अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले करिब आठ महिना लामो अनुसन्धानपछि बुधबार नयाँ भन्सार शुल्कको प्रस्ताव सार्वजनिक गरेको हो। गत फेब्रुअरीमा अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनको व्यापक भन्सार शुल्कसम्बन्धी निर्णय खारेज गरेपछि सन् १९७४ को अमेरिकी व्यापार ऐनको धारा ३०१ अन्तर्गत नयाँ प्रक्रिया अघि बढाइएको हो।
प्रस्तावअनुसार चीनमाथि २० प्रतिशतसम्म अतिरिक्त भन्सार शुल्क लगाइनेछ। यसअघि नै चिनियाँ वस्तुमा विभिन्न चरणमा लगाइएका शुल्कका कारण चीनमाथिको समग्र आर्थिक दबाब थप बढ्ने देखिएको छ।
अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार भियतनाममाथि ३५ प्रतिशतसम्म, भारतमाथि २५ प्रतिशतसम्म, चीन र सिङ्गापुरमाथि २० प्रतिशतसम्म, बङ्गलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया र थाइल्यान्डमाथि १८ प्रतिशतसम्म तथा युरोपेली सङ्घ, जापान, दक्षिण कोरिया, स्विट्जरल्यान्ड र ताइवानमाथि १५ प्रतिशतसम्म भन्सार शुल्क प्रस्ताव गरिएको छ। व्यापारिक सम्झौता, विद्यमान शुल्क र वस्तुको प्रकृतिअनुसार यी दरमा हेरफेर हुन सक्नेछ।
अनुसन्धानमा समावेश गरिएका मेक्सिको र नर्वेमाथि भने तत्काल नयाँ शुल्क प्रस्ताव गरिएको छैन। नेपाल पनि यो नयाँ सूचीमा परेको छैन।
अमेरिकाले छुट्टै निर्णयमार्फत ब्राजिलमा निर्मित तयारी विमानमाथि १० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने र निर्धारित कोटाभन्दा बढी आयात हुने चिनीमाथि शुल्क बढाउने प्रस्तावसमेत सार्वजनिक गरेको छ।
चीनले अमेरिकाको आरोप अस्वीकार गर्दै औद्योगिक उत्पादनको विषयलाई राजनीतिक हतियार नबनाउन चेतावनी दिएको छ। युरोपेली सङ्घ र स्विट्जरल्यान्डले पनि अमेरिकी आरोपको विरोध गरेका छन्। कतिपय अमेरिकी कानुनविद्ले भन्सार शुल्क निर्धारण गर्ने कङ्ग्रेसको संवैधानिक अधिकारलाई कार्यपालिकाले कमजोर बनाउन खोजेको भन्दै आलोचना गरेका छन्।
ट्रम्प प्रशासनको घोषणासँगै बुधबार अमेरिकी शेयर बजारमा ठूलो उतारचढाव देखियो। कारोबारका क्रममा चार प्रतिशतभन्दा बढी घटेको नास्ड्याक अन्ततः ०.६ प्रतिशतको गिरावटमा बन्द भयो। एस एन्ड पी ५०० सूचकाङ्क ०.२५ प्रतिशत घट्दा डाउ जोन्स भने ०.३ प्रतिशत बढेर बन्द भयो। सुनको मूल्यमा समेत तीन प्रतिशतभन्दा बढी गिरावट देखियो। नयाँ भन्सार शुल्कको प्रस्तावसँगै मुद्रास्फीतिसम्बन्धी तथ्याङ्कले पनि लगानीकर्तामा चिन्ता बढाएको थियो।
प्रस्तावित भन्सार शुल्कबारे आगामी जनवरी ५ सम्म लिखित सुझाव सङ्कलन गरिने र जनवरी २५, २०२७ मा सार्वजनिक सुनुवाइ सुरु गरिनेछ। यी शुल्क तत्काल कार्यान्वयनमा आएका भने होइनन्।
ट्रम्प प्रशासनको पछिल्लो कदमले विश्व व्यापार युद्ध थप चर्किने, आयातित वस्तुको मूल्य बढ्ने, मुद्रास्फीतिको दबाब थपिने तथा सन् २०२७ मा विश्व अर्थतन्त्र र शेयर बजारमा अस्थिरता बढ्ने जोखिम देखिएको छ।
प्रतिक्रिया