इजरायलसँग अमेरिकाको सहमति, ६० दिनको युद्धविराम प्रस्ताव अन्तिम चरणमा, हमासलाई चेतावनी
वासिङ्टन, जुलाई १ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग गाजामा युद्धविरामका लागि महत्वपूर्ण सहमति जुटेको बताएका छन्। ट्रम्पका अनुसार उनका प्रतिनिधिहरूले इजरायली पक्षसँग आज एक लामो र फलदायी बैठक गरेका छन्, जसमा ६० दिनको युद्धविराम प्रस्ताव अन्तिम रूप दिन आवश्यक सर्तहरूमा इजरायल सहमत भएको छ।
राष्ट्रपतिले स्पष्ट पारेका छन् कि यो युद्धविराम अवधिमा अमेरिका सबै पक्षहरूसँग मिलेर स्थायी रुपमा युद्ध अन्त्यका लागि काम गर्नेछ। उनले युद्धविराम प्रस्ताव कतार र इजिप्टमार्फत हमाससम्म पुर्याइने जानकारी दिएका छन्। दुवै देशले शान्ति स्थापनाका लागि अत्यधिक मेहनत गरेको राष्ट्रपति ट्रम्पले प्रशंसा गरेका छन्।
राष्ट्रपति ट्रम्पले हमासलाई चेतावनीको शैलीमा भनेका छन्, “म आशा गर्छु, मध्यपूर्वको भलाइका लागि हमासले यो प्रस्ताव स्वीकार गर्छ, किनकि यसपछि स्थिति झन् खराब मात्र हुँदै जान्छ। योभन्दा राम्रो प्रस्ताव पाउने कुनै सम्भावना छैन।”
अन्त्यमा ट्रम्पले सबै पक्षलाई शान्तिपूर्ण समाधानतर्फ अग्रसर हुन आग्रह गरेका छन् र यस विषयमा ध्यान दिन सबैलाई धन्यवाद दिएका छन्।
प्रतिक्रिया