काठमाडौंको पशुपति आर्यघाटमा भएको एक आपराधिक गतिविधिले अन्त्येष्टि संस्कारप्रति श्रद्धा र विश्वासमा ठेस पुर्याएको छ। लामो समयदेखि आर्यघाटमा घाटे (शव जलाउने कामदार)का रूपमा कार्यरत गणेश ढकाललाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।
प्रहरी वृत्त गौशालाका डीएसपी शुकदेव खनालका अनुसार, गत शुक्रबार बनेपा नगरपालिका–९, काभ्रेपलाञ्चोकका राम शाहीको अन्त्येष्टि भइरहेका बेला मलामीहरूले शव पूर्ण रूपमा नजल्दै ढकालले केही हड्डीका टुक्रा निकालिरहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरे। घटनास्थलमै नियन्त्रणमा लिएका ढकालले प्रहरीसमक्ष ती हड्डी एक अज्ञात जोगीलाई तीन/चार सय रुपैयाँमा बिक्री गरेको स्वीकारेका छन्। उनले आँखाको कमजोरीका कारण उक्त जोगीलाई पहिचान गर्न नसकेको दाबी गरेका छन्।
यो घटना सामान्य चोरीभन्दा पनि गम्भीर भएको प्रहरीको भनाइ छ, किनकि यस्तो हड्डी प्रायः अघोरी बाबाहरूले ‘मसान जगाउने’ क्रियाकलापमा प्रयोग गर्ने गरेको तथ्य खुलेको छ। प्रहरीले दिएको जानकारीअनुसार, कतिपय अघोरीहरूले मानिसको हड्डी, रगत, र मासु प्रयोग गरेर धार्मिक अनुष्ठान वा तान्त्रिक विधि सञ्चालन गर्ने गर्छन्। जीवित मानिसबाट यस्तो सामग्री पाउन नसक्दा उनीहरूले घाटेसँग मिलेमतो गरी शवबाटै निकाल्ने गरेको शंका प्रहरीले गरेको छ।
हाल ढकालविरुद्ध कुन कानुनी कसुर अन्तर्गत कारबाही गर्ने भन्ने विषयमा सरकारी वकिलसँग परामर्श भइरहेको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार, मानिसको नलीखुट्टाको हड्डी यस्ता तान्त्रिक क्रियाकलापमा विशेष रूपमा प्रयोग हुने भएकाले यस प्रकरणमा थप संलग्न व्यक्ति वा समूहको खोजी भइरहेको छ।
यो घटनाले पशुपति आर्यघाटमा शव व्यवस्थापन प्रक्रिया, सुरक्षाको निगरानी र अन्त्येष्टि संस्कारमा संलग्न व्यक्तिहरूको आचरणबारे प्रश्न उठाएको छ।
प्रतिक्रिया