साउन १६, काठमाडौं / दुई महिनाअघि दिवंगत भएका अग्रज पत्रकार तथा साहित्यकार विजय चालिसेको स्मृतिमा साउन १६ गते काठमाडौं रामहिटीस्थित साहित्य सदनमा विशेष श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
२१ वटा साहित्यिक संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार, कलाकार, पत्रकार, प्राध्यापक तथा शुभेच्छुकहरू सहभागी थिए।
कार्यक्रमको सभापतित्व प्रा.डा. हेमनाथ पौडेलले गर्नु भएको थियो भने प्रमुख अतिथि स्वरूप अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले विजय चालिसेको पत्रकारिता र साहित्यिक योगदानको स्मरण गर्दै गहिरो श्रद्धासुमन अर्पण गरे।
कार्यक्रममा प्रा.डा. जगत् उपाध्याय प्रेक्षित, वरिष्ठ कलाकार (चित्रकार) केके कर्माचार्य, अग्रज साहित्यकार गोविन्द घिमिरे र दिवंगत चालिसेका छोरा आलोक चालिसेले पनि आफ्ना भावनात्मक मन्तव्य राख्दै विजय चालिसेको जीवन, व्यक्तित्व र कृतित्वबारे चर्चा गरे।
कार्यक्रमको सञ्चालन कवि प्रल्हाद पोखरेलले गरेका थिए।
साहित्य र पत्रकारितामा लामो योगदान दिएका विजय चालिसेको निधनले नेपाली साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको वक्ताहरूले बताए। कार्यक्रममार्फत स्व. चालिसेलाई श्रद्धासुमन अर्पण गर्दै उनको योगदानलाई स्मरण गरिएको थियो।



प्रतिक्रिया