काठमाडौं / नेपाली कांग्रेसका नेता लोकेश ढकालले पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पनि समर्थन रहने दाबी गर्नुभएको छ।
राजसंस्थाको पुनःस्थापनाको माग गर्दै राजावादीहरूले आन्दोलन चर्काइरहेका बेला प्राइम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ढकालले देउवाले संवैधानिक राजसंस्थालाई नकारात्मक रुपमा नहेरेको र हृदयेन्द्र राजा बनेमा आफ्नो समर्थन जनाउने संकेत समेत गरिसकेको खुलासा गर्नुभयो।
नेता ढकालले कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले समेत हिन्दु राष्ट्र र संवैधानिक राजासहितको व्यवस्थाबारे जनमत संग्रहमा जान सकिने अभिव्यक्ति दिएको उल्लेख गर्दै पछिल्लो समय कांग्रेसभित्र पनि राजासहितको प्रजातन्त्रका पक्षमा सोच बढ्दै गएको टिप्पणी गर्नुभयो।
ढकालले नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको संवैधानिक राजतन्त्रको अवधारणा स्मरण गर्दै प्रजातान्त्रिक शक्तिहरू र राजसंस्थाबीचको सहकार्यबाट मात्र मुलुकको सार्वभौमिकता र लोकतन्त्र सुनिश्चित हुन सक्ने धारणा व्यक्त गर्नुभयो।
यस्तै, नेता ढकालले चैत्र १५ गते तीनकुनेमा भएको झडप सरकारको गैरजिम्मेवार व्यवहारका कारण भएको बताउनुभयो। सरकार पक्षबाट अत्यधिक बल प्रयोग भएकाले घटना हिंसात्मक मोडमा गएको आरोप लगाउँदै ढकालले घटनाबारे छानबिन आयोग गठन नगर्नु सरकारले गरेको ठूलो गल्ती भएको बताउनुभयो। साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भ्रातृ संगठनहरूलाई उक्साएको कारण यस्ता घटना दोहोरिएको उहाँको आरोप थियो।
वर्तमान संविधान दलहरूकै त्रुटिपूर्ण सहमतिबाट बनेको आरोप लगाउँदै ढकालले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, निर्वाचन प्रणाली जस्ता महत्वपूर्ण विषयहरू जनमत संग्रह नभइ आन्तरिक सहमतिबाटै संविधानमा समावेश गरिएको बताउनुभयो।
उहाँले अहिले पनि नेपाली कांग्रेस अग्रसर भई राजनीतिक सहमतिबाट संसदमार्फत जनभावना अनुसार संविधान संशोधन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
राजासहित देशका सम्पूर्ण शक्ति र पक्षहरू एक ठाउँमा आएर गम्भीर छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउँदै ढकालले नेपाली जनतालाई केन्द्रमा राखेर राष्ट्रको हितमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
यसै बीच नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाकाबारे भइरहेको प्रचारप्रति आपत्ति जनाएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै सभापति देउवाको धारणा भन्दै प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारको खण्डन गर्नुभएको हो ।
कांग्रेसका नेता लोकेश ढकालले कांग्रेस सभापति देउवाले संवैधानिक राजसंस्थाबारे नकारात्मक नरहेको बताउनु भएको थियो । देउवाले हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा आफ्नो समर्थन रहने सन्देश राजसंस्था पुनःस्थापना आन्दोलनसमक्ष पठाएको उहाँले एक संचारमाध्यममा अन्तर्वार्ताका क्रममा दाबी गर्नुभएको थियो। त्यसपछि विभिन्न संचारमाध्यममा उक्त कुरा सार्वजनिक भएको थियो ।
त्यसको खण्डन गदैै कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्वद्र्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनु भएको बताएको छ ।
कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनि संचार माध्यममा गलत सूचना संप्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, उहाँले कहि कतैं नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम संचारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो । जो सुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।’
यसअघि आजै कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजसंस्थाबारेको धारणा भन्दै सञ्चारमाध्यममा आएका समाचारहरू भ्रमपूर्ण र अनैतिक रहेको बताउनु भएको थियो ।
कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले सामाजिक सञ्जालमार्फत यस्तो बताउनु भएको थियो ।
देउवा २०६२/६३ को जनआन्दोलनका उपलब्धिहरू अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको संविधानको संरक्षण र संवर्द्धनका लागि सधैँ प्रतिबद्ध रहेको उहाँले भन्नुभएको थियो। ‘नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र न्यायसहितको लोकतान्त्रिक व्यवस्थाका उहाँ अथक योद्दा हुनुहुन्छ।’
कसैले क्षणिक स्वार्थपूर्तिका लागि राजसंस्थाबारे देउवाको धारणा भनि मिडियामा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक कार्य भएको उहाँले स्पष्ट पार्नुभएको थियो। देउवाले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरा मनगढन्ते ढंगले प्रचारमा ल्याउनु पत्रकारिताको धर्म नभएको पनि विश्वकर्माले उल्लेख गर्नुभएको थियो ।

प्रतिक्रिया