औँलो दिँदा डुँडुलो नै चाहिन्छ मलाई भन्छौ भने
काँधमा बोकी पार लाउँदा शत्रु जस्तै बन्छौ भने
सकिन्न है शती जान ईर्ष्या डाह गर्ने सँग
आफ्नो ठान्दा उल्टै पराइ ठानी जल्दै मर्ने सँग
किनारा भई बस अब
डाँडा जाऊ कि भीर,
कृतघ्न र बैगुनीको लिन्न अब पिर ।
गुन गर्ने गुनिलाई हो बैगुनीलाई किन गर्नु ?
नबुझ्नेलाई बुझाउन खोज्दै कति अघि सर्नु
कृतघ्न र बैगुनीको छैन कुनै आस गर्न
भुलेर नि हुन्न कत्ती बैगुनीको भर पर्न
किनारा भई बस अब
डाँडा जाऊ कि भीर,
कृतघ्न र बैगुनीको लिन्न अब पिर ।
किस्ती माथि राखिदिन सकिएन टाउकै काटी
बैगुनी र नबुझ्ने त पन्छिएकै हुन्छ जाती
गर्नु कहिल्यै नपरोस् है त्यस्ता मान्छे सँग आस
राख्नु हुन्न त्यस्ता मान्छे दिलमा अनि आस पास
किनारा भई बस अब
डाँडा जाऊ कि भीर,
कृतघ्न र बैगुनीको लिन्न अब पिर ।
– रामप्रसाद खनाल, हाल अमेरिका
( नोट : गीतहरूमा पनि प्रतिबिम्ब मन पर्छ मलाई । तर अहिलेको स्वार्थी संसारलाई प्रतिबिम्बले पटक्कै छुन्न त्यसैले आजको यो गीत प्रतिबिम्बको फ्रेम बाहिरै रहेर लेखेको छु है भन्दै तपाईंहरु सँग बकपत्र गरेँ है )
प्रतिक्रिया