तीज पर्वमा विकृति फैलाउने गीतमाथि प्रतिबन्धको माग, लोक सञ्चारकर्मी संघको गृहमन्त्रीलाई ध्यानाकर्षण
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीज पर्व लक्षित केही आधुनिक गीतमा मौलिक संस्कृति र परम्परामाथि प्रहार भएको भन्दै ती गीतलाई तुरुन्त प्रतिबन्ध लगाउन माग गरेको छ।
संस्थाले एक विज्ञप्ति जारी गर्दै ‘गाई कालो, गाईको दूध सेतो’ र ‘सल्ला दमार’ बोलका दुई तीज गीत नेपाली समाजको सांस्कृतिक मूल्य र नैतिक मान्यतालाई अपमानजनक ढंगले चित्रण गरेको भन्दै कडा आपत्ति जनाएको हो। ‘गाई कालो’ गीतमा ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वर छ भने ‘सल्ला दमार’मा राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाले आवाज दिएका छन्।
संस्थाको भनाइमा, पछिल्ला केही वर्षयता तीज पर्वको नाममा सार्वजनिक गरिएका धेरै गीतहरूले विकृति, भड्किलोपन, सांस्कृतिक अपमान र अश्लीलता समेटेका छन्, जसले नेपाली लोक संस्कृतिको मौलिकतालाई गम्भीर खतरा पुर्याएको छ।
व्यापारिक लोभमा परेर तीजको अपमान
“केही स्वार्थलोलुप कलाकार, युट्युबर र म्युजिक कम्पनीहरूले तीजलाई व्यापारिक फाइदाको भर्याङ बनाउँदै समाजविरोधी, विकृत र भड्किला गीतहरू उत्पादन र प्रसारण गरिरहेका छन्,” विज्ञप्तिमा भनिएको छ, “यी प्रवृत्तिहरू सम्पूर्ण तीज परम्पराको बदनाम गर्ने दिशातर्फ उन्मुख छन्।”

प्रशासन र नियामक निकायलाई कारबाहीको माग
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्युरो, कलाकार महासंघलगायत सम्बन्धित निकायहरूलाई यस्ता आपत्तिजनक गीत निर्माण तथा प्रकाशन गर्नेहरूलाई कारबाही गर्न माग गरेको छ।
संस्थाले तीज पर्वको सांस्कृतिक गाम्भीर्य जोगाउन यस्ता गीतहरूमाथि प्रतिबन्ध लगाउन तत्काल कदम चाल्न सरकारसमक्ष आग्रह गर्दै गृहमन्त्री रमेश लेखकलाई औपचारिक भेटघाट समेत गरेको छ।
“तीज केवल महिलाहरूको नाचगानको चाड मात्र होइन, यो नेपाली नारीको आत्माभिव्यक्तिको पर्व हो,” विज्ञप्तिमा भनिएको छ, “यसको सौन्दर्य र गरिमालाई भंग गर्ने कुनै पनि प्रयत्नप्रति हामी चुप बस्नेछैनौं।”
संस्थाले आगामी दिनमा पनि यस्ता सांस्कृतिक अपमानको विरुद्ध सचेतना, निगरानी र कानुनी दबाब अभियानलाई निरन्तरता दिने जनाएको छ।
तीज पर्व नजिकिँदै गर्दा नेपाली लोक संस्कृतिमा आधारित केही गीतहरूले अश्लीलता र विकृति फैलाएको भन्दै राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले दुई गीतमाथि औपचारिक रुपमा प्रतिबन्धको घोषणा गरेको छ।
संस्थाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘गाई कालो, गाईको दूध सेतो’ र ‘सल्ला दमारमा’ बोलका तीज गीतहरूले नेपाली मौलिक परम्परा, नारी पर्वको गरिमा र सांस्कृतिक शालीनता माथि प्रहार गरेको आरोप लगाउँदै ती गीतहरूको प्रसारण तथा प्रकाशनमा पूर्ण रोक लगाएको हो।
‘गाई कालो’ गीतमा ध्रुव पुन र चन्द्रकुमारी शाहीले स्वर दिएका छन् भने ‘सल्ला दमारमा’ गीतमा राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको आवाज रहेको छ।


राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमको संयुक्त हस्ताक्षरयुक्त विज्ञप्तिमा भनिएको छ:
“तीज नेपाली महिलाहरूको सशक्तिकरण, धार्मिक आस्था, पारिवारिक एकता र संस्कृतिक गरिमाको पर्व हो। तर पछिल्ला वर्षहरूमा यस पर्वको नाममा अश्लीलता, भड्किलो शब्द र सांस्कृतिक अपमानलाई गीतमार्फत सामान्यीकरण गर्ने प्रवृत्ति बढ्दै गएको छ, जुन अत्यन्त खेदजनक र निन्दनीय छ।”
संस्थाले स्पष्ट रूपमा भनेको छ कि यस्ता आपत्तिजनक सामग्रीलाई पत्रपत्रिका, रेडियो, टेलिभिजन, युट्युब तथा सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण नगर्न र नगराउन सबै सञ्चारमाध्यम र सरोकारवालाहरूलाई आग्रह गरिएको छ।
लोक सञ्चारकर्मी नेपालले यस्ता गीत तथा भिडियो निर्माण, प्रकाशन र प्रसारणमा संलग्न व्यक्तिहरूविरुद्ध सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्युरो, तथा कलाकार संगठनहरूलाई औपचारिक रुपमा कारबाहीको माग गर्ने जनाएको छ।
संस्थाले आगामी दिनहरूमा यस्ता विकृत प्रवृत्तिमाथि निगरानी, बहिष्कार र आवश्यक कानुनी तथा सामाजिक दबाबका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
प्रेस विज्ञप्तिमा भनिएको छ:
“नेपाली लोक संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रचार-प्रसार गर्नु सबै सर्जक, सञ्चारकर्मी, संगीतकर्मी, गायकगायिका, तथा आम जनमानसको साझा जिम्मेवारी हो। तीज पर्वमा सन्देशमूलक, मौलिक लोकधुन तथा भाषा बोकेका गीतहरूलाई प्रोत्साहन दिऔं। अश्लीलता र विकृति फैलाउने गीतहरूलाई बहिष्कार गरौं।”
तीज पर्वजस्ता पवित्र नेपाली चाडहरूमा मौलिकता, मर्यादा र सांस्कृतिक गौरव जोगाउनुपर्ने सन्देश बोकेको यो अभियानलाई संस्थाले देशभर विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। भविष्यमा यस्ता गीत तथा भिडियो निर्माण भएमा सर्वसाधारणले पनि चेतना र बहिष्कारद्वारा प्रतिक्रिया जनाउन संस्थाले आग्रह गरेको छ।


प्रतिक्रिया