गरेर करिब ५० जनाजति गम्भीर अवस्थामा रहेको र थप सयौं घाइते भएका अनुमान गरिएको छ।
प्रदर्शन कभरेज गर्ने क्रममा पत्रकारहरू समेत प्रहरीको गोलीबाट घाइते भएका छन्।
नयाँ पत्रिका का फोटो पत्रकार दिपेन्द्र ढुंगाना
नेपाल प्रेस का फोटो पत्रकार उमेश कार्की
कान्तिपुर टेलिभिजन का श्याम श्रेष्ठ
तीनै पत्रकारलाई प्रहरीको रबरको गोली लागेको र उनीहरूको उपचार सिभिल अस्पतालमा भइरहेको छ।
प्रहरीको बल प्रयोगले लगातार मृत्यु र घाइते बढ्दै गए पनि राष्ट्रिय मानव अधिकार आयोग नेतृत्व तहमा मौन देखिएको छ।
अध्यक्ष तपबहादुर मगरले आफू अन्य कार्यक्रममा व्यस्त रहेको भन्दै जिम्मेवारी प्रवक्तामार्फत बुझ्न आग्रह गरेका छन्।
प्रदर्शन नियन्त्रणबाहिर गएपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले दिउँसो कर्फ्यू आदेश जारी गरेका थिए। तर आदेशपछिसमेत अवस्था नियन्त्रणमा आएको छैन। बानेश्वर क्षेत्रमा सेना तैनाथ हुनुअघि नै आक्रोशित युवाहरूले सडकमै सुतेर सैनिक गाडी रोकेका थिए।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले स्थानीय प्रशासन र सुरक्षा समितिले परिस्थिति मूल्यांकन गर्दै कदम चालेको भएपनि मन्त्रालयले आवश्यक समन्वय गरिरहेको बताएका छन्।
काठमाडौंमा भएका मृत्युको खबर बाहिरिएपछि पोखरा लगायतका शहरमा पनि प्रदर्शन चर्किएको छ। पोखरामा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध नाराबाजी गर्दै राजीनामा माग गरेका छन्।
शहीदचोक क्षेत्र वरपर निषेधाज्ञा जारी भए पनि प्रदर्शन जारी छ। प्रहरी–प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार र हानाहान भइरहेको छ।
सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार अन्त्य र मानव अधिकारको सुनिश्चितताका मागसहित सुरु भएको जेन–जी आन्दोलन राजधानीदेखि विभिन्न जिल्लासम्म फैलिएको छ। काठमाडौं, पोखरा, चितवन, झापा र मोरङमा आन्दोलन तीव्र बन्दै गएको छ।
‘जेन–जी’ आन्दोलन देशभर उग्र बन्दै गएपछि रुपन्देही जिल्लामा पनि कर्फ्यु आदेश जारी गरिएको छ। प्रदर्शनकारीहरूले तोडफोड र आक्रमण सुरु गरेपछि प्रशासनले सोमबार (भदौ २३) दिउँसो ४ बजेदेखि राति १० बजेसम्मका लागि भैरहवा र बुटवल क्षेत्रमा कर्फ्यु घोषणा गरेको हो।
भैरहवामा प्रदर्शनमा उत्रिएका आक्रोशित युवाहरूले नाराबाजी गर्दै कांग्रेस पार्टी कार्यालयमा पुगेर तोडफोड गरेका थिए। त्यसपछि अवस्था झनै तनावपूर्ण बनेपछि प्रशासनले तत्काल कर्फ्यु आदेश जारी गरेको हो।
भैरहवा क्षेत्र
पूर्व : रोहिणी खोला
पश्चिम : बेथरी पुल
उत्तर : बुद्धचोक
दक्षिण : मेउडिहवा
बुटवल–बेलहिया सडक खण्ड दायाँबायाँ १०० मिटर क्षेत्र
बुटवल क्षेत्र
पूर्व : पेट्रोलपम्प (धागो कारखाना पुल)
पश्चिम : बेलवास चोक
उत्तर : चिडिया खोला
दक्षिण : मंगलापुर
प्रशासनद्वारा जारी सूचनामा भनिएको छ :
“तोकेका चार किल्लाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ पूर्ण रूपमा निषेध गरिएको छ। आदेश उल्लंघन गर्नेहरूमाथि कानुन अनुसार कारबाही गरिनेछ।”

Photo Source: Nepalmother/Onlinekhabar/facebook/GenZ/Nepalpress etc.
प्रतिक्रिया